मानव सभ्यता निर्माणको महाअभियानमा आफ्ना पुर्खाले निभाएको युगीन भूमिकालाई इतिहासबाटै गायब बनाइएपछि, इतिहासको मूलधारबाट आफ्नो राष्ट्रियतालाई गलहत्याइएपछि राजुहरूको नसामा आक्रोश चढ्छ।
आधा दशक अघिसम्म ठूलो कवि बन्ने र कवितामार्फत फेरबदल ल्याउन सघाउ पुर्याउने महत्वकांक्षा बोकेर कविता कोर्ने गर्थेँ म। केही कविताहरू जबर्जस्ती कोरेपछी बिस्तारै आभास हुनथाल्यो कि, यो मेरो वशको विधा होइन रहेछ। कविता लेखनबाट अघोषित सन्यास लिएँ। अनि कविता पठन पनि रहरको विषय बन्न छोड्यो।
कवितासँगको दूरी बढ्दै जान थाल्यो। तर, केही कविका शक्तिशाली कविताहरूको गरुत्वाकर्षणले मलाई कविताको सौर्यमण्डलबाट पूरै उछिट्टिन रोकिराख्यो। तिनै कविहरुमध्ये एक राजु स्याङ्तान पनि थिए।
‘ओ पेङ्दोर्जे!’ राजुको कलमबाट अस्तित्वमा आएपछि कविता पठनमा सिर्जना भएको लामो रोकावट हाललाई सकिएको छ। कविताको शक्तिमाथि फेरि विश्वासको अंकुरण भएको छ। अरू कविहरूको कविताले यो अंकुरणलाई थप मलजल गर्ने नै छन् सायद।
यो आलेख लेखिरहँदा औपचारिकताका सारा तगाराहरु पन्छिसकेको र नजिक हुने ठाउँ बाँकी नरहेको साथिमाथि म तटस्थ भाव राख्न सक्दिनँ भन्ने कुराले मलाई त्रसित बनाइरहेको छ।
पेङ्दोर्जेलाई सलाम
आदिम कलाकार पेङ्दोर्जेलाई सलाम छ। डम्फुको आविष्कार गरेर उसले तामाङको राष्ट्रियताको भ्रुण रोप्नमा भूमिका खेल्यो। मानव सभ्यता निर्माणको महाअभियानमा आफ्ना पुर्खाले निभाएको युगीन भूमिकालाई इतिहासबाटै गायब बनाइएपछि, मासिन्या मतवाली घोषित गर्दै इतिहासको मूलधारबाट आफ्नो राष्ट्रियतालाई गलहत्याइएपछि राजु स्याङ्तानहरूको नसामा आक्रोश चढ्छ।
आफ्नो स्वत्वको खोजी गर्नु उनीहरू आफ्नो कर्तव्य ठान्छन्। अनि आदिम कलाकार पेङ्दोर्जेको नाम किताबमा खिप्छन्। यो कवितासङ्ग्रह को नाम ‘ओ पेङ्दोर्जे!’ जुराएर राजुले वर्तमानमा शासितहरूको पक्षमा आफूलाई उभ्याउनुको साथसाथै इतिहासको हिसाबकिताब पनि खोजेको छ।
औपचारिक अध्ययनको क्रममा पाठ्यपुस्तकमा राखिएका कविताबाहेक अरु कविता पढेको / सुनेको अनुभव लगभग नभएको एकजना साथीले ‘ओ पेङ्दोर्जे!’ मा सङ्ग्रहित 'पिपाको कथा' खण्ड खुब जाँगरसाथ सबै पढ्यो र भन्यो- "कवितामार्फत हाम्रा पुर्खाहरुको इतिहास पनि लेख्न मिल्दोरैछ त! लेक्चररको व्याख्याबिना नै बुझ्न सकिने कविता पनि हुनेरैछ।"
गजल र मुक्तकमा राम्रै दक्खल राख्ने अर्को साथीलाई ‘आमा तिमी मात’ शीर्षक अन्तर्गत संग्रहित सबै र ‘योद्धा’ शीर्षकमा संग्रहित 'छुटेको प्रचण्ड' वाचन गरेर सुनाएँ। साथीको प्रतिक्रिया थियो, "क्रान्तिकारी रैछन् यी कवि! कवितामार्फत हाम्रा जिन्दगीको चित्र उतारेका रैछन्।"
यी दुवै साथी शिक्षक हुन्। मेरा कलिङहरू।
ओ पेङ्दोर्जे! कस्तो देखिन्छ?
६ खण्डमा विभाजित किताबमा ५१ थान कविता संग्रहित छन्। कविताहरू पनि के भन्नू तिनिहरूलाई! कविताको आवरणमा सजिएका मिसाइलहरट्ठ छन् कुनै। कुनै कविताजस्तो देखिने मुड्कीहरू छन्, व्यवस्थाको ढाडमा बजारिरहेका। कुनै कुनै निराशाको रङ अलि बढी पोतिएको पेन्टिङजस्तो देखिन्छन्। कुनै आँखै तिल्मिलाउने गरी आशाको चहकिलो रङ पोतिएको पेन्टिङजस्तो।
दु:खीहरूको गीत भन्न पनि मिल्ने, लिखत इतिहासबाट जबर्जस्ती मेट्ने प्रयास गरिएको इतिहासको दस्ताबेजजस्तो पनि लाग्ने, आन्दोलनको लागि तयार पारिएको मिहिन र ‘वेल क्राफ्टेड’ आह्वानपत्र हो भन्न पनि सकिने। कविताहरू फरक रङका फरक ढंगका हुन सक्छन्। फरक उद्देश्यसहित लेखिन सक्छन्। कविताले राजनीति गर्छ। कवितामार्फत राजनीति गर्न सकिन्छ। कविताका शब्दहरूमा आक्रोशको, विद्रोहको बारुद लोड गरेर सही गन्तव्यमा पुर्याउन सकिन्छ। प्रमाणको लागि ‘ओ पेङ्दोर्जे!’ हाजिर छ।
यो चाहिँ कविता हो, तर यो चाहिँ कविताको नाममा अकविता हो। यो कला हो अनि यो चाहिँ नारा हो भन्दै व्यक्तिका रचनालाई स्वघोषित इन्चटेपले नाप्दै वर्गीकरण गर्नेहरूले राजुका थुप्रै कवितालाई अकविताको महलमा हुर्याउन सक्छन्।
‘ओ पेङ्दोर्जे!’ले बोकेका थुप्रै कविताहरूलाई नारा करार गर्न सक्छन्। सरलता कविताको विशेषता होइन भन्दै क्लिष्ट कविताको वकालत गर्ने वकिलहरूले कवितालाई अति सरलीकृत गरेको आरोपमा राजुलाई कविको दर्जा नदिन खोज्छन्। कविताका शब्दहरू लालुपाते फूलजस्तो हुनुपर्छ , पत्थर बोक्ने शब्दहरू कविताका असली दुश्मन हुन्। कविताले आन्दोलन गर्न मिल्छ, तर ढुंगा हान्न मिल्दैन। सयपत्रीको गुच्छाले व्यवस्थाको शिरमा सशक्त प्रहार गर्नुपर्छ भन्नेहरूले पेङ्दोर्जेले बोकेका कविताहरूलाई नअपनाउन सक्छन्।
मलाई लाग्छ यी सब हुन्छन् र त राजु हाम्रो कवि हो भन्ने प्रमाणित हुन्छ। आममान्छेको कविको रूपमा, सीमान्तकृतको कविको रूपमा, भोकाहरूको कविको रूपमा राजुको उपस्थिति सशक्त हुन यति त हुनैपर्छ।
राजु स्याङ्तान किन विद्रोह लेख्छ?
२०५८ सालमा जनमुक्ती सेना बनेको राजु कम उमेरको भएकै कारण तत्कालीन नेकपा (माओवादी) को सांस्कृतिक मोर्चामा स्थानान्तरण हुन्छ। सेनच्याङ सांस्कृतिक मोर्चामा रहेर त्यो उथलपुथकारी समयमा अग्रमोर्चामा डटेको उसको जीवनदर्शन त्यही बेलादेखी परिष्कृत भएको हो। अहिले परिपक्व भएको छ।
मजदुरको घोषणापत्र, आमा तिमी मात, योद्धा, अन्तिम प्रेमपत्र, एक दिन र पिपाको कथा ‘ओ! पेङ्दोर्जे!’ भित्रका खण्डहर” हुन्। यी खण्डमार्फत क्रमश: मजदुर, महिला, जनयुद्ध र आन्दोलनका योद्धाहरू, प्रेमको वर्ग पक्षधरता, वर्तमानको विद्रुप अनुहार तथा आफ्नो राष्ट्रियताको चित्रहरू उतारिएका कविता पस्किएका छन्। सामाजिक न्याय र समानताको पक्षमा वकालत गर्नु आफ्नो प्रमुख दायित्व हो भन्नेमा उनी सचेत देखिन्छन्।
आफ्ना आन्तरिक रहरहरूको प्रस्फुटन गर्नु मात्र लेखनको उद्देश्य हुन मिल्दैन। त्यसैले उद्देश्यसहितको लेखन जरुरी छ। लेखनले सामाजिक यथार्थलाई देखाउनु त पर्छ नै, सगँसगैँ उन्नत जिन्दगी बाँच्न, उन्नत व्यवस्थाको संभावना पनि लेखनमार्फत देखाउनुपर्छ।
पण्डितहरू, वनारस र काशी गएर संस्कृत पढेर विद्वान् बनेका/बनाइएकाहरू मात्र कविता लेख्न योग्य हुन्छन् भन्ने भाष्य गोपालप्रसाद रिमालहरूले भत्काउन शुरू गरे। त्यो अभियानमा थुप्रै लामबद्ध भए। अहिले कविता राजु स्याङ्तानहरूले पनि लेख्न सक्ने र लेख्नैपर्ने विधा हो भन्ने भाष्य स्थापित भैसकेको छ। यो भाष्य स्थापित गराउन ज-जसले योगदान गरे, तिनको सपना पूरा गराउन कविता लेखेरै प्रयास गरिरहेको छ राजुले।
पिपाको सन्तान, मासिन्या मतवाली बनाएर मास्न राज्य नै लागेर मास्न लागेकाहरूको सन्तान भएर पनि अहिले स्थापित कवि हुन सक्ने व्यवस्था (यद्यपि, योभन्दा उन्नत व्यवस्थाको लागि उ संघर्षरत छ) स्थापनामा रगत र पसिना बगाउनेहरूप्रति राजु कवितामार्फत आभार प्रकट गर्छ।
(रुस्लानसालिङ जिन्दावाद, च्याङ्बाको रहर कविताहरू पढ्दा ग्लोबलाइजेसनले निल्न खोजेको स्वत्व र पहिचानलाई बचाउन सचेत कविको रूपमा उभिएको भान हुन्छ।)
राजुको ब्रान्ड: व्याख्यात्मक शैली
तुलनात्मक रूपमा व्याख्यात्मक शैलीका लामा कविता राजुको ब्रान्ड हो। तर, मामाघर, दिनचर्या जस्ता बेजोड कविताहरूले उनको छोटा कविताहरू लेख्ने क्षमता देखिएका छन्।
‘को म्हेन्दो’ पढ्दै गर्दा गीतलेखन पनि उनको क्षमताभित्रैको बिधा रहेछ भन्ने आभास हुन्छ। कहिलेकाही बढी भावुक भएर कवितालाई बढी तन्काएको जस्तो पनि देखिन्छ।अनेक अवतारका महामारी , दाइ हराएको सुचना लगायतका कविताहरुलाई खाँद्न सकिन्थ्यो होला जस्तो देखिन्छ।
कहिलेकाही यस्तो लाग्छ राजुका कुनै कुनै कविता ओभररेटेड छन्। जब कवितामा कुनै कविले देखिने गरी उचाइ बनाउँछ, तब ती कविको कविता बजारमा आउनेबित्तिकै गम्भीर अध्ययनबिना नै वाह! आह! वाला कमेन्ट आउन थाल्छ। कमजोर कविताले ज्यादा भाउ पाएपछि कविले मिहिनेतको दर घटाउन थाल्ने सम्भावना बढ्छ। कविताको क्वालिटिमा गिरावट आउँछ। राजुको हकमा यदाकदा यस्तो हुन थालेको भान हुन्छ। राजु चलाख छ, बजारको यो भुमरीमा कसरी नफस्ने उसले जान्दछ। यो मेरो प्रेमिल विश्वास हो। प्रेमिल खबरदारी पनि हो।
अन्त्यमा, ‘छुटेको प्रचण्ड’ कविताले राजुलाई चिनाएको मान्नेहरू पनि सामाजिक सन्जालमा देखिए। मलाई ‘रेमिट्यान्स’ कविताले उसलाई स्थापित गराएको हो जस्तो लाग्थ्यो। ‘एउटा दासको घोषणापत्र’ प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत भएपछि राजुको कवितामा बलियो उपस्थिति देखिन थालेको ठान्नेहरू पनि भेटेँ।
मलाई लाग्छ राजुका धेरैजसो कविताहरू बलिया छन्। ती सबै कविताको काँधमाथि उक्लँदै कविताको शिखरतर्फको यात्रामा उक्लिरहेको छ ऊ। कुनै एक कविताको काँध चढेर उचाइ छुन सम्भव थिएन राजुलाई।
चन्द्रमा दागसहित चम्किने भएरै हामीलाई सुन्दर लागेको हो। शैलीमा राजुका कविताहरू बेदाग छैनन्। त्यसैले ती सुन्दर छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
