प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४२ मा पोसाक र प्रतीक चिन्हसम्बन्धी व्यवस्था छ। औपचारिक, मौलिक, संस्कृति र परम्परागत पहिचान झल्किने मर्यादित भेषभूषामा ध्यान दिनुपर्ने नियमावलीमा उल्लेख छ।
काठमाडौँ– वसन्तपुरका रवीन परियार (२५)लाई कुनै पनि व्यक्तिले उसले लगाएको पोसाकलाई लिएर ठूलो विषय बनाउनु पर्छ भन्ने लाग्दैन।
“संसद्मा सांसदहरूले लगाउने पोसाकको विषय ठूलो कुरा होइन, संसद्मा कस्तो विषय उठाउने, कस्तो विषयमा छलफल गर्ने, समाजलाई कता लैजाने भन्ने विषय नै मुख्य कुरा हो” उनी भन्छन् “जसलाई जस्तो कपडा लगाउँदा सहज हुन्छ, उसले त्यस्तै लगाउँछ त्यो कुनै ठूलो विषय भएन।”
उच्च गरिमायुक्त स्थान लिएका प्रतिनिधिहरूले प्रतिनिधित्व गर्ने संसद् भवनमा एकै खालको पोसाक लगाउँदा राष्ट्रको छुट्टै गरिमा हुने बागबजारका मदन भण्डारी (२६) को भनाइ छ। उनका अनुसार पोसाक नै सबथोक होइन।
“त्यो त्यति चर्चा गर्ने विषय हो जस्तो लाग्दैन मलाई। अचेल अलि चटक पनि गर्छन् मान्छेहरू,” उनी भन्छन्, “सांसद पद हास्यकलाकारको भूमिका हो र खालि चर्चाको लागि जे पनि गर्ने? ”
वनस्थलीका सुदीप रावल(२३) नेपाली राजनीतिमा यस्ता घटना परिघटना भइरहने बताउँछन्। "जनताको बहुमूल्य मत प्राप्त गरी नेपालको मुहार फेर्छु भन्ने उद्देश्यका साथ संसद्मा पुगेका युवा पुस्ताले नै संसद्मा मनलाग्दी पोसाक लगाएर गएपछि भावी पुस्ताले उनीहरूबाट के सिक्छन्?," उनले भने, नेपाली पोसाकलाई नै प्राथमिकता दिनु राम्रो हुन्छ।”
बानेश्वरका विजय रेग्मी (२४) संसद् भवन जनताको आशा र भरोसाको थलो रहेको बताउँछन्। "जनताको अभिमतद्वारा निमुखा जनताको आवाज बोल्न संसद् छिरेकाहरूले आफ्नो देशको रहनसहन, कला र संस्कृति के हो? म कहाँ उभिएर बोल्दै छु? के मेरो शैली ठिक छ त? भन्ने विषयमा ध्यान दिनुपर्छ," उनले भने।
विषयगत ज्ञानको आधारमा जनताको भोटले चुनिएका सांसद जनताका लागि कति उत्तरदायी छन् भन्ने महत्त्वपूर्ण हुने उनले सुनाए। भने, “व्यक्ति आफैँले मेरो देशको छवि झल्काउने वस्त्र कुन हो। भन्ने कुरा बिर्सनु हुँदैन।”
संसद्मा सांसद कस्तो कपडामा गए भन्ने विषयभन्दा पनि उसले कस्तो विषयमा बोल्छ भन्ने कुरालाई बढी प्राथमिकता दिनुपर्ने कपनकी सोना गुरूङ (२२) को भनाइ छ। “अरूले लगाएको पोसाकमा यस्तोउस्तो भन्ने अधिकार कसैको छैन,” उनी भन्छिन्, “जस्तो आफूलाई सहज हुन्छ, त्यस्तै कपडा लगाउन पाउनुपर्छ।”
जमलकी ममता बस्नेत (२५) को पनि भनाइ उस्तै छ। “आफ्नो शरीरमा जस्तो कपडा सहज हुन्छ। त्यस्तै लगाउँदा कसैलाई टाउको दुख्ने विषय हुन्छ,जस्तो लाग्दैन मलाई,” उनले भनिन्। पुतलीसडककी जुना खत्री (३०) संसद्मा सांसदहरूले जनताको समस्याको विषयलाई लिएर कुरा गर्नपर्ने बताउँछिन्। संसद्मा जाँदा कुनै फेशन देखाउन नपर्ने खत्रीको भनाइ छ।
“आफ्नै पोसाकमा गए कसैले केही भन्न मिल्दैन, तर संसद्मा भएको कुरा त विवादका रूपमा उठ्नु स्वाभाविक नै हो,” उनी भन्छिन्, “संसद्मा जाँदा टिसर्ट र जिन्समा अलि सान्दर्भिक भएन कि?” यो महिलालाई कमजोर ठानेर, नियन्त्रणमा राख्न खोजेको एउटा सांकेतिक विषय भएको सामाजिक अभियन्ता सावित्री भण्डारी बताउँछिन्। महिलाहरू कमजोर हुनुपर्छ, भन्ने मान्यता अझै पनि नेपाली समाजमा जीवित रहेको उनको भनाइ छ।
एउटा महिलामा कस्तो क्षमता छ। उसले कस्तो विषयवस्तु उठान गर्छ। विषयवस्तुलाई कसरी टुङ्ग्याउँछ। उसले उठाएको विषयले समाजमा पिछडिएका वर्गमा पार्ने प्रभाव महत्त्वपूर्ण हुन्छ। तर, यी कुराको ध्यान कसैलाई नहुने भण्डारीको तर्क छ।
“कानूनी रूपमा भएको ड्रेस कोड नै मान्य थियो भने त्यो यसअघि किन कार्यान्वयन आएन? अहिले नै यसको विषयमा किन कुरा उठ्यो?,” उनी भन्छिन्, “जसलाई जस्तो कपडा सहज हुन्छ, उसले त्यस्तै लगाउन पाउनु गर्छ। जुन कुराहरू अहिले सांसद सुमना श्रेष्ठले उठाइरहनु भएको छ। यस्ता विषयमा यसअघि किन आवाज उठेन, भन्नेबारेमा कहिल्यै कसैले सोचेनन्।" मानिसहरूको ध्यान व्यक्तिलाई कसरी दुःख दिने भन्नेमा मात्र बढी गएको उनको भनाइ छ।

“सुमना जस्तो शिक्षित महिलाको कामलाई पचाउन सकिरहेका छैनन्,” उनी भन्छिन्, “राम्रो काम गर्ने व्यक्तिलाई नेपाली समाजले खुट्टा तान्नभन्दा अरू के जानेको छ र?”
यता, सांसद सुमना भने सामाजिक सञ्जाल, सांसद र सभामुखसमेतले आफ्नो पहिरनका विषयमा चासो राखेको बताउँछिन्। सामान्य कुरालाई ठूलो रूप दिएर आफूमाथि प्रहार गरेको श्रेष्ठको आरोप छ।
“संसद्मा भ्रष्टाचारको काण्ड चलिरहेको समयमा मेरो पहिरनलाई बढी चर्चा गरेर विषयान्तर गर्ने रणनीति अपनाइएको मात्र हो,” उनले भनिन्, “संसद्को मर्यादा राख्दै आफूलाई सहज हुने पहिरन मैले लगाएकै छु।”
त्यसो त संसद्मा टिर्सट, ब्लेजर र जिन्समा उपस्थित हुने सुमना पहिलो सांसद होइनन्। कांग्रेस महामन्त्री गगन थापा पनि बेलाबखत यस्तै पहिरनमा संसद् बैठकमा उपस्थित हुन्छन्। तर थापाको पहिरनलाई लिएर कुनै विवाद भएको छैन।
प्रतिनिधिसभा बैठकमा उपस्थितिका लागि पोसाक सम्बन्धी कानून नै बनेको छ। प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४२ मा पोसाक र प्रतीक चिन्हसम्बन्धी व्यवस्था छ। पोसाक तोक्दा औपचारिक, मौलिक, संस्कृति र परम्परागत पहिचान झल्किने मर्यादित भेषभूषाका पोसाकमा ध्यान दिनुपर्ने नियामावलीमा उल्लेख छ।
अमेरिकी संसद्मा विधायकका लागि पनि पोसाक नियम बनेको छ। त्यहाँका सांसदले पनि कानून अनुसार कै पोसाक लगाएर मात्र बैठकमा उपस्थित जनाउन पाउँछन्। महिला विधायकका लागि स्कर्ट, ब्लाउज र स्ल्याक्स वा सर्ट टाई लगाउनु पर्ने नियम छ भने पुरुषले सर्ट र टाई लगाउनुपर्ने नियम अमेरिकी हाउसले बनाएको छ।
त्यस्तै बेलायतमा पनि सांसदका लागि पोसाक कोड तोकिएको छ। र नियम बनाएको छ। बेलायतका सांसद बैठकमा उपस्थित हुँदा औपचारिक पोसाक मात्र लगाउन पाउने नियम छ। बैठकमा उपस्थित हुँदा उनीहरूले टिसर्ट र स्पोर्टस् वेयर लगाउन पाउँदैनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
