आफ्ना पुराना गीत अर्काइभ गर्दै लोक गायिका हरिदेबी कोइराला

गीत,संगीतमा विकृति भित्रिएर मौलिकता हराए झैँ देखिन्छ। असारमा असारे गीत बज्दैन। साउनमा कोदो रोप्ने गीत बज्दैनन्। चाडपर्वका गीत फिल्मी हुँदैछन्। ठेट र झर्रा भाषा लोकगीतमा आउनसकेन।

पोखरा– कवयित्री, लोक गायिका हरिदेवी कोइराला (६३) आफ्नो ६ दशक जीवन यात्राका भोगाइलाई पुस्तकमा उतार्ने र प्रकाशनको तयारीमा जुटेकी छन् । 



पोखरा गणेशटोल थोरै माथि सिद्धार्थचोकस्थित पुरानै शैलीको घरमा नातिनातिना खेलाएर रमाउँदै गरेकी उनले भनिन्।, “चार पुस्तक निकाल्ने तयारीमा छु। एउटा मेरै जीवनमाथि लेखिएको छ, तीन कृतिचाहिँ रेकर्ड भएका गीत स‌ंकलित रचना हुन्।”



शिक्षण पेसामा २५ वर्ष सेवारतपछि सेवा निवृत्त भएकी उनी,आफ्नो रुचि कला,साहित्य, गीत,संगीतको क्षेत्रमा भने अझै क्रियाशील नै छिन्। 



दुई छोरा र एक छोरीमध्ये कान्छा छोरा र पतिसँगै दिन बिताइरहेकी उनी आफ्ना पुराना गीतको व्यवस्थापनमा व्यस्त छिन्। 



“कसैले कार्यक्रममा निमन्त्रणा गरे मात्र जान्छु, नत्र घरैमा लेखपढ गर्छु। पुराना सबै गीतलाई व्यवस्थित गरिरहेकी छु।”उनले भनिन्। 



आफ्ना पुराना भाकालाई नयाँ स्वरूप दिने सोच पनि उनको छ। त्यसैमा पनि उनी व्यस्त छिन्। “मेरा पुराना रचनालाई नयाँ स्वरूपमा ढाल्दै छु। कतिपय गीत रेकर्ड मात्रै भएर बसेका छन्। त्यसको भिडियो बनाउनु पर्नेछ।” उनी भन्छिन्, “लगभग ३०/३५ प्रतिशत काम बाँकी छ।” 



उनले लेखेका र गाएका ८०० भन्दा बढी गीत छन्। कविता संग्रह, बाल गीत कविता, तीज गीत संग्रहका आधा दर्जनभन्दा बढी किताब प्रकाशित छन्। 



कुनै समय लोकगीतमा एकछत्र राज गरेकी हरिदेवीका गीत गण्डकी क्षेत्र हुँदै देशैभरि नै उनको मानवीय संवेदनाले भरिएको कर्णप्रिय स्वरले ख्याति पाएको थियो।



२०४० सालतिर ‘घर फर्की आउनु है मेरो हजुर’ बोलको लोक भाका उनको सबैभन्दा चर्चित गीत हो। यसै गीतसँगै उनी प्रसिद्ध लोक गायिका बनेकी थिइन्।   



मुगलानमा बेखबर बसेका खसमलाई घर आउन अनुरोध गर्दै उनको स्वरको विरही लोक भाका नेपाली पाखोपखेरा,बेसी, भन्ज्याङ र मैदानमा गुन्जियो। हरेक गृहिणीको सुस्केरा थियो त्यो, मनभित्रको पीडा पनि। जुन गीतले बोलेको थियो। गीतले हलचल मच्चायो। देशव्यापी ख्याति बटुलिइन हरिदेवीले। 



उनले आफ्ना विगतका दिन भुल्न सकेकी छैनन्। ती दिनमा खेप्नु परेको कठिनाइ, सामाजिक परिवेश र आक्षेप, चुनौतीपूर्ण त थिए नै त्यसबिरुद्ध गर्नु परेको संघर्ष, अझ विदारक थिए। 



बिहे नभएकी छोरीले गीत गाओस्। कविता लेखोेस् । मञ्चमा गएर वाचन गरोस् भन्ने परिवारले सोच्नसम्म पनि सक्दैनथ्यो। समाज झन् संकुचित थियो। उनी भन्छिन् “हाम्रो समाज बाहुन/क्षेत्रीको समाज थियो, धेरै परम्परावादी, उनीहरुले  रुचाउने कुरै भएन।” 



प्रख्यात लोकदोहोरी गायिका हरिदेवी कोइराला आफ्नो संघर्ष र साधनाबारे बोलेर थाक्दिन। “त्यतिबेला मैले खुलेर पनि भन्न नसक्ने। म कार्यक्रममा स्कुलबाट धेरै ठाउँमा घरमा नभनी जान्थेंँ। 



उनको प्रतिभा,देखेर प्रोत्साहन दिने कोही थिएनन्। उनी भन्छिन्, “गीत कवितामै लाग, भनेर भन्नु त कहाँकहाँ बरु निरुत्साहित बनाउँथे” 



त्यो परिवेशमा घरपरिवार, समाजको सीमारेखा नाघेर हिँड्ने आँट गर्नु दुस्साहस मानिन्थ्यो। बिबाह गर्ने बेला भएको छोरी नाँचगान गर्नतिर लाग्नु बिद्रोह नै थियो।



आफ्नो चाहनाभन्दा पनि समाजले केही भन्लाभन्ने ठूलो चिन्ताको विषय हुन्थ्यो। मुख फोरेर भनी नहाले पनि आशय झल्किन्थ्यो। हुर्केकी छोरी घरमा धेरै राखिरह्यो भने बिग्रन्छ भन्ने डरले चाँडै बिहेबारी गरिदिने प्रचलन थियो।



हरिदेवीका परिवारले पनि उनको सानै उमेरमै बिहे गरिदिए। 



२०३४ सालमा बिहे हुँदा भर्खर १९ वर्षकी थिइन्। एसएलसी परीक्षा दिएर बसेकी थिइन्। घरबाट बिहे गरेर पठाइदिए।



आफ्नो रहरले गीत गाउँन, कविता वाचन गर्न हिँड्न मिल्ने अवस्था थिएन। माइती हुँदा त जान्थिन्। बिहेपछि त्यो रोकियो। त्यसपछि घरव्यवहारमा व्यस्त हुँदै गइन्।



गीत रेकर्ड गराउने रहर त थियो। तर, घरमा गीत रेकर्ड गराउने कुरा राख्ने कसरी? स‌कट आइलाग्यो उनलाई। 



उनका श्रीमान् जागिरे थिए। कृषि विकास बैंकमा काम गर्थे। उनीचाहिँ स्कूलमा पढाउँथिन्। श्रीमानले लमजुङमा काम गर्थे। उनी पनि लमजुङ गइन्। स्कुलबाट २ वर्ष बेतलबी बिदा लिएर। र लमजुङ सुन्दरबजारस्थित ‘कृषि क्याम्पस’ पढ्न थालिन्। 



लमजुङमा छँदा त्यहाँ आयोजित एक कार्यक्रममा उनले आफ्नो प्रस्तुती राख्ने अवसर पाइन्। पोखरा बाटुलेचौरका कुलबहादुर केसी, देवी गुरुङ लगायतका कलाकारहरू सो कार्यक्रममा सहभागी थिए। हरिदेवीले आफ्नो प्रस्तुती दिईसकेपछि उनीहरूले हरिदेवीलाई गीत रेकर्ड गराउन प्रोत्साहन गरे। “तपाईंको स्वर त राम्रो रैछ,” यो शब्द उनी अहिले पनि सम्झिन्छिन्। 



उनका पति रामबहादुर कोइराला पनि कार्यक्रममा थिए। उनका पतिले घरमै पनि  कुराकानी हुँदा उनलाई आफ्नो प्रतिभा देखाउनु पर्छ भनी सुझाव दिईरहन्थे।



‘घर फर्की आउनेको पाइनँ खबर’ भन्ने गीतमा काम गरिरहेकी थिइन्। लय पनि संकलन थियो। रेकर्ड गरिन्। जब त्यो गीत उनले सुनाइन् सबैबाट उनको प्रशंसा भयो। “गीत त्यसै राख्नुहुन्न, मीठो स्वर रैछ। आफैँ लेख्नुहुँदो रैछ। आफैँ गाउनु हुँदोरैछ।” ती क्षण सम्झेर हरिदेवी अहिले पनि उत्साहित हुन्छिन्। 



सबैले एकचोटी रेडियो नेपालमा जानुपर्छ,भनेर सल्लाह दिए। त्यसपछि लमजुङबाट उनी श्रीमानलाई साथ लिएर रेडियो नेपाल पुगेकी थिइन्। 



२०४०/०४१ सालतिर ‘म्युजिक नेपाल’ बाट ‘पाइनँ खबर’ गीत रेकर्ड भएर बजारमा आयो। गीत एकदमै ‘हिट’ भयो। उनले पहिलो त्यही गीतबाटै प्रसिद्धि कमाइन्।



रेडियो नेपालमा उनका श्रीमानका मामा प्रेमराज महत काम गर्थे। कलाकार बमबहादुर कार्की पनि थिए। पहिलेदेखिको चिनाजानीले त्यहाँ जान उनलाई सजिलो भयो। गीत रेकर्ड गराउन संगीतकार नारायण रायमाझीले धेरै सहयोग पुर्याएको उनले बिर्सेकी छैनन्।  



रेडियो नेपालबाट आयोजित अन्तरसंस्थान गायन प्रतियोगितामा उनी तृतीय भएकी थिइन्। प्रथम, दोस्रो, तृतीय हुनेले स्वर परीक्षा दिनु पर्दैनथ्यो। तर उनले स्वर परीक्षा दिएर पास गरेकी थिइन्। 



गीत रेकर्ड भएर बजारमा आइसकेपछि घरमा रेडियो खोलेर र क्यासेट बजाएर आफ्नै गीत सुन्न पनि उनलाई लाज लाग्थ्यो।



गीत रेकर्ड भएर बजारमा आइसकेपछि सकारात्मक रुपमा कमैले लिए। त्यसबेला प्रोत्साहन भन्दा पनि हतोत्साही बनाउने खालका प्रतिक्रिया बढी आए। 



“म काठमाडौँमा बसेको भए झन् बढी कुरा काट्थे। घरबाटै आफ्नो श्रीमानसँग जाँदाआउँदा पनि मानिसहरूलाई यो राम्रो क्षेत्र होइन भन्ने धारणा थियो,” उनी भन्छिन् 



उनको प्रतिभा फैलियोस् भन्ने सोचका थिए, उनका पति। घरमा सासुले त्यतिकै माया गर्थिन्, “घर परिवारले माया गरेपछि अरुले कुरा काटे पनि केही नहुँदो रैछ।” हरिदेवी सम्झिन्छिन् “श्रीमानले सधैँ हौसला दिनुहुन्थ्यो। आफ्नो कलालाई मार्नु हुन्न। उजागर गर्नपर्छ भनेर उत्साह दिनुहुन्थ्यो।” 



सानैदेखि गीत,संगीतमा रुचि राख्ने उनले पतिको सहयोगी हात पाइन्। त्यसैले आफ्नो प्रतिभा व्यक्त गर्ने अवसर जुरेको उनी स्विकार्छिन्। 



फुर्सदमा गीत रचना गर्ने, लय भर्थिन्। गीत तयार भइसकेपछि असार/साउनको वर्षे बिदामा गीत रेकर्ड गराउन काठमाडौँ जान्थिन्। 



“साझाको रात्रि बस चल्थ्यो। हामी दुवै जना जागिरे। शुक्रबार रात्रिबसमा जान्थ्यौँ,” उनी सम्झिन्छिन्, “आइतबार सम्पर्क गर्न रेकर्डिङ स्टुडियोमा जान्थ्यौँ, दुईदिनमा ४/५ वटा गीतसम्म रेकर्ड गराएँ। 



धेरैजसो त्यसरी उनले गीतहरू रेकर्ड गराएकी थिइन्। अहिले त पोखरामा पनि प्रशस्तै स्टुडियो छन्। १ हजार बढी गीत उनको आवाजमा रेकर्ड भइसकेको छ।



सबैजसो गीतमा उनी आफैले लय, शब्द बनाएकी छन्। साहित्यिक कृति गीत, कविता गरी १० वटा किताब नै प्रकाशित छ। १० वटा बालगीत रेकर्ड भएका छन्। 



बजारमा बिक्ने गीतभन्दा पनि पुराना गीत संकलन गर्दा सन्तुष्टि मिल्ने बताउने उनी भोलिको पुस्ताका लागि केही गर्ने उनको रहर छ।  



समाजले सधैँ डसेका, हेपिएका, थिचिएका, विदेशमा बेचिएका चेलीको कथा उनलाई मन पर्ने गीत हुन्।



गीतमा समाजका विषयवस्तु आउनुपर्छ भन्ने उनी ठान्छिन्। 



पछिल्लो समय गीत÷संगीतमा विकृति भित्रिएर मौलिकता हराए झैँ देखिन्छ। लोक गीतमा मौलिकता हराए जस्तोः ठेट र झर्रा भाषा लोकगीतमा आउनसकेका छैनन् । 



“कतिपय हिजो हामीले गाएका गीतको शब्द आजका पुस्तालाई थाहासम्म छैन। हामी भाषामा धनी छौं।” उनी भन्छिन्, “लोकगीत भन्ने बित्तिकै त्यहाँको भाषा, परिवेश, पहिरन सबै आउनुपर्थ्यो। तर, अहिले हामीले लोकगीतलाई आधुनिकीकरण गर्दै आइरहेका छौँ। चाडपर्वका गीत पनि नितान्त फिल्मी हुँदैछ।”



कुन पर्वमा कुन गीत गाउने? कुन पर्वको गीत कुन अवधिबाट शुरु भएर सकिन्छ? भन्ने अहिलेको पुस्तालाई जानकारी दिनै नसकेको उनी स्विकार्छिन्।



नियामक निकाय, सञ्चार माध्यम पनि सजग नहुँदा यस्तो विकृत भित्रिएको उनलाई लागेको छ। “असारमा असारका गीत बज्दैन। साउनमा कोदो रोप्ने गीत बज्दैनन्। पर्वका गीत पनि हामी कहाँ विकृत भइसकेका छन्,” उनी भन्छिन्, “मौलिक भाका हराइरहेका छन्। तीज नै भन्नुहुुन्छभने रातो लगाएपछि तीज। यो किसिमको भ्रम जुन आइरहेको छ । यसलाई चिर्नुपर्छ।”



तिहारमा देउसी÷भैलो, दसैँमा मालश्री धुनहरू, पर्वमा गाइने विशेष गीत हराउनु दुःखद पक्ष रहेको उनी बताउँछिन्।



संगीत नाट्य एकेडेमीको प्राज्ञ समेत रहिसकेकी कोइराला अहिले आफ्ना सिर्जनाको अर्काइभ संकलन, व्यवस्थापन गर्न व्यस्त छिन्। 



लोकगीत क्षेत्रबाट प्रसिद्धि कमाएकी हरिदेवी कोइराला व्यावसायिक रुपमा भन्दा पनि शौखले गीत संगीत क्षेत्रमा लागेकी थिइन्। 



उनी भन्छिन्,“तर, पनि जति उपलब्धि पाएँ, निकै खुसी छु।”