सरकारी कार्यालयको पुँजीगत खर्च १० महिनामा ३५ प्रतिशत

चालु आर्थिक वर्षको १० महिनामा पर्सामा रहेका सरकारी कार्यालयको पुँजीगत खर्च निराशाजनक देखिएको छ।

वीरगन्ज– चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा पर्सामा रहेका सरकारी कार्यालयको पुँजीगत खर्च निराशाजनक देखिएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगन्जका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाको पुँजीगत खर्च ३५ प्रतिशत रहेको छ।

यहाँका ४२ सरकारी कार्यालयले कुल बजेटको पुँजीगततर्फ ३५ प्रतिशत र चालुतर्फ ८१ प्रतिशत मात्र खर्च गरेका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले जानकारी दिए।

उनका अनुसार पुँजीगततर्फ चार अर्ब ४७ करोड २६ लाख ४२ हजार ४३८ मध्ये वैशाख मसान्तसम्म एक अर्ब ५५ करोड २२ लाख १६ हजार १८ मात्र खर्च भएको छ भने चालुतर्फ १० अर्ब ३७ करोड ९३ लाख आठ हजार ९५७ मध्ये वैशाख मसान्तसम्म आठ अर्ब ४६ करोड ११ लाख एक हजार ९१२ खर्च भएको छ।

वीरगन्ज महानगरपालिकासहित जिल्लाका १४ वटै पालिकाको समानीकरण र सशर्त बजेट पाँच अर्ब ४२ करोड ३५ लाख ८० हजारमध्ये वैशाखसम्म सबै पालिकाको पहिलो र दोस्रो त्रैमासिकमा गरी दुई अर्ब २६ करोड ५० लाख २२ हजार २०० निकासा भएको कार्यालयले जनाएको छ।

समयमा ठेक्का सम्झौता नहुनु, आर्थिक तरलताका कारण निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्नुलगायत कारणले सरकारी कार्यालयको पुँजीगत खर्च र विकास बजेट खर्च हुन नसकेको प्रमुख उप्रेतीको भनाइ छ।