मल्लकालीन बस्तीको रैथाने पेसा बिस्तारै संकटमा पर्दै गएकाले कानूनी अंकुश लगाउनुको सट्टा प्रोत्साहन गरिनुपर्ने सरोकारवालाको जोड छ।
हरिदेवी राजथला (४०) सधैँजसो बिहान २ बजे उठिन्। चुल्हाको दाउरामा आगो सल्काइन्। फोसीमा पानी तताइन र फोसीमाथि पटासी राखिन्। पटासीभित्र गहुँ राखेर बफाइन्।
करिब २ घण्टा उसिनिएको गहुँ सेलाएपछि मेसिनमा पेलिन्। पेलेपछि बनेको च्याँख्लालाई घाममा सुकाइन्। केही बोरा कोठाभित्रै फैलाइन र माथिबाट बोराले छोपिन्।
यसरी ५–६ दिनसम्म च्याँख्लालाई कोठामा गुम्स्याएपछि मना (रक्सीको मसला) बन्छ।
हरिदेवीको २२ वर्षदेखिको दैनिकी यही नै हो। यो चित्रपुरवासीकै दैनिकी पनि हो।
यो बस्ती भक्तपुर ठिमीबाट २ किलोमिटर दक्षिणमा पर्छ। मल्लकालीन बस्तीका रूपमा पनि चित्रपुरलाई चिनिन्छ। ‘च्वपु देय्’ लेखिएको मौलिक शैलीको गेटभित्र पसेपछि यहाँ पुगिन्छ। स्थानीयका अनुसार ‘च्वपु’बाट ‘चोपु’ हुँदै कुनै समय अपभ्रंश भई चित्रपुरलाई चोरपुरसम्म भनिन्थ्यो।
मना चित्रपुरवासीको मौलिक र रैथाने सीपबाट बन्ने उत्पादन हो। च्याँख्ला र मना गहुँबाटै बन्ने दुई फरक उत्पादन हुन्। “च्याँख्लाको मूल्य प्रतिकिलो ७० मा बिक्री हुन्छ, मनाचाहिँ ८० रुपैयाँ,” हरिदेवीले भनिन्। च्याँख्ला र मनालाई सँगै मिसाएर पनि बेचिन्छ।

“अहिले गर्मी महिनामा बिहान ८ नबज्दै घाम चर्कन थाल्छ,” हरिदेवी भन्छिन्, “आठ बजे सुकाएको गहुँ दिउँसो एक बजेसम्म सुकिसक्छ। अझ चर्को घाम लागेको बेला सुकाएको दुई घण्टामै सुक्छ।”
बिहान आठ बजे सुकाएको गहुँलाई दिउँसो दुई बजेसम्ममा उठाउन भ्याइनभ्याइ हुन्छ। सुकाएर राखिएका ती गहुँका च्याँख्लालाई मना (रक्सीको मसला)सँग मिसाएर राख्नुपर्छ। त्यो लिन ‘साहु’ आउँछन्। यी मना कहाँ पुग्छन् उनले देखेकी छैनन्। उनले सुनेकी मात्र छिन् ‘बियर’ तथा ‘वाइन’ बनाउन काठमाडौँ लगायत विभिन्न ठाउँमा लगिन्छ।
पानीघट्ट हुँदै घरैपिच्छे मेसिन
मल्लकालीन बस्ती भनी चिनिने चित्रपुरवासीको पुर्खौली पेसा चिउरा कुट्ने र बेच्ने हो। ८५ वर्षीय सानुश्वर राजथला भन्छन्, “थाहा पाएदेखि यही काम गर्दै जीवन बित्यो।”
चिउरा कुट्ने कामसँगै मना अर्थात् मर्चा (चामलको पिठो विभिन्न तरिकाले कुहाएर बनाइने डल्ला जुन जाँड बनाउन प्रयोग गरिन्छ) पनि बनाइन्छ।

“पहिले पनि दुई बजे नै उठेर काम गर्नुपर्थ्यो, त्यो बेला चिउरा कुट्थ्यौँ। चामलका मर्चा बनाउँथ्यौँ। २० वर्षजति भयो गहुँको काम शुरू भएको,” उनी भन्छन्।
अहिलेजस्तो प्राविधिक उपकरण सानुश्वरको समयमा थिएन। मर्चा बनाउनका लागि चामल पिन्नु पर्थ्यो। त्यतिबेला चित्रपुरमा चामल, गहुँ पेल्ने ठाउँ थिएन। चित्रपुरको छिमेकमा रहेको गाम्चा गाउँमा पानीघट्ट थियो। त्यहीँ घट्टमा पुगेर उनी मर्चा बनाउँथे। पछि बिस्तारै गाँउमै कल बन्यो।
कलजस्तै गाउँमा मना बनाउने चलन पनि पछि मात्रै आएको उनी सम्झन्छन्, “पहिले चिउरा नै बन्थ्यो। मना, मर्चा पनि नबन्ने त होइन, तर, २० वर्ष मात्र भयो मना बनाउन थालिएको।”
सानुश्वरले पानीघट्टामा काम गरे तर उनीपछिको पुस्ता श्यामकृष्ण राजथलाले गर्नु परेन। उनको पालामा गाउँमा कल आइसकेको थियो।

“एक जनाको घरमा कल हुन्थ्यो। त्यहाँ पालो कुरेर धान,चामल पिन्नुपर्थ्यो” ४२ वर्षीय श्यामकृष्ण राजथला ती दिन सम्झिन्छन्। अहिले घरैपिच्छे मेसिन हुँदा पालो कुर्ने झन्झटबाट उनीहरू मुक्त छन्।
तर २० वर्षको अवधिमा मेसिनको मूल्य ३५ हजार हुँदै १ लाख पुगेको उनी बताउँछन्।
“घरैपिच्छे मेसिन भएन भने अब त काम गर्नै सकिन्न नि,” हरिदेवी राजथलाले भनिन्, “दिनको ३०० केजी बराबरको गहुँ पिन्नु पर्छ। लागतदेखि समय दुवै लाग्छ।”
हरिदेवीलाई मेसिन आएपछि धेरै सहज भएको छ। मेसिन घरघरमै हुँदा अन्तकतै जानु नपर्ने उनी बताउँछिन्।
वृद्धावस्था पुगेका उनले चित्रपुरका घरको आकार, सामाजिक जीवनशैली, खाद्यवस्तुमा आएका परिवर्तन देखेका छन्। सबै परिवर्तन हुँदा पनि चित्रपुरको रातरात उठेर जागाराम भएर काम गर्ने शैली भने नफेरिएको उनको अनुभव छ।
चिउरा हुँदै मना (रक्सीको मसला)
शिव राजथला, ७३ वर्षका भए। आफ्नो पालामा गहुँको च्याँख्लाभन्दा पनि चिउरा कुटेको उनी सम्झन्छन्। खेतीपातीका लागि प्रशस्तै जमिन थियो। उब्जिएका बालीनालीले व्यवहार चल्थ्यो। हाल तराईबाट चिउरा आउन थालेपछि चिउरा छाडेर मना बनाउन थालेको उनी बताउँछन्।
“पहिले चिउरा ढिकीमा कुट्थ्यौँ। आधा–आधा माना गरेर चिउरा कुट्दा दुई मिनेट लाग्थ्यो,” उनी सम्झन्छन्, “दिनमा ६–७ पाथी चिउरा कुट्थ्यौँ।”
शिव राजथला १४ वर्ष हुँदा १३–१४ पाथीको चिउरा ६४ रुपैयाँमा बेचेको उनलाई याद छ। “एक मुरी धान ४०–४५ रुपैयाँमा आउँथ्यो। अहिले धान एक मुरीको ४–५ हजार पर्छ,” उनले भने।

त्यसताकाको सामाजिक जीवन सामान्य थियो। खेतीपाती नै प्रमुख पेसा थियो। खेतमै काम गरेर त्यहीँको उत्पादनले पुग्थ्यो। पेयपदार्थ आफैले बनाएको जाँड–रक्सी हुन्थ्यो। “त्यसताका उत्पादन हुने मर्चा नगद मात्र नभई पाथी,माना धानसँग पनि साट्थ्यौँ”, उनले भने।
चामलको पिठोबाट बनाएको मर्चाका डल्ला डालोमा बोकेर शिव थिमी, चाँगु, भक्तपुर, काठमाडौँ लगायतका धेरै ठाउँ पुगेका छन्। कुनै समय चित्रपुरकै खेतीपातीले चिउरा, मना बनाउन पुग्थ्यो। अहिले तराईबाट ल्याउनु परेको छ।
चिउरा कुट्ने पुर्खौली पेसालाई तराईको चिउराले विस्थापित गरिदियो। मना बनाउने पेसाले भने निरन्तरता पाइरहेको छ। “पहिले त चिउरा नै हुन्थ्यो यहाँ, तर बाहिर (तराई)को चिउरा आउन थालेपछि यहाँको चिउराले बजार पाएन,” उनी भन्छन्, “नयाँ बस्ती बन्दै गए धान, गहुँ रोपाइँ गर्ने खेतबारी ढाकिँदै गयो, उत्पादन गर्ने जमिन नै छैन। ”
चिउराको बजार राम्रो नभएको हुँदा मना बनाउने कामतर्फ लागेको अर्का स्थानीय श्यामकृष्ण राजथला बताउँछन्। “तराईबाट आउने चिउराको मूल्य ७० रुपैयाँ केजी छ, यहाँ ताइचिनको १५० छ,” श्यामकृष्ण भन्छन्, “५० रुपैयाँको फरक पर्छ।” त्यसो हुँदा अहिले मना उत्पादनमा उनीहरू केन्द्रित भएका हुन्।
दिनमा तीन सय ५० केजीको गहुँ भिजाउँदा त्यो प्रतिप्याकेट ५० केजी हुन्छ। पहिलेको तुलनामा फाइदा कम भए पनि जीविकोपार्जनको बाटो यही मात्रै भएको श्यामकृष्णको भनाइ छ।

हरिदेवी राजथला पनि तराईबाट आउने चिउराले चित्रपुरको चिउरालाई विस्थापित गरेको ठान्छिन्। दसैँका लागि दुई महिनाअघिदेखि चिउरा कुट्न भ्याइनभ्याइ हुन्थ्यो, अब त्यो दिन रहेन।
गहुँ दिने, मना लैजाने
हाल चित्रपुरका बासिन्दाले गहुँप्रति किलो ६० रुपैयाँमा किन्छन्। एक पटकमा ६–७ प्याकेट खरिद गर्छन्। उक्त गहुँलाई मना बनाएर साहुलाई प्रतिकिलो ७० देखि ८० रुपैयाँमा बेच्छन्। त्यसबापत १० देखि २० रुपैयाँ प्रतिकिलो फाइदा हुन्छ। मना बाह्रै महिना उत्पादन गर्न सकिने अर्का हरिप्रसाद राजथला बताउँछिन्।
वर्षमा एक परिवारले तीन हजार ५०० केजीसम्मको गहुँ खरिद गर्छन्। त्यसबाट बन्ने मना बेचेर घर खर्च गरी वर्षमा १–२ लाखसम्म बचत गर्न सकिने उनले सुनाए। “खटिन सक्नेले कमाउँछन्। घरआँगनबाट बाहिर गएर काम गर्नु पर्दैन। घरभित्र र आँगनमा बोकेर ओसारपसार चाहिँ गर्नुपर्छ,” उनी भन्छन्।
झन्डै १५० घरधुरी भएको चित्रपुरका ५० प्रतिशतले मना बनाउने काम गरिरहेका हरिप्रसाद बताउँछन्।
चित्रपुरका बासिन्दाका लागि यो सबैभन्दा व्यस्त समय हो। “कामकै हिसाबले गर्मी सिजनको समय हो। दुई घण्टामै पनि पेलिएका गहुँका च्याँख्ला सुक्छन्। जाडोमा सोही गहुँको च्याँख्ला महिनामा दुई दिन सुकाउनु पर्छ”, हरिप्रसाद भन्छन्, “पानी पर्दा भने नजिकै रहेको पाटी तथा फल्चामा गहुँ सुकाउने गरेको छौँ।”
जाडो महिनामा माग बढी हुँदा थोरै काम र लगानीमा बढी फाइदा हुने स्थानीय हरिप्रसाद बताउँछन्। उनका अनुसार, गर्मीमा २०० सय प्याकेट र जाडोमा ९० पोकाको उत्तिनै लागत पर्छ।

कुनै समय छ रुपैयाँको लगानी हुँदा १२ रुपैयाँको आम्दानी हुन्थ्यो तर, अहिले गहुँ केजीको ६० रुपैयाँ पुगेको छ। यसो हुँदा फाइदा कम हुने, श्यामकृष्ण राजथला बताउँछन्। बीचमा पुरानो गहुँको मूल्य ७०–९० रुपैयाँ पुग्दा, घाटामै पनि काम गर्नु परेको नमीठो अनुभव उनको छ।
श्यामकृष्ण यो काम आफूमा मात्र सीमित होस् भन्ने चाहन्छन्। आफ्नो भावी पुस्ताले यो काम नगरोस्। उनको चाहना छ। “मेरो सन्तानले पढेर काम गरोस् यो काममा पहिले जस्तो फाइदा छैन।”
मना किन्ने, बेच्ने चित्रपुरवासी
चित्रपुरमा उत्पादन हुने यी मनालाई चित्रपुरकै स्थानीय विकास राजथला किन्ने र बेच्ने गर्छन्। १५ वर्षदेखि मना बेच्ने व्यवसाय शुरू गरेका हुन्। बाजेबराजुदेखिको पालादेखि नै चिउरा, मर्चा, मना बनाउने गरेको बताउँछन्।
“पहिले त चिउरा बनाउने काम हो, तर चिउरा खासै कुटिँदैन। मना बनाउने काम भने भइरहेको छ,” व्यवसायी विकास राजथला भन्छन्, “मना बनाउनका लागि आवश्यक पर्ने गहुँ नवलपरासी, दाङ, भैरहवाबाट ल्याउँछौँ। अपुग भएमा भारतबाट पनि ल्याउँछौँ।
मनाका व्यापारीहरूले चित्रपुरका स्थानीयलाई उधारोमा गहुँ दिएर पनि मना बनाउन लगाउँछन्। त्यस्ता व्यापारीहरू कालीमाटी, बालाजु, बनेपा लगायतका छन्।

ती स्थानमा सखर बेच्ने पसलमा मना बेच्ने गरेको उनले बताए।
मनाको खास प्रयोग रक्सी कडा बनाउन प्रयोग गरिने उनले बताए।
“हामीले डिलरलाई दिने हो। उनीहरूले कहाँकहाँ लैजान्छन् त्यो थाहा छैन,” उनले भने।
एक क्विन्टल गहुँको दुई हजार २०० किलो जति मना बन्छ। प्रतिकिलो मना ८० रुपैयाँमा बेच्छन्।
चित्रपुरमा उनी र उनका जेठानले मनाको व्यवसाय गरिरहेका छन्। स्थानीयलाई उधारोमा गहुँ दिएर पछि उनीहरूको बनाएको लागतमा कट्टा गर्छन्। उनीहरूले महिनामा न्यूनतम ६ देखि १४ बोरासम्म मना उठाउने गर्छन्। प्रतिबोरा ५० केजीको हुन्छ।
मना पहिले लुभु, थिमी, भक्तपुरमा समेत बनाउने चलन थियो। त्यो बिस्तारै हराउँदै गयो। चित्रपुरवासीले भने यसलाई निरन्तरता दिइरहेका छन्। त्यहाँको २०० घरधुरीमध्ये ५० प्रतिशतले यही काम गरिरहेका स्थानीयहरू बताउँछन्।
तर बिस्तारै यो परम्परागत रैथाने पेसा संकटमा पर्न थालेको छ। केही वर्षअघि सूर्यविनायक नगरपालिकाले व्यवसाय दर्ता गर्न भनेको थियो। विकासले भने, “तर मना बनाउने व्यवसाय गैरकानूनी भएको कारण देखाउँदै दर्ता भएन।”
“व्यवसाय दर्ता गर्नु नै पर्ने भएपछि यहाँका दुई–तीन जनाको समूह बनाएर दर्ता गरेको छौँ, तर, बंगुरको दाना उद्योग भनी दर्ता गरेका छन्।” विकास भन्छन्, “यो त हाम्रो पुर्खौली पेसा हो, नेवारहरूको भोजभतेरमा नभई नहुने जाँड, रक्सी बनाउन आवश्यक पर्छ।”
इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठ यस्ता पुर्खौली पेसा, स्थानीय परम्परागत उद्योगलाई जति सकिन्छ सरकारीस्तरबाट संरक्षण र प्रवर्द्धन गरिनुपर्ने बताउँछन्।

उनका अनुसार, लिच्छवीकालका विभिन्न अभिलेख हेर्दा किसान, मजदुरहरूले कुनै काममा प्रगति गर्यो भने सरकारले पनि कर मिनाहा गरेका उल्लेख पाइन्छ।
“आजभन्दा १४–१७ सय वर्षअघि शिवदेव अंशुवर्माको अभिलेखमा तेल, तिल, सुँगुर, लसुन, प्याजमा लाग्ने कर माफ गरेको उल्लेख छ,” इतिहासकार श्रेष्ठ भन्छन्, “अहिले पनि त्यसरी नै सोचिनुपर्छ। अहिले पनि सरकारले उनीहरूलाई तर्साउने धम्काउने होइन, उनीहरूको पेसालाई प्रोत्साहित गर्नुपर्छ।”
सूर्यविनायक नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटा घरेलु मदिरा प्रवर्द्धनका विषय गैरकानूनी मानिने बताउँछन्। “यो हालको लागि बहसको विषय हो। सदनमा पनि यो विषयमा चर्चा भई नै रहेको छ,”
प्रवक्ता सापकोटा भन्छन्, “प्रहरीले कहिलेकाहीँ अनुगमन गर्नेबाहेक नगरपालिकाबाट हस्तक्षेप भएको छैन। नगरपालिकाले परम्परागत तथा रैथाने पुर्खौली पेसा प्रवर्द्धनमा जोड दिएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
