भारतबाट स्वास्थ्योपचार गरी फर्किएको १६ दिन बितिसक्दा पनि राष्ट्रपति पौडेलको स्वस्थ्य पूर्णरूपले ठीक नभएपछि जेठ ५ गते संसदमा प्रस्तुत हुने नीति तथा कार्यक्रम वाचन गर्न प्रधानमन्त्रीले साथ दिने तयारी छ।
काठमाडौँ– भारतमा उपचार गराएर वैशाख १७ गते स्वदेश फर्किएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था अझै पनि पुरै सुधार भएको छैन। सरकारले संसदमा पेश गर्ने नीति तथा कार्यक्रम वाचन गर्न राष्ट्रपति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साथ दिने तयारी थालिएपछि उनी अझै अस्वस्थ रहेको खुलेको हो।
उमेर ७८ वर्ष पुगेका पौडेल पेटमा समस्या देखिएपछि चैत १८ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। उनका निजी चिकित्सक तथा छाती रोग विशेषज्ञ डा. निरज बमले त्योबेला पौडेलको बायाँ कोखा दुखेको बताएका थिए। भर्ना भएको पाँच दिनपछि उनी डिस्चार्ज भएका थिए।
तर, गत वैशाख ४ गते फेरि बिरामी भएपछि पौडेल शिक्षण अस्पताल पुगेका थिए। उनको उपचारमा संलग्न एक चिकित्सकले त्यसबेला फोक्सोमा संक्रमण फैलिएको र पानीसमेत जमेको बताएका थिए।
यस्तो स्वास्थ्य समस्या कडा खाले निमोनियाका कारण हुने चिकित्सकहरू बताउँछन्। उमेरका कारण पौडेलको रोग प्रतिरोधात्मक क्षमता कम भएको उनीहरूको भनाइ थियो। रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमण शरीरको अन्य भागमा फैलिने जोखिम हुने चिकित्सकहरू बताउँछन्।
पौडेलमा देखिएको स्वास्थ्य समस्या समाधानका निम्ति एन्टिबायोटिक चलाइएको थियो। उनलाई थप उपचारका लागि वैशाख ६ गते भारत लगिएको थियो। त्यसै दिन भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना भएका थिए। पौडेलसँगै उनका निजी चिकित्सक डा. बमसहित सात सदस्यीय चिकित्सकको टोली र परिवारका सदस्य भारत गएका थिए।
नेपालमै सम्भव हुने उपचारका लागि राष्ट्रपति पौडेल विदेश गएको भन्दै उनको आलोचना पनि भएको थियो। उपचारका लागि भारत जाने उनको निर्णयलाई लिएर सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरू डा. अनिल बराल, डा. रामेश कोइराला लगायतले प्रश्न उठाएका थिए। राष्ट्रपति पौडेलले भने आफूलाई इच्छा नभए पनि 'परिवारको दबाबका कारण उपचारका लागि भारत जान बाध्य भएको' बताएका थिए।
उपचारपछि गत वैशाख १७ गते राति उनी स्वदेश फर्किएका थिए। तर, भारतबाट फर्किएको १६ दिन बितिसक्दा पनि राष्ट्रपति पौडेलको स्वास्थ्यमा अपेक्षाअनुसार सुधार नआएको राष्ट्रपति कार्यालय स्रोतले बतायो।
“उहाँ (राष्ट्रपति)लाई पुनः संक्रमण नफैलियोस् भन्नेमा चिकित्सकसँगै परिवारका सदस्यले पनि उच्च सर्तकता अपनाउनु भएको छ। उहाँलाई स्वस्थ खाना खान, कम बोल्न, भिडभाडमा नजान, अत्यावश्यक कामबाहेक बाहिरका मानिसलाई नभेट्न चिकित्सकले सुझाव दिनु भएको छ,” शीतल निवासस्रोतले भन्यो।
राष्ट्रपति पौडेलका निजी चिकित्सक डा. बमले भने उनको स्वास्थ्य अवस्थाबारे आफूले अहिले केही बोल्न नमिल्ने बताए। “उहाँको स्वास्थ्य कस्तो छ भनेर मैले सार्वजनिक रूपमा बोल्न मिल्दैन। राष्ट्रपति कार्यालयले जे भनेको छ त्यही नै हो,” उनले भने।
राष्ट्रपति पौडेल जेठ ५ गते संघीय संसदमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम वाचन गर्न तयार भए पनि स्वास्थ्यका कारण बीचमा असहज भएको अवस्थामा विकल्पस्वरूप प्रधानमन्त्रीले वाचन गर्ने तयारी भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। सकेसम्म राष्ट्रपति आफैले नीति तथा कार्यक्रमको पूर्ण पाठ वाचन गर्ने, नसकेमा मात्र प्रधानमन्त्रीले साथ दिने गरी छलफल भइरहेको उनको भनाइ छ।
“हामीकहाँ नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्ने चलन छ। अहिले राष्ट्रपतिको स्वास्थ्यमा पूर्णरूपमा सुधार आइसकेको छैन। राष्ट्रपतिले वाचन गर्न सके राम्रै हुन्छ। वाचन गर्दागर्दै राष्ट्रपतिलाई गाह्रो हुने स्थिति आयो भने प्रधानमन्त्रीले पढ्ने तयारी भएको छ,” लेखकले भने।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने सरकारको नीति तथा कार्यक्रम वाचन गर्न राष्ट्रपति तयार रहेको बताए। उनले भने, “सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति तयार हुनुहुन्छ। उहाँ आफैँले नीति तथा कार्यक्रम वाचन गर्ने भन्ने खबर मुख्यसचिवकहाँ पठाइसक्नु भएको छ।”
अस्वस्थताका कारण राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन नगर्ने भन्ने कुरा हल्ला मात्रै भएको पोखरेलले बताए। “हामीकहाँ सत्यतथ्य नबुझी हल्ला गर्ने प्रवृत्ति झाँगिएको छ। राष्ट्रपति नीति तथा कार्यक्रम वाचन गर्न तयार हुनुहुन्छ। त्यसैअनुसार मुख्यसचिवको कार्यालयमा खबर पठाइएको छ,” पोखरेलले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
