शिक्षण छाडेर सन्तोषले मसाज ‘क्लिनिक’मा काम थाले। त्यो पनि छाडेर आठ वर्ष राष्ट्रिय टोलीबाट दृष्टिविहीन क्रिकेट खेल्दा खेलाडी साथीहरूको मसाज गरिदिन्थे। अहिले क्रिकेट चटक्क छाडेर मसाजमै फर्किएका छन्।
काठमाडौँ– सन्तोष सापकोटा (३६) ले बाल्यकालमा अन्य बालबालिका झैँ कुद्ने, उफ्रिने, बारीका अग्ला डिलबाट सिनेमामा झैँ हाम फाल्ने, साइकल चलाउने, रूख चढ्ने गर्थे।
ठूलो भएपछि उनको जे बन्ने सपना थियो, त्यो पूरा गर्ने कोशिश गरे। तर, जन्मजात गुमेका दृष्टिले त्यो सपना पूरा हुन दिएन। उनको सपना फेरियो। अब शिक्षक बन्ने भए।
“म अन्य साथी झैँ कुद्ने, दौडिने र साइकल चलाउने र रूख चढ्ने पनि गर्थें। तर, फरक क्षमता भएपछि सबै कुरा रहर गरेर पनि नहुने रहेछ। अनि, शिक्षक बनेँ र केही समय पढाएँ,” सन्तोषले भने, “सधैँ अरूको भर पर्नु परेपछि त्यो पेसा पनि छाडिदिएँ र मसाज गर्नतिर लागेँ।”
तारकेश्वर नगरपालिका–५ काठमाडौँमा जन्मेका उनका पाँच दाजुभाइमध्ये दुई जना जन्मजात दृष्टिविहीन छन्, साइँला दाइ र उनी।
बाबु प्रहरीमा जागिरे थिए। बाबु लोकनाथ र आमा शान्ताले उनलाई नजिकैको विद्यालयमा पढाए। उनका बाबुले तत्कालीन राजा वीरेन्द्रबाट अनुमति ल्याएर पढ्ने वातावरण मिलाइदिएका थिए। तर, पढ्न कहाँ सजिलो हुन्छ र? ब्रेललिपिमा सबै पुस्तक पाइँदैन थियो। सुनेकै भरमा उनले जसोतसो एसएलसी पास गरे।
विद्यालय शिक्षा सकिएपछि उनी भक्तपुर सानोठीमीस्थित शिक्षा संकायमा भर्ना भए। अडियोबाट पढ्ने सुविधा पाएका उनलाई शिक्षक बन्छु भन्ने लाग्यो। शिक्षण अभ्यासका क्रममा उनले पढाउने मौका पनि पाए। तर, उनी अरू केही गर्न चाहन्थे।
“आफ्नै क्षमतामा काम गर्न सके त्यसबाट आत्मा सन्तुष्टि मिल्दो रहेछ तर, स–सानो काममा अरुको मद्दत लिनुपर्दा असन्तोष लाग्ने रहेछ,” उनी भन्छन्, “गृहकार्य र कपी चेकजाँच गर्न अन्यको भर पर्नुपर्ने भएपछि मलाई विकल्प खोज्नुपर्छ जस्तो लाग्यो। र, खोज्न थालेँ।”
मसाजले फेरिएको जीवन
आफ्नै भरमा उभिनुपर्छ भन्ने सोच बलियोसँग आउन थालेपछि शिक्षक पेसा त्यागे। विकल्प खोज्दै जाँदा, संयोग नै मान्नुपर्छ बेलायती नागरिक रब ह्यान्ड सु हान लीबारे थाहा पाए।
ती बेलायती नागरिक दृष्टिविहीनको क्षमता अभिवृद्धि तालिम दिन्थे। सिङ ह्यान्स ब्लाइन्ड मसाज क्लिनिक पोखरा र काठमाडौँमा खोलेर समाजसेवा गर्न चाहन्थे।
सन् २०१० तिर सन्तोष स्नातक दोस्रो वर्ष पढ्दै थिए। हान लिबारे थाहा पाएपछि उनलाई भेट्न र स्पोट्स मसाज तालिमबारे बुझ्न ठमेल पुगे। त्यतिखेर हान लिले उनलाई बेलायतबाट सम्बन्धन प्राप्त संस्थाबाट तालिम प्रमाणित गराउने वचन दिए। उनलाई पनि ‘ढुङ्गा खोज्दा देउतै’ मिले झैँ भयो। उनी उस्तै क्षमता भएका साथीहरूसँग तालिम लिन थाले।

तर, मेडिकलको भाषा बुझ्न उनलाई कठिन लाग्यो। मानव शरीर बनोट विज्ञान र शरीर क्रिया विज्ञानको पाठ्यक्रम पढ्नुपर्ने, त्यसमा मसल, हड्डी, नसा, पाचन प्रणाली लगायत शरीरका विभिन्न प्रणालीबारे सबै ज्ञान लिन अनिवार्य थियो।
चिकित्सा सम्बन्धी सबै ‘ट्रम’ ल्याटिन भाषामै हुन्थे। सन्तोषलाई शुरूमा पढ्न निक्कै असहज भयो। उनी भन्छन्, “सामान्य मानिसले आँखाअगाडिको कुरा देखिरहेको हुन्छ। उनीहरूको ध्यान कोही आउने बित्तिकै त्यतैतिर मोडिन्छ। तर, हामीले त आँखाले देख्नुपर्ने कुरा कानले सुन्नुपर्छ। त्यसैले ध्यान सबै पढाइमा हुने भएको कारण त्यसमा भिज्दै गएँ र सहज हुन थाल्यो।”
यो पेसामा १२ महिना नै ग्राहक पाइँदैन। विदेशी पर्यटक आउने समयमा काम गर्दा ६ महिना व्यस्त हुने र बाँकी ६ महिना काम कम हुने उनी बताउँछन्। उनका अनुसार मार्च, अप्रिल, मे, अक्टोबर, नोभेम्बर र डिसेम्बरबाहेक अन्य महिना खासै कमाइ हुँदैन।
उनकै समूहमा यो तालिम लिएका चार जनाले नियमित कमाइ नहुने देखेपछि पेसालाई अगाडि बढाएनन्। तर, सन्तोषले यो कामलाई पनि अगाडि बढाउँदै गए।
सन्तोष खेलाडी पनि हुन्। उनले पाँच वर्ष टेबुल टेनिस खेले। सन् २००६ देखि २०१४ सम्म नेपाल दृष्टिविहीन राष्ट्रिय टोलीमा आबद्ध भएर क्रिकेट पनि खेले।
सन् २००८ मा नेपालले नौ वटा मैत्रीपूर्ण क्रिकेट खेल खेल्न पाकिस्तान भ्रमणमा जाँदा २० सदस्सीय टोलीमा थिए। सन् २००९ मा बेलायतमा हुने विश्वकपको तयारीमा रहेको नेपाली टोलीले इस्लामावाद, कराँची र लाहोरलगायत विभिन्न शहरमा क्षेत्रीय टोलीसँग ७ एक दिवसीय र दुई टी–२० खेल खेलेको थियो। उनले सन् २०१४ मा एक विश्वकप र सन् २०१५ सम्म तीन वटा एशिया कप खेले।
तर, टोलीमा प्रत्येक पटक फिजियोको नाममा अर्कै व्यक्ति लगिन्थ्यो। यद्यपि, उनी टोलीका सदस्यसँगै थेरापिस्टको भूमिकामा पनि थिए। खेल सकिएपछि उनी थेरापिस्टको भूमिकामा हुन्थे। साथीहरूलाई थेरापी दिन उनी होटेलमा बसेका साथीकहाँ पुगिहाल्थे। यो सबै गर्दा टोलीमा रहेका अन्य खेलाडीको प्रदर्शनमा फरक हुने उनको अनुभाव छ।
“खेल नै खेलेर जीवन धान्न नसकिने रहेछ। यसमा समय पनि धेरै खर्चिनु पर्छ। परिवारमा संख्या बढेपछि सबै समय खेलमै दिन गाह्रो भयो। त्यसैले आयआर्जनको वैकल्पिक स्रोत खोजेँ,” उनी भन्छन्, “तर, क्रिकेट खेल्दा मेरो सानो प्रयासले पोजेटिभ इम्प्याक्ट पार्छ भने किन नगर्ने भन्ने हुन्थ्यो। त्यसैले म थेरापिस्टको भूमिकासमेत निर्वाह गर्दिन्थे।”
क्रिकेट खेल्न छाडेपछि उनको दैनिकी फेरियो। उनी त्यसपछि पुरानै पेसामा फर्किए। उनलाई फ्रान्समा यही पेसा अगाडि बढाउने अवसर पनि प्राप्त भएको थियो। तीनपटक उनले फ्रान्स जाने प्रयास गरे। तर, उनको भिसा अस्वीकृत भयो। त्यसपछि उनले आफ्नो कर्मथलो नेपाल नै बनाए।
समस्या भएपछि मात्र पुग्छन् नेपाली
अहिले मसाज कक्षमा पिँडौलाको मसल, ह्यामस्ट्रिङ मसल, कुममा जाम हुने, ढाडको तल्लो भाग दुख्ने, ‘डिस प्रोब्लम’ भएर नसा च्यापिने, घाँटी बायाँतिरबाट दायाँतिर तथा दायाँतिरबाट बायाँतिर फर्काउन नसक्ने समस्या लिएर आउने धेरै छन्।
“कतिपय मसलमा बढी मसाज गर्दा जाम हुन्छ। त्यसलाई सामान्यमा फर्किन समय लाग्छ। त्यसैले लगातार मसाज गराउन हुँदैन,” उनी भन्छन्। आएका कतिपय ग्राहक पहिलो मसाजबाटै सन्तुष्ट भएर ‘दोस्रो दिन फेरि गराउन मिल्छ?’ भनेर सोध्छन्। तर, लगातार मसाज गर्न नहुने उनको बुझाइ छ। मसललाई ‘रिल्याक्स’ हुन २४ देखि ४८ घण्टा लाग्ने उनी बताउँछन्।
हुन् त नेपाली समाजमा मसाजप्रति राम्रो दृष्टकोण छैन। धेरैले यसलाई यौन व्यवसायसँग जोडेर हेर्ने गरेका छन्। उनलाई पनि कतिपयले फोन गरेर ‘ह्यापी मसाज (यौन मसाज) पनि दिनुहुन्छ?’ भनेर सोध्छन्। त्यसमाथि समाजमा पुरुषले महिलाको शरीरमा छुन हुँदैन भन्ने धारणा भएको कारण पनि महिलाहरू मसाज गर्न नआउने उनको भनाइ छ।

“विदेशमा मसाजलाई हेर्ने दृष्टिकोण फरक छ, त्यहाँ शिक्षित धेरै छन्। हाम्रोमा पुरुषले महिलाको शरीरमा छुन हुँदैन भन्ने मान्यता राख्ने धेरै छन्। त्यसैले कम आउँछन्,” उनी सुनाउँछन्, “आउने प्रायः महिला र पुरुष शिक्षित घरानाका हुन्छन्। उनीहरू कतिपय आफ्नो परिचय दिन्छन् त कतिपय परिचय दिन रुचाउँदैनन्।”
उनका अनुसार स्पोट्स मसाज गर्ने पनि तरिका हुन्छ। एफ्लोराज, पेट्रिसाज, फिक्सन र टपोमेन्ट टेक्निक हुन्छ। त्यस टेक्निङमा हातका कुन औँला प्रयोग गर्ने र कुन हातको हत्केलालाई कसरी प्रयोग गर्ने भन्ने हुन्छ।
“मसाजमा सामान्यतया दुई हातको बूढी र माइली औँला र दुई हत्केला मात्रै प्रयोग गरिन्छ। सबै क्षेत्र हेरेर आफ्नै हातले छामेर उपचार गर्छौँ,” उनी भन्छन्।
सामान्यतया फिजियो थेरापीमा मेसिनको प्रयोग गरिन्छ। मेसिनले लचकता ल्याउँछ। तर, सबै शरीरका अंगमा मेसिन उपयुक्त हुँदैन। संवेदनशील अंगमा मेसिनले थेरापी गर्दा समस्या उत्पन्न हुने भएको कारण मसाज आवश्यक रहेको उनी बताउँछन्। “मान्छे भएको कारण मैले ग्राहकको पीडा त महसुस गर्न सक्छु नि त। मेसिनले गर्दा भन्दा हातले गर्दा कुन भागमा कति प्रेसर दिने भन्ने कुरा मान्छेले नियन्त्रण गर्न सक्छन्। अब बढी दुखेको ठाउँमा बढी प्रेसर दिने र कम दिनुपर्ने ठाउँमा कम दिन सकिन्छ। तर, मेसिनले त्यस्तो नगर्न सक्छ,” उनी भन्छन्।
अहिले नेपाल घुम्न आएका विदेशी पर्यटकहरू पनि मसाजको अनुभव लिन एक पटक सिङ ह्यान्ड्समा पुग्ने गरेका छन्। तर, नेपाली भने समस्या उत्पन्न भएपछि मात्रै आफू कहाँ आउने उनको भनाइ छ। उनले काम गरिरहेको क्लिनिकमा अहिले दुई दृष्टिविहीन महिला मसाजको प्रशिक्षण लिइरहेका छन्। उनीहरूलाई निशुल्क तालिम दिइएको उनले बताए।
“हामीसँग दुई उद्देश्य छन्। शिक्षित र बेरोजगार दृष्टिविहीनलाई रोजगार दिने र नेपाली समाजमा मसाज भन्ने बित्तिकै नराम्रो कुरा सोच्ने जमात छ। त्यस भ्रमलाई चिरेर मसाज भनेको स्वास्थ्यसँग सम्बन्धित विषय हो भन्ने बुझाउन चाहन्छौँ,” सन्तोष भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
किसन पाण्डे
