स्टक एक्सचेन्ज लाइसेन्स रोक्न प्रधानमन्त्रीको निर्देशन

बोर्डले गत असोज २ गते धितोपत्र बजार सञ्चालन गर्न इच्छुक कम्पनीका लागि ४५ दिनको समय दिएर आवेदन खुलाएको थियो। 

काठमाडौँ– प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टक एक्सचेन्ज लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएका छन्।

निश्चित समूहलाई फाइदा हुनेगरी नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिएको भन्दै विरोध भएपछि प्रक्रिया अघि नबढाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

नेपाल धितोपत्र बोर्डले‍ स्वार्थ समूहको प्रभावमा लाइसेन्स दिन लागेको भन्दै संसद्‌मासमेत विरोध भएको थियो। बोर्डले गत असोज २ गते धितोपत्र बजार सञ्चालन गर्न इच्छुक कम्पनीका लागि ४५ दिनको समय दिएर आवेदन खुलाएको थियो।

उक्त निर्णय बदरको माग गर्दै अधिवक्ता दीपकविक्रम मिश्रले असोज ३१ गते सर्वोच्च अदालतमा रिट  दायर गरेका थिए। रिटमाथि कात्तिक ४ मा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दियो।

चैत २६ गते न्यायाधीशहरू अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले पूर्ण सुनुवाइ गर्दै रिट खारेज हुने फैसला गरेपछि बोर्डले प्रक्रिया अघि बढाएको थियो। नेशनल स्टक एक्सचेन्ज, अन्नपूर्ण स्टक एक्सचेन्ज र हिमालयन एक्सचेन्जले आवेदन दिएका थिए।

बोर्डले कानून मन्त्रालयका सहसचिव एवं बोर्ड सदस्य फणीन्द्र गौतमको संयोजकत्वमा मूल्यांकन समिति बनाएर प्रक्रिया अघि बढाएको थियो।