पाकिस्तानका विभिन्न शहरमा भएका प्रदर्शनका कारण त्यहाँ ट्राफिक जाम भएको छ। स्कुल र सार्वजनिक स्थानमा तोडफोड गरिएको छ। पूर्वप्रधानमन्त्री खानलाई सरकारले बेपत्ता बनाएको पीटीआईका नेताहरूले बताएका छन्।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा त्यहाँ प्रदर्शन चर्किएको छ। कश्मिर राजमार्ग, पन्जाव, कराँची, इस्लामाबादसहित विभिन्न शहरमा प्रदर्शन चर्किएको बताइएको छ।
करीब एक हजार जना खान समर्थक प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको बताइएको छ। प्रदर्शनका कारण प्रमुख शहरहरूमा ट्राफिक कम छ भने विद्यालय समेत बन्द गरिएका छन्।
पन्जाबमा शान्ति कायम गर्न बाक्लो संख्यामा सेना तैनाथ गरिएको त्यहाँका आन्तरिकमन्त्रीलाई उधृत गर्दै पाकिस्तानी मिडियाले जनाएका छन्।
खान मंगलबार इस्लामाबाद उच्च अदालत बाहिरबाट पक्राउ परेका थिए। पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका अध्यक्षसमेत रहेका खानलाई पक्राउ गरिएको जानकारी इस्लामाबाद प्रहरीले विज्ञप्तिमार्फत दिएको थियो। इमरान खानलाई 'अल कादिर ट्रस्ट' मामिलामा गिरफ्तार गरिएको भनिएको थियो।
पाकिस्तानका योजना तथा विकास मन्त्री आहसन इक्बालले इमरान खान राजनीतिक प्रतिशोध पीडित नभएको, बरु उनलाई भ्रष्टाचारका लागि जवाफदेही बनाउन पक्राउ गरिएको बताएका छन्। बुधबार इस्लामावादमा पत्रकार सम्मेलन गर्दै इक्बालले खानको समर्थनमा प्रदर्शनकारीले विद्यालयमा आगजनी गर्ने र सरकारी सम्पत्तिमा क्षति पुर्याउने काम गरेको भन्दै आलोचना गरे।
खानको मुद्दामा बुधबार नै सुनुवाइका लागि प्रहरीले गेस्ट हाउसलाई ‘कोर्टरुम’ घोषणा गरेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। भ्रष्टाचार र राजद्रोहसम्बन्धी दर्जनौँ मुद्दाको सामना गरिरहेका खानले यी सबै राजनीति प्रतिशोधका कारण भएको भन्दै आरोपको खण्डन गर्दै आएका छन्।
पीटीआईका अर्का नेता असाद उमारलाई पनि इस्लामाबाद हाइकोर्ट आईएचसी परिसरबाट पक्राउ गरिएको खबर बाहिरिएको छ। पीटीआई नेता शाह महमुद कुरेशीले आफूलाई समेत पक्रने प्रयास भइरहेको, तर अहिले सुरक्षित स्थानमा रहेको बताएको पाकिस्तानी पत्रिका डनले जनाएको छ।
उनले छोटो भिडिओ ट्विट सार्वजनिक गर्दै भनेका छन्, "असाद उमार साहिबलाई पक्रन उनीहरू सफल भए, तर म अदालतको बाहिरबाट भागेँ। अहिले म सुरक्षित स्थानमा रहेर भिडिओ बनाएको हुँ।"
साथै, कुरेशीले इमरान खानलाई अवैध तबरले हिरासतमा लिएको दाबी गर्दै उनलाई राखिएको इस्लामावादस्थित जी-११ क्षेत्रबाहिर प्रदर्शन गर्न समर्थकहरूलाई आग्रहसमेत गरेका छन्।
खान गिरफ्तार भएपछि अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र खानका समर्थक र सुरक्षाकर्मीबीच झडपको स्थिति सिर्जना भएको पनि बताइएको छ।
पीटीआईको नेताहरूले इमरान खानलाई भेट्न पाउनुपर्ने बताइरहेका छन्। पीटीआईको आधिकारिक ट्विटर ह्यान्डलमा भनिएको छ, “पीटीआईका नेतालाई खानसँग भेट्न दिइनुपर्छ। जंगली शासन भएको हाम्रो देशमा लोकप्रिय नेतालाई यस प्रकारको व्यवहार गरिएको छ। पाकिस्तानी जनताले उनी सुरक्षित भएको हेर्न चाहन्छ, सरकार पनि पाकिस्तानी जनताको इच्छाअनुसार चल्नुपर्छ।"
तेहरिक-ए-इन्साफ पार्टीका नेता फवाद चौधरीले खानलाई अदालत परिसरबाट अज्ञात स्थानतर्फ लगिएको बताएका छन्। खानको पछिल्लो अवस्थाबारे पाकिस्तान सरकारले केही बताएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
