राष्ट्रिय टोलीबाट खेलिसकेका सहित ४० भन्दा बढी खेलाडी विदेशिएपछि यो सिजन घरेलु लिगमा रेलिगेसन जोनका पुलिस, फ्रेन्ड्स र खुमलटार होस् वा उपाधि होडका चर्च ब्वाइज र जावलाखेल, सबै विदेशी खेलाडीकै भरमा छन्।
काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिगको अघिल्लो सिजन पाँचौँ स्थानमा रहेको मनाङ मर्स्याङ्दीको लक्ष्य यसपटक पनि त्यही स्थानमा टिक्ने थियो। तर, सात खेलसम्म अपराजित रहेर १५ अंक जोडेपछि मनाङको महत्त्वकांक्षा फेरियो। आठपटको ‘च्याम्पियन’ मनाङको लक्ष्य अब नवौँपटक च्याम्पियन बन्ने थियो।
तर, त्यसपछि मनाङको प्रदर्शन खस्कियो। उसले इतिहासमा नै पहिलोपटक लगातार ६ हार बेहोर्यो।
गएको बुधबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पन्छाउँदै मनाङले हारको श्रृंखलामा पूर्णविराम लगाएको छ। दोस्रो हाफको ‘इन्जुरी’ समयमा कोफी टिमोथी कौडोले गरेको गोल नै निर्णायक बनेको थियो। हाल १४ खेलबाट १८ अंक जोड्दै मनाङ लिगको छैटौँ स्थानमा छ।
मनाङको यो उतारचढावपूर्ण स्थिति सम्हालेर अघि बढाउन विदेशी खेलाडीको भूमिका महत्त्वपूर्ण छ। जारी लिगमा बुधबार पाँचौँ जितपछि मनाङका गोलकिपिङ प्रशिक्षक प्रवीण खन्छे श्रेष्ठले भनेका थिए, “हाम्रो प्रदर्शन यो स्तरको होइन, तर लगातारको हारपछि खेलाडीमा खिन्नता थियो।”
उनले भनेजस्तै मनाङको स्तर यो थिएन। मनाङमा प्रायः राष्ट्रिय टोलीका खेलाडीको दबदबा हुन्थ्यो। पछिल्लोपटक २०७५ सालको लिग जित्दा यू–२३ बाट खेलिसकेका गोलरक्षकद्वय दीप कार्की र विशाल श्रेष्ठ, राष्ट्रिय टोलीका डिफेन्डर देवेन्द्र तामाङ, मिडफिल्डर आशिष लामा तथा विशाल राई, फरवार्डहरू अन्जन विष्ट, अभिषेक रिजाल र सुजल श्रेष्ठ टिममा थिए। मनाङले १३ मध्ये १२ खेल जितेको थियो।
विशाल श्रेष्ठ, विशाल राई, अभिषेक र सुजलले अर्को सिजन क्लब छाडेपछि मनाङ कमजोर बन्दै तेस्रो स्थानमा खुम्चियो। यसपटक कप्तान दीपबाहेक अधिकांश खेलाडी नयाँ छन्। त्यसैले विदेशी खेलाडीकै भरमा लिगको पाँचौँ स्थानमा यथावत् रहने योजना बनाएको थियो।

मनाङमा अहिले भारतीय लेफ्ट विंगर यश महत्रे, नाइजेरियाका सेन्ट्रल ब्याक ओलुवाशिना अजिज, उज्वेकिस्तानका लेफ्ट विंगर सइदजामोल दाभलात्जोनोभ आबद्ध छन्। त्यस्तै, सेनेगल र क्याटलान क्लब बार्सिलोनाबाट खेलिसकेका डिफेन्सिभ मिडफिल्डर डिआवान्डोउ डिआग्ने र टोगोका सेन्ट्रल फरवार्ड कोफी पनि टिममा छन्।
कोफीले जारी लिगमा मनाङको लागि ६ गोल गरिसकेका छन्। त्यस्तै सइदजामोलले तीन गोल गरेका छन्। डिआग्नेले पनि प्रभावशाली खेल देखाइरहेका छन्। मनाङका तत्कालीन प्रशिक्षक किरण श्रेष्ठ भन्छन्, “हामीसँग बलियो टोली छैन। तर, डिआग्नेजस्ता युरोप र अन्य स्थानमा फुटबल सिकेर आएका खेलाडी छन्। उनीहरू मैदान उत्रिँदा र नउत्रिँदा धेरै फरक हुन्छ। हामी उनीहरूमै निर्भर छौँ।”
मनाङको लगातारको हारपछि प्रशिक्षक श्रेष्ठले राजीनामा दिइसकेका छन्। मनाङले वैशाख २३ गते विष्णु गुरुङलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ।
लिगमा कति छन् विदेशी खेलाडी?
नेपालबाट विदेशिने फुटबलरको संख्या ठूलो छ। राष्ट्रिय टोलीबाट खेलिसकेका ४० भन्दा धेरै खेलाडी बिदेसिइसकेका छन्। त्यसैले लिग उपाधिको होड मात्र होइन रेलिगेसनबाट जोगिने होडमा पनि विदेशी खेलाडीको प्रदर्शन महत्त्वपूर्ण हुने देखिएको छ।
विभागीय टोली एपीएफका प्रशिक्षक रत्नकाजी महर्जन जारी लिगमा विदेशी खेलाडी निर्णायकजस्तै देखिएको बताउँछन्। “विदेशी खेलाडीको खेल नै लगभग निर्णायक पक्ष हो। जुन क्लबको विदेशी खेलाडीले राम्रो प्रदर्शन गर्छ, त्यसले लिग जित्छ,” उनले भने।
एपीएफले पनि लिग जित्नकै लागि माली, क्यामरुन, चाड र जापानका खेलाडी अनुबन्ध गरेको महर्जनको भनाइ छ। “हाम्रो टार्गेट नै यसपटक लिग जित्ने, नसके टप थ्रीमा पुग्ने भन्ने हो। हामीसँग ब्यालेन्स टिम छ, त्यसमा विदेशी राख्यौँ भने राम्रो प्रदर्शन गर्न सक्छौँ भनेर विदेशीलाई ल्याएका हौँ। अहिले उनीहरूले राम्रो प्रदर्शन गरिरहेका छन्,” उनी भन्छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ प्रावधान अनुसार सबै क्लबलाई पाँच विदेशी खेलाडी अनुबन्ध गर्न अनुमति छ। जसमध्ये दक्षिण एशियाबाट कम्तीमा एक जना र एशियाली मुलुकबाट कम्तीमा एक जना हुनै पर्ने प्रावधान छ।
यो पनि: अन्धकारतर्फ फुटबलः अनिश्चित बन्यो ‘बी’ डिभिजन, पिरामिड संरचना भत्कने जोखिम
अघिल्लोपटक एपीएफले चार कोटा प्राप्त गर्दा तीन विदेशी खेलाडी अनुबन्ध गरेको थियो। उसले अघिल्लो सिजन एपीएफबाटै खेलेका चाडका मिडफिल्डर अर्मान्ड बिडोङ, क्यामरूनी फरवार्ड अब्दु रमानी र जापानी गोलरक्षक युया कुरियालाई यसपटक पनि निरन्तरता दिएको छ। यस्तै, मालीका अट्याकिङ मिडफिल्डर एडम डोम्बियालाई थप गरिएको छ।

प्रशिक्षक महर्जन भन्छन्, “पेपर वोर्कले गर्दा विदेशी खेलाडी भित्र्याउन अलिक समय लाग्यो। अहिले विदेशी खेलाडीले पनि राम्रो गरेपछि टाइटल होप बढेको छ।”
अहिले आर्मीबाहेक १३ वटा टोलीले दक्षिण एशियाली मुलुकका १० तथा अन्य एशियाली देशका १३ सहित ६२ विदेशी खेलाडी अनुबन्ध गरेका छन्। त्यसमध्ये मछिन्द्रबाट खेलेका भारतीय खेलाडी दयानन्द सिंह केही खेलपछि स्वदेश फर्किएका छन्। सिंहको ठाउँमा मछिन्द्रले भुटानका कप्तान चेन्चो ग्याल्सेनलाई ल्याएपछि उनी फर्किएका हुन्।
विदेशी खेलाडीलाई दिने रकमबारे क्लबले खुलाउने गरेका छैनन्। यद्यपि, एक सिजनका लागि प्रतिखेलाडी मासिक १ हजारदेखि ३ हजार डलरसम्म दिने गरी विदेशी खेलाडी अनुबन्ध गरेको क्लब स्रोतहरूले जनाएका छन्। यी खेलाडीले अग्रपंक्ति र रक्षापंक्ति या गोललाइन नै किन नहोस्, सबै स्थानमा सशक्त प्रदर्शन गरेका छन्।
प्रायः खेलमा सुखद नतिजा ल्याउन घरेलु खेलाडीका तुलनामा विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेको लिगका निर्देशक सञ्जीव मिश्र बताउँछन्। अफ्रिकी मुलुकबाट आएका खेलाडीको फिटनेसदेखि मिहिनेत गर्ने बानीले पनि उनीहरूको प्रदर्शन राम्रो देखिएको मिश्रको भनाइ छ।
“प्रशिक्षणमा कडा मिहिनेत गर्ने कारण विदेशी खेलाडी राम्रा देखिएका हुन्। नेपाली खेलाडी कमजोर छन् भन्ने होइन, तर अफ्रिकी मूलका खेलाडीको जिउडाल र फिटनेस राम्रो भएकाले पनि बढी एक्टिभ छन्,” मिश्र भन्छन्।
२०७५ देखि २०७९/८० सम्मका पछिल्ला तीन लिगलाई हेर्ने हो भने १३ क्लबले १३५ विदेशी खेलाडी अनुबन्ध गरेका छन्। त्यसमध्ये १२० जना अफ्रिकी मुलुकबाट आएका छन्। तीमध्ये ४९ नाइजेरियाली, ३५ क्यामरूनी र सात जना आइभरी कोस्टका छन्। गुयना, केन्या, माली, साउथ अफ्रिका, लिसथो, सेनेगल, टोगो, घाना र चाडका खेलाडी पनि छन्।

यसरी आबद्ध भएका केही खेलाडी एकदुई सिजन नेपालको लिग खेलेर अन्य देश पुग्छन्। केही नेपालकै क्लबहरूमा घुमिरहेका हुन्छन्। अघिल्लो सिजन विभागीय टोली एपीएफबाट खेलेका जापानी गोलरक्षक कुरियामा, बिडोङ र रमानीसहित मछिन्द्रका डिफेन्सिभ मिडफिल्डर आन्द्रे निया र हिमालयन शेर्पाका सेन्ट्रल फरवार्ड पिस्टन मुताम्बामात्रै यस सिजन तिनै क्लबमा खेलिरहेका छन्। अन्य केही खेलाडीले क्लब परिवर्तन गरेका छन्।
केही विदेशी खेलाडीले भने नेपालमै नाम चम्काएका छन्। अफिज ओलावाले, स्टेफन जुनियर, मेत्सुके ओलोमोउ, स्टेफन बियोङजस्ता नाम नेपाली दर्शकका लागि परिचित भइसकेका छन्।
छायामा नेपाली खेलाडी
थ्री स्टारले मेघराज केसीलाई फर्काएपछि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ यसै वर्ष फ्रेन्ड्स क्लब पुगेका थिए। लिगको पहिलो खेलमै जित निकाल्ने लक्ष्य बुनेर त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान उत्रिएका श्रेष्ठलाई पहिलो गाँसमै ढुंगा लाग्यो। लिगको उद्घाटन खेलमै खुमलटारका विदेशी खेलाडी मेत्सुके ओलोमोउले ८९औँ मिनेटमा गोल गर्दै फ्रेन्ड्सबाट अंक खोसे।
विदेशी खेलाडी हाबी हुँदा नै खुमलटारले अंक खोसेको फ्रेन्ड्सका मुख्य प्रशिक्षक श्रेष्ठ बताउँछन्। उनी भन्छन्, “खेलको स्तर समान थियो। तर, उसका दुई विदेशी खेलाडी मेसुके र विनोङ अत्यधिक हाबी भइरहे। विशेष गरी दोस्रो हाफमा हामीमाथि दबाब सिर्जना गरे। तर, खुमलटारका अरू खेलाडीको प्रदर्शन हाम्रोभन्दा राम्रो थिएन।”
अन्य क्लबका विदेशी खेलाडीकै कारण फ्रेन्ड्स क्लब रेलिगेसन क्षेत्रमा छ। मनाङसँग २–०, नेपाल पुलिससँग ३–१ र मछिन्द्रसँग २–१ गोलअन्तरले हार्दा फ्रेन्ड्सविरुद्ध कोफी, मोसेस ग्याबाह र चेन्चो ग्याल्सेनले गोल गरेका छन्।

पहिलो खेलमा फ्रेन्ड्सले उज्वेकिस्तानका अक्रोरबेक उक्तामोभ र सिक्किमका उत्तम राईलाई मात्रै मैदान उतारेको थियो। दोस्रो खेलमा खेलमा थ्री स्टारलाई ३–३ गोलको बराबरीमा रोक्दा उनै उक्तामोभ निर्णायक बने। त्यसयता मनाङलाई ६–० गोलअन्तरले पराजित गर्दा होस् या एनआरटीलाई ३–१ गोलअन्तरले पराजित गर्दा नै किन नहोस् फ्रेन्ड्सका उक्तामोभ, राफिक एमिनु, टोरिच जेब्रिन र उत्तम नै हाबी भइरहेका छन्।
उनीहरूको प्रदर्शनअगाडि कप्तान तथा फरवार्ड प्रकाश बुढाथोकी ओझेलमा छन्। फ्रेन्ड्सका लागि घानाका सेन्ट्रल फरवार्ड एमिनुलले १२ खेलमा आठ गोल गरिसकेका छन्। २३ वर्षीय एमिनु जर्जियामा फुटबल खेलेर आएका हुन्।
घानाकै अट्याकिङ मिडफिल्डर टोरिकले पनि ४ गोल गरेका छन्। करिअरको उत्तरार्ध पुगेका ३२ वर्षीय टोरिकसँग साउदी अरेबियाको लिगको अनुभव छ।
रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेको खुमलटारलाई पनि विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनको आशा छ। पहिलो खेलमा फ्रेन्ड्सलाई पराजित गर्दै ‘ए’ डिभिजन लिगमा शानदार डेब्यू गरेको खुमलटार त्यसपछि चर्च ब्वाइज र थ्रीस्टारसँग निरीह देखियो। थ्रीस्टारसँग २–० र चर्च ब्वाइजसँग २–१ गोलअन्तरले पराजित भयो।

चर्च ब्वाइजसँग पराजित खेलमा सान्त्वना गोल उनै मेसुकेले गरे। खुमलटार हाल १५ खेलबाट ५ जित दुई बराबरी र आठ हारसहित १७ अंक जोडेर अंक तालिकाको रेलिगेसन जोनमा छ। तर, खुमलटारका २५ वर्षीय क्यामरूनी लेफ्ट मिल्डफिल्डर मेसुके जारी लिगमा सर्वाधिक गोल गर्ने सूचीको शीर्ष स्थानमा छन्। उनले हालसम्म १२ गोल गरिसकेका छन्। क्यामरुनको यू–१७ टोलीबाट खेलिसकेका मेसुकेले नेपाली राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्ट र रेजिन सुब्बालाई समेत छायामा पारेका छन्।
जारी लिगमा सातदोबाटोका दीपकसिंह ठकुरी, एनआरटीका सञ्जीव विष्ट र जिलेस्पीजंग कार्की मात्रै सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष १० भित्र अटाएका छन्। ठकुरीले १० गोल गर्दा सञ्जीवले ६ र जिलेस्पीले पाँच गोल गरेका छन्। शीर्ष १० भित्र यसपटक क्यामरून, घाना, नाइजेरिया, लुसथो, गुयना र टोगोका खेलाडीबीच प्रतिस्पर्धा छ।
अघिल्लो सिजनमा भने स्थिति फरक थियो। शीर्ष १० गोलकर्तामा अहिले मछिन्द्रबाट संकटा पुगेका सुनिल बल, मनाङबाट खुमलटार पुगेका अन्जन विष्ट, एपीएफका आशिष लामा, एपीएफकै बिक्की तामाङ, मछिन्द्रका विमल घर्तीमगर, एनआरटीका दर्शन गुरूङ, आर्मीका जर्जप्रिन्स कार्की र सुमन लामा थिए। उनीहरूले सिंगल राउन्ड रोबिनमा चारदेखि ६ गोल गरेका थिए। अहिले सुमन, दर्शन, सुनिल र आशिष अस्ट्रेलिया छन्। अन्यले भने लिग खेलिरहेका छन्।
राष्ट्रिय टोलीका सहायक प्रशिक्षकसमेत रहिसकेका एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्य यसपटक समान टोली भएको कारण विदेशी खेलाडीको प्रदर्शनकै भरमा क्लबहरूले प्रतिस्पर्धा गरिरहेको बताउँछन्। पछिल्लो समय राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी अस्ट्रेलिया, न्यूजिल्यान्ड र यूएईजस्ता देशमा पलायन हुनु र युवा खेलाडी निखारिनै बाँकी रहेको कारण लिगमा नेपाली खेलाडी छायामा परेको जस्तो देखिएको उनको तर्क छ।
“हामीसँग केही उम्दा विदेशी खेलाडी छन्। तर, अन्य क्लबका खेलाडीले झैँ प्रदर्शन गर्न सकेका छैनन्। यो स्तरमा आएर विदेशी खेलाडीले राम्रो प्रदर्शन गर्न सक्दैनन् भने क्लबलाई रेलिगेसनको जोखिम हुन्छ। त्यसैले उनीहरूले नेपाली खेलाडीभन्दा राम्रो प्रदर्शन गर्नै पर्छ,” उनी भन्छन्।

खेलको स्तर उकास्न विदेशी खेलाडी!
इंग्लिस प्रिमियर लिग (ईपीएल) खेल्ने क्लबहरूले इंग्ल्यान्डका भन्दा विदेशी खेलाडीहरूलाई बढी टोलीमा प्राथमिकता दिएको र उनीहरूको प्रदर्शनले आफ्नै देशका खेलाडी छायामा परेको भन्दै विवाद उत्पन्न भइरहेको हुन्छ। तर, जतिसुकै विवाद र विरोध भए पनि ईपीएलमा त्यही देशको तुलनामा विदेशीकै दबदबा छ। हाल ईपीएल खेल्ने विदेशी खेलाडी ३७१ जना छन्।
ती क्लबले अधिकतम् २५ सिनियर खेलाडी अनुबन्ध गर्न पाउँछन्, जसमध्ये १७ जनासम्म विदेशी हुन्छन्। यद्यपि, इंग्ल्यान्डका यू–२१ खेलाडी भने आवश्यकताअनुसार राख्न पाउने प्रावधान छ। प्रिमियर लिगको चमक उनै विदेशी खेलाडीहरूले चम्काइरहेका छन्। थ्रीस्टारका मुख्य प्रशिक्षक मेघराज केसी कुनै पनि देशको लिग राम्रो हुन विदेशी खेलाडी नै चाहिने बताउँछन्।
“हामीले सुपरस्टार भन्ने गरेका खेलाडी खै त? को छन् त? अहिले सबैसँग भएको युवा खेलाडी हुन्। पहिला लिग खेल्नेहरू १४ वर्षदेखि खेल्दै आएका थिए। अहिले खेलाडी अभावले गर्दा अधिकांश २०/२२ वर्षका छन्,” उनी भन्छन्, “लिग खेल्न उत्तिकै राम्रा विदेशी खेलाडी आउँछन् भने त्यसको फाइदा नेपाली फुटबललाई नै हुने हो। नेपाली खेलाडीले सिक्ने अवसर पाउँछ, क्लबले बलियो प्रदर्शन गर्छ।”
लिग फुटबल खर्चालु भएको छ। अहिलेको लिगलाई मात्र भनेर प्रत्येक एउटा क्लबले दुई करोड रुपैयाँभन्दा माथि खर्च गरेको क्लबका पदाधिकारीहरूको दाबी छ। एन्फाले लिगको लागि तयारीका लागि प्रत्येक क्लबलाई ३२ लाख रुपैयाँ मात्रै दिन्छ। लिग जिते ७५ लाख, दोस्रो भए ५० लाख र तेस्रो भए २५ लाख पाउँछन्।
त्यसैले लिगमा राम्रो खेले दर्शक तान्न सकिने र प्रायोजक पनि पाउने हुँदा खर्च धान्न सकिने पुलिसका मुख्य प्रशिक्षक चेतन घिमिरे बताउँछन्। राम्रो प्रदर्शनकै लागि क्लबलाई बलियो पार्न नेपालीभन्दा विदेशी खेलाडी अनुबन्धमा बढी जोड दिनु परेको उनको भनाइ छ।
यो पनि: इतिहास भुलेको पुलिसलाई रेलिगेसनको डर!
कुनै बेला लिगको पाँच खेलसम्म अंक जोड्न नसकेको विभागीय टोली पुलिसले १५ खेलमा १५ अंक जोडेको छ। उसले यो चमत्कारी प्रदर्शन विदेशी खेलाडीकै बलबुतामा गरेको हो। विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेकोले क्लब बिस्तारै लयमा फर्किनेमा उनी आशावादी छन्। “हामीसँग लिग खेलिरहेका खेलाडी थिएनन्। सबै युवा खेलाडी नै थिए। त्यसैले नजिता राम्रो निकाल्न सकेनौँ,” उनी भन्छन्, “विदेशी खेलाडी अनुबन्ध गरेपछि छैटौँ म्याचपछि जित निकालेका थियौँ। अहिले विदेशी खेलाडीको प्रदर्शन राम्रो हुँदै गएको छ। हामी बिस्तारै लयमा फर्कँदै छौँ। टोलीको सन्तुलन मिलेको छ, रेलिगेसनबाट बच्छौँ।”
पुलिसलाई अझै पनि रेलिगेसनको डर छ। जारी लिगमा पुछारका एनआरटी, संकटा, पुलिस, फ्रेन्ड्स र खुमलटारबीच मात्र दुई अंकको फरक छ। यी क्लबलाई रेलिगेसनबाट जोगाउन अब विदेशी खेलाडीकै प्रदर्शनको भर छ। यसमा पुलिसका मुख्य प्रशिक्षक घिमिरे सहमत छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
