कञ्चनपुरमा गस्तीमा खटिएका सशस्त्रका सईमाथि खुकुरी प्रहार

दोधारा चाँदनी नगरपालिका–७ मा गस्तीमा खटिएका सशस्त्र प्रहरीका सई नरेन्द्र चैंसिरमाथि गएराति स्थानीय युवाले खुकुरी प्रहार गरेका छन्। 

काठमाडौँ– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ मा गस्तीमा खटिएका सशस्त्र प्रहरीका सईमाथि खुकुरी प्रहार भएको छ।

कञ्चन भोजस्थित बोर्डर आउट पोस्ट (बीओपी)का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए।

उनका अनुसार शुक्रबार राति साढे १० बजेतिर स्थानीय युवाको समूहले चैसिरमाथि खुकुरी प्रहार गरेका हुन्। “युवाहरू समूह होहल्ला गरिरहेको ठाउँमा गएर सम्झाउने क्रममा आक्रमण भएको रहेछ,”  डीएसपी डाँगीले भने, “उनको बायाँ पाखुरामा चोट लागेको छ।”

खुकुरी प्रहार गर्ने युवाहरू फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।