टी– २० विश्वकप : इङ्ग्ल्यान्ड सेमिफाइनलनजिक, श्रीलंका रेटरनरेटमा निर्भर

मंगलबार सम्पन्न खेलमा न्युजिल्यान्डलाई २० रनले हराउँदै इङ्ग्ल्यान्ड सेमिफाइनलनजिक पुगेको हो।

काठमाडौं– इङ्ग्ल्यान्डले आईसीसी टी२० विश्वकपमा सेमिफाइनलनजिक पुगेको छ।  मंगलबार सम्पन्न खेलमा न्युजिल्यान्डलाई २० रनले हराउँदै इङ्ग्ल्यान्ड सेमिफाइनलनजिक पुगेको हो।

जितको लागि १८० रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनायो। न्युजिल्यान्डको लागि प्लेन फिलिप्सले सर्वाधिक ६२ रनको योगदान दिए। उनले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। 

यता, कप्तान केन विलियम्सनले ४० बलमा ३ चौकासहित ४० रन बनाए। तेस्रो विकेटका लागि केन विलियम्सन र ग्लेन फिलिप्सले ९१ रनको उत्कृष्ट साझेदारी गर्दै एक समय जितको सम्भावना देखाएका थिए। तर, बेन स्टोक्सले आदिल राशिदबाट विलियम्सनलाई क्याच गराउँदै खेलमा फर्काए।

फिन एलेन र मिचेल सान्टनारले १६/१६ रन बनाए। इङ्ग्ल्यान्डका क्रिस वोक्सले र साम करनले २/२ विकेट लिए। मार्क वुड र क्रिस वोक्सले १/१ विकेट लिए।

त्यसअघि ब्रिस्बेनमा टस जितेर पहिला ब्याटिङ रोजेको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७९ रन बनायो। इङ्ग्ल्यान्डका जस बटलरले सर्वाधिक ७३ रनमा रन आउट भए। उनले ४७ बलमा ७ चौका र २ छक्का प्रहार गरे। त्यसअघि बटलरले दुईपटक जीवनदान पाएका थिए।

छैटौँ ओभरमा केन विलियम्सनले १२ रनमा जीवनदान दिएका थिए। त्यसपछि लोकी फर्गुसनको १३औँ ओभरको तेस्रो बलमा पुल सट खेलेका बटलरलाई ४० रनमा डर्याल मिचेलले डिप स्क्वायर लेगमा सहज क्याच छाडे।

ओपनर एलेक्स हेल्स र जस बटलरले पहिलो विकेटका लागि १०.२ ओभरमा ८१ रनको साझेदारी गर्दै राम्रो शुरुआत गरेका थिए। हेल्स ४० बलमा ७ चौका र १ छक्कासहित ५२ रनमा आउट भए। 

लियाम लिभिङस्टोन २० रनमा बोल्ड भए। बेन स्टोक्स ८, ह्यारी ब्रुक ७, साम करन ६ र  मोईन अलीले ५ ३ रन बनाए।

न्युजिल्यान्डका लोकी फर्गुसनले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए। टिम साउथी, मिचेल सान्टनार र ईश सोधीले १/१ विकेट लिए। 

अफगानिस्तान बाहिरियो, श्रीलंका रेटरनरेटमा निर्भर
मंगलबार नै सम्पन्न दिनको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानमाथि ६ विकेटको सहज जित हात पारेको छ। यो हारसँगै अफगानिस्तान जारी विश्वकपको सुपर–१२ बाट औपचारिक रुपमा बाहिरिने पहिलो टोली बनेको छ।

जितको लागि १४५ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। श्रीलंकाको जितमा धनन्जय डि सिल्भा सर्वाधिक ६६ रनमा अविजित रहे। उनले ४२ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

कुशल मेन्डिस २५, चरिथ असालांका १९ र भानुका राजपक्षे १८ रन बनाए। अफगानिस्तानका मुजिब उर रहमान र राशिद खानले २/२ विकेट लिए।

त्यसअघि ब्रिस्बेनमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनायो। अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाज सर्वाधिक २८ रन बनाए। उनले २४ बलमा २ चौका र २ छक्का प्रहार गरे। उस्मान घानीले २७ बलमा २ चौका र १ छक्कासहित २७ रनमा आउट भए।

इब्राहिम जद्रान २२ र नाजिबउल्लाह जद्रान १८ रनमा आउट भए। श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए। लाहिरु कुमाराले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए। कासुन रजिथा र धनन्जय डि सिल्भाले १/१ विकेट लिए।

सुपर–१२ को समूह ‘ए’ मा अफगानिस्तान ४ खेलमा २ मा हार र २ खेलमा अंक बाँड्दै पुछारमा रहेर बाहिरिएको छ। अफगानिस्तानले अब अन्तिम खेल अस्ट्रेलियासँग खेल्नेछ। श्रीलंकाले अन्तिम खेल शनिबार इङ्ग्ल्यान्डसँग खेल्नेछ।

इङ्ग्ल्यान्ड उक्त खेलमा फराकिलो अन्तरले विजयी भए सोझै सेमिफाइनलमा पुग्नेछ।

त्यस्तै, न्युजिल्यान्डले शुक्रबार आयरल्यान्डसँग खेल्नेछ। न्युजिल्यान्ड र अस्ट्रेलिया मध्य एक टोली पराजित हुँदा इङ्ग्ल्यान्ड अन्तिम जितले सोझै सेमिफाइनलमा पुग्नेछ। तर, इङ्ग्ल्यान्ड, अस्ट्रेलिया र न्युजिल्यान्ड सबै विजयी हुँदा शीर्ष दुई टोली नेटरनरेटमा निर्भर हुनेछ।

सुपर–१२ को समूह ‘ए’ मा न्युजिल्यान्ड ४ खेलमा २ जित र १ हारसहित ५ अंकका साथ शीर्षस्थानमा छ। इङ्ग्ल्यान्ड समान खेलमा २ जित, १ हार र एक बराबरीसहित ५ अंकको साथ रेटरनरेटका आधारमा दोस्रो स्थानमा छ। समान अंकका साथ अस्ट्रेलिया तेस्रो स्थानमा रहँदा श्रीलंका २ मा जित, २ मा हारसहित ४ अंक जोडेर चौथो स्थानमा छ।

आयरल्यान्ड ४ खेलमा १ मा जित, २ मा हार र १ खेलमा अंक बाँड्दै पाँचौं स्थानमा छ। अफगानिस्तान ४ खेलमा २ मा हार र २ खेलमा अंक बाँड्दै पुछारमा छ।