कोलकत्तासँग हैदराबाद ५ रनले पराजित

जितसँगै कोलकत्ता आठौँ स्थानमा उक्लिएको छ। पराजित हैदराबाद नवौँ स्थानमा छ।

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) कोलकत्ता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ।

गएराति राजिव गान्धी स्टेडियममा घरेलु टोली ५ रनले स्तब्ध बनेको हो।

१७१ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो।

हैदराबादका लागि कप्तान आइडन मरक्रमले ४० बलमा ४ चौकासहित ४१ रन बनाए। हेइनरिच क्लासनले ३६, अब्दुल समादले २१ तथा राहुल त्रिपाठीले २० रन बनाए। 

कोलकत्ताका वैभव अरोरा र शार्दुल ठाकुरले समान २/२ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७१ रन बनाएको थियो। 

कोलकत्ताका रिंकु सिंहले ४६ तथा कप्तान नितिश राणाले ४२ रन बनाए। यस्तै आन्द्रे रसेलले २४ रन बनाएका थिए। 

हैदराबादका म्याक्रो जनसेन र टी नटराजनले समान २/२ विकेट लिए।

जितसँगै कोलकत्ता आठौं स्थानमा उक्लिएको छ। पराजित हैदराबाद नवौँ स्थानमा छ।