एसीसी प्रिमियर कप : यूएई सेमिफाइनलमा, समूह विजेता बन्न हङकङ र कुवेतको खेल कुर्नुपर्ने

यूएई बहराइनलाई ८ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। समूहको विजेता बन्न भने यूएईले हङकङ र कुवेतबीच हुने खेल कुर्नुपर्ने भएको छ।

काठमाडौँ- यूएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। यूएईले बुधबार बहराइनलाई पराजित गर्दै समूह 'बी' को अंक तालिकामा तत्काललाई शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो।

यूएईले ६ अंक जोडेको छ।  दोस्रो स्थानमा रहेको हङकङको ५ र तेस्रो स्थानमा रहेको कुवेतको ४ अंक छ। समूहको अन्तिम खेलमा हङकङ र कुवेतले प्रतिस्पर्धा गर्नेछन्। यूएईले समूह विजेता बन्न भने यी दुई देशबीचको नतिजा कुर्नुपर्ने छ।

यूएईले चार खेलबाट ६ अंक जोडेको छ। यूएईले प्रतियोगिताको पहिलो खेलमा कुवेतलाई १४३ रनले पराजित गरेको थियो। तर, दोस्रो खेलमा भने यूएई हङकङसँग डीएल मेथडमा ६७ रनले पराजित हुन पुग्यो। तेस्रो खेलमा यूएईले सिंगापुरसँग २०१ रनको जित हासिल गर्दै सेमिफाइनल पुग्ने सम्भावना जीवित राखेको थियो।

यूएईले बुधबार प्रतियोगिताबाट बाहिरिसकेको बहराइनलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। बहराइनले दिएको ११७ रनको लक्ष्य पछ्याएको यूएईले २७.४ ओभरमा २ विकेट गुमाउँदै १२० रन बनायो।

ओपनरद्वय आर्यन लाक्रा र मोहम्मद वासिमलाई यूएईले नवौँ ओभरको दोस्रो बलमै गुमाएको थियो। कप्तानसमेत रहेका वासिम ७ बलमा १ रन बनाएर तेस्रो ओभरको पहिलो बलमा आउट भए। अर्का ओपनर आर्यन पनि १९ बलमा ५ रन बनाउँदै बाहिरिएका थिए।

दुवै ब्याटर अब्दुल माजिदको बलमा क्याच आउट भएका थिए। त्यसपछि वृत्य अरविन्द र रोहन मुस्तफाले ९९ रनको अविजित साझेदारी गर्दै यूएईलाई जित दिलाए। वृत्यले ८४ बलमा ५ चौका र १ छक्कासहित ६२ रनको अर्धशतकीय इनिङ्स खेले। रोहनले ५६ बलमा ५ चौका र १ छक्कासहित ५० रन बनाए।

त्यसअघि, मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बहराइनले ४०.५ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनाएको थियो। बहराइनका तल्लो क्रमका अली दाउद २३ रनमा अविजित रहे। उनले ४७ बलमा १ चौका र १ छक्का प्रहार गरे।

यता, कप्तान हैदर बट ४९ बलमा ४ चौका प्रहार गर्दै २३ रनमा आउट भए। ओपनर मोहम्मद योसिन १६, इमरान अनवर १४ र अब्दुल माजिदले ११ रन बनाए। बहराइनका दुई खेलाडी गोल्डेन डकआउट भए भने एक खेलाडी डकआउट भए। अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

यूएईका आयन खानले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ७ मेडनसिहत ६ रन खर्चिए।रोहन मुस्तफा र कार्तिक मयप्पनले २/२ विकेट लिए। जाहूर खानको नाममा भने १ विकेट रह्यो।

बहराइनले पहिलो खेलमा सिंगापुरलाई १३२ रनले पराजित गरेको थियो। दोस्रो खेलमा भने कुवेतसँग २ विकेटले पराजित भएको थियो। हङकङसँगको तेस्रो खेलमा भने वर्षा बाधक बन्दा अंक बाँडेको थियो। बहराइनले चार खेलबाट ३ अंक जोड्दै प्रतियोगिताको अन्त्य गरेको छ।