दृष्टिविहीन महिला क्रिकेट : भारतविरुद्ध विनीता पुनको ऐतिहासिक अन्तर्राष्ट्रिय शतक

नेपालको लागि विनीता पुनले विस्फोटक ब्याटिङ गर्दै ५७ बलमा अविजित रहँदै १११ रन प्रहार गरिन्।

काठमाडौँ– विनीता पुनको ऐतिहासिक अन्तर्राष्ट्रिय शतकसँगै नेपालले दृष्टिविहीन महिला क्रिकेट प्रतियोगितामा भारतलाई पराजित गरेको छ। मंगलबार सम्पन्न खेलमा नेपालले भारतलाई ८ विकेटले पराजित गरेको हो।

भारतले दिएको १७३ रनको लक्ष्य नेपालले १८औँ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको लागि विनीता पुनले विस्फोटक ब्याटिङ गर्दै ५७ बलमा अविजित रहँदै १११ रन प्रहार गरिन्।

उनको ब्याटबाट १७ चौका प्रहार भएको थियो। योसँगै उनी दृष्टिविहीन महिला क्रिकेटको इतिहासमा पहिले शतक बनाउने खेलाडी बनेकी छन्। त्यसैगरी मनकेशरी चौधरीले ३२ रन बनाइन्। यता, सरिता घिमिरे २१ रनमा अविजित रहिन्।

त्यसअघि पोखरामा क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो। भारतकी उपकप्तान गंगौभा निलप्पाले अविजित रहँदै सर्वाधिक ७२ रन बनाइन्। यस्तै, सिमु दासले २६, दिपिका टिसीले १६, वर्षा यूले १० र सुषमा पटेलले ९ रन बनाइन्।

नेपालकी विनीत पुन र निशा चौधरीले १/१ विकेट लिइन्। भारतका ५ खेलाडी भने रन आउट भएका थिए। मंगलबारदेखि शुरू भएको खेल वैशाख १७ गतेसम्म चल्नेछ। अर्को खेल बुधबार पोखरामा क्रिकेट मैदानमा हुने छ। बाँकी ३ खेल भने मूलपानी क्रिकेट मैदानमा हुनेछन्।