अस्ट्रेलियाका प्रधानमन्त्रीले सुरक्षा क्षेत्रमा बजेट वृद्धि, स्वदेशी हतियार निर्माण र लामो दूरीसम्म प्रहार गर्ने रकेट प्रणाली, गोलाबारुद निर्माण तथा भण्डारणसम्मका योजना अघि सारेका छन्।
अस्ट्रेलियाले देशको सुरक्षा रणनीतिमा व्यापक फेरबदल ल्याउने योजना अघि सारेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेसले राजधानी क्यानबेरास्थित पार्लियामेन्ट हाउसमा सोमबार ‘डिफेन्स स्ट्राटेजिक रिभ्यु’ सार्वजनिक गर्दै देशलाई आत्मनिर्भर र सुरक्षित बनाउन नयाँ रणनीति बनाइएको बताएका छन्।
“भविष्यले हामीलाई निर्धारण गरोस् भनेर पर्खनुभन्दा पनि भविष्य निर्धारणको आधार खोज्दै सुरक्षा स्थिति बलियो पार्नुपर्छ। समीक्षामा औँल्याइएका रणनीतिक निर्देशन र महत्त्वपूर्ण उपलब्धिले हाम्रो राष्ट्रिय सुरक्षालाई बलियो बनाउन र भविष्यमा आइपर्ने चुनौतीको सामनाका लागि तयार रहन सुनिश्चितता प्रदान गर्नेछ। हामी पुरानै मान्यताबाट पछि हट्न सक्दैनौँ,” प्रधानमन्त्री अल्बानिजको भनाइ थियो। हालैको सुरक्षा समीक्षा विश्वयुद्ध पछिकै महत्त्वपूर्ण र व्यापक दायराको भएको अल्बानिजले बताए।
अस्ट्रेलियाको उत्तरी सैन्य टुकडीको सञ्चालन क्षमता सुधार गर्ने र भारत र जापानसहित इन्डो प्यासिफिक क्षेत्रका महत्त्वपूर्ण देशहरूसँगको सुरक्षा साझेदारी गहन बनाउने जस्ता विषयहरू पनि सुरक्षा समीक्षामा समावेश छन्। अस्ट्रेलियाले दोस्रो विश्वयुद्धपछिकै महत्त्वपूर्ण सैन्य समीक्षा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
चीनको सैन्य संरचनाले क्षेत्रीय सुरक्षालाई चुनौती दिइरहेका बेला अस्ट्रेलियाले सुरक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि, स्वदेशी हतियार निर्माण र लामो दूरीसम्म प्रहार गर्ने क्षमताका गोलाबारुद स्वदेशमै उत्पादन तथा भण्डारणसम्मका योजना हालै सार्वजनिक समीक्षामा समावेश रहेको सीएनएनले जनाएको छ।
हालैको सुरक्षा समीक्षाले अस्ट्रेलिया, अमेरिका र बेलायतबीचको उकुस साझेदारीलाई समर्थन गर्दछ। जसअन्तर्गत गत मार्चमा अमेरिकी आणविक प्रविधिद्वारा सञ्चालित आठ वटा पनडुब्बीहरूको अस्ट्रेलियन फ्लिट बनाउने सम्झौता भएको थियो।
अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिसले समकालीन रणनीतिक वातावरणमा अस्ट्रेलियासँग आवश्यक प्रतिरक्षा क्षमता, मुद्रा र तयारी भए नभएको आकलन गर्न सरकारले पुनरावलोकन गरेको बताएका छन्।
दोस्रो विश्वयुद्धको अन्त्यपछि चीनको सैन्य क्षमता अन्य देशको भन्दा ठूलो र महत्त्वाकांक्षी’ भएको समीक्षामा उल्लेख छ। चिनियाँ रणनीतिक अभिप्राय रहेको इन्डो–प्यासिफिक क्षेत्रमा पारदर्शिता वा आश्वासनबिना नै सैन्य शक्ति बढाइरहेको अस्ट्रेलियाको समीक्षा छ। अहिलेको समीक्षा रणनीतिक परिस्थिति विगतको भन्दा मौलिक रूपमा भिन्न रहेको पनि सार्वजनिक प्रतिवेदनमा भनिएको छ।
समीक्षामा भनिएको छ, “८० वर्षमा पहिलो पटक हामी आधारभूत कुरामा फर्कँदै छौँ। हामीले सैद्धान्तिक विधि अपनाएर कसरी व्यवस्थापन गर्छौं र उच्चतम रणनीतिक जोखिमलाई कसरी पाखा लगाउँछौँ भन्ने कुरा हामीले एक देशका रूपमा सामना गर्दै छौँ। यस क्षेत्रका प्रत्याशित द्वन्द्वले राष्ट्रिय हितमाथि प्रत्यक्ष खतरा निम्त्याउँछ।”
सरकारले तत्काल सुरक्षा खर्चमा ७.८ अर्ब अस्ट्रेलियन डलर थप गर्ने योजना बनाएको पनि बताइएको छ।
यस्तै, अस्ट्रेलियाका रक्षा तथा उद्योगमन्त्री प्याट कोनरोयले नयाँ प्राथमिकतालाई ध्यानमा राख्दै लडाकु वाहनहरूको संख्या ४५० बाट घटाएर १२९ बनाइएको जानकारी दिएका छन्। ती वाहनहरूबाट हुने बचत र अन्य युद्ध सामग्रीहरूको कटौतीबाट जम्मा हुने रकमले एचआईएमएआरएस रकेट प्रणाली (जसले युक्रेनमा प्रभाव देखाइरहेको छ) लाई सहयोग गर्ने उनको भनाइ छ।
सुरक्षा क्षेत्रको व्यापक फेरबदलमा सेनाका हतियारहरू ४० किलोमिटरको दूरीबाट बढाएर ३०० किलोमिटरसम्म बिस्तार गर्ने, सटिक प्रहारमा प्रयोग हुने क्षेप्यास्त्रको क्षमता ५०० किलोमिटर टाढासम्म पुग्ने बनाउने लगायत योजना छन्। रक्षामन्त्री कोनरोयले भने, “यो भनेको अस्ट्रेलियाली सेनालाई आवश्यक फायर पावर र गतिशीलता प्रदान गर्ने बारेको विषय हो।”
यता, अस्ट्रेलियाको नयाँ सैन्य दिशाबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बेइजिङको सैन्य निर्माण नीति रक्षात्मक प्रकृतिको रहेको बताएको एपी न्युजले लेखेको छ। माओ भन्छन्, “एशिया प्रशान्तीय क्षेत्रमा र सारा विश्वमा शान्ति र स्थायित्व कायम गर्न हामी प्रतिबद्ध छौँ। चीनबाट खतरा छ भन्ने भ्रम सिर्जना गर्दै अन्य मुलुकहरूले पनि बढाइचढाइ गर्ने छैनन् भन्ने आशा गर्छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
