बारा–२ मा आइतबार रातिबाटै मतगणना थालिने

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बारामा सम्पन्न निर्वाचनको मतपेटिका संलकन भइसकेकाले राति ९ बजेदेखि नै मतगणना शुरू गरिने बताए।

काठमाडौँ– बारा–२ मा सम्पन्न भएको उपनिर्वाचनको मतगणना आइतबार राति ९ बजेदेखि शुरू गर्ने गरिने भएको छ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बारामा सम्पन्न निर्वाचनको मतपेटिका संलकन भइसकेकाले राति ९ बजेदेखि नै मतगणना शुरू गरिने बताए। “हुन त तीन क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ। बारामा ९ बजेदेखि नै मतगणना शुरू गर्ने हाम्रो तयारी छ,” उनले भने। 

थपलियाका अनुसार चितवन–२ र तनहुँ–१ मा भने मतपेटिका संकलन जारी रहेकाले मतगणना कहिले शुरू हुन्छ भन्ने अवस्था छैन। यी दुई निर्वाचन क्षेत्रको मतगणना आइतबार राति नै शुरू भएमा सोमबार बेलुकासम्मा मतपरिणाम सार्वजनिक गर्ने आफूहरूको तयारी रहेको उनले बताए। 

तर, दलहरूले विवाद या झमेला ननिकालेको अवस्थामा मात्रै समयमै मतगणना शुरू हुने स्थिति हुने उनको भनाइ छ। बारा–२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेललगायत प्रतिस्पर्धामा छन्।

चितवन–२ नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीकाका रवि लामिछानेलगायत प्रतिस्पर्धामा छन्।

तनहुँ–१ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेलगायत उम्मेदवार छन्।