नेवार समुदायमा चलेका लोकश्रुति र कतिपय ऐतिहासिक तथ्यसँगै एकै समयमा धेरैजसो जात्रा मनाइनुको प्रमुख कारण प्रकृति अर्थात् मौसमको अर्थसित समेत जोडिएको छ।
काठमाडौँ– नेपाली (विक्रम सम्वत्को) नयाँ वर्ष, २०८० शुरू भइसकेको छ। तर, चैतको मध्य र अन्तिम सातादेखि नै काठमाडौँ उपत्यकासहित आसपासका जिल्लालाई समेत समेट्ने ‘नेपाल मण्डल’भित्र विभिन्न जात्रा तीब्र भइसकेका थिए।
कतै चैत अन्तिम साता, कतै नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते, कतै त्यसको भोलिपल्ट वैशाख २ गते ‘मूलजात्रा’को रूपमा जात्रा मनाइए। वैशाख ५ गतेसम्म भक्तपुरका ठिमी, नगदेश, तिगनी, बोडे, काठमाडौँको टोखा र ललितपुरको सिद्धिपुर (ठसि) गाउँमा आ–आफ्ना स्थानीय देवदेवीहरूको जात्रा धुमधामले मनाइयो।
चैतको मध्यतिर नै भाटभटेनी, हाँडीगाउँ क्षेत्रमा टुँडालदेवीको जात्रा चलेको थियो। काठमाडौँ र भक्तपुरमा जात्राको रौनक सेलाउन नपाउँदै ललितपुरको लुभुमा महालक्ष्मी, भैरव र गोभ्रेश्वर महादेवको जात्रा शुरू भएको छ। नयाँ वर्षमा भक्तपुर, काठमाडौँमा जस्तो बिस्का जात्रा लुभुबासीले मनाउँदैनन्।

वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयादेखि दशमीसम्म गरी ८ रात नौ दिन मनाइने जात्रा यहाँको मुख्य जात्रा हो। यो जात्रा यहाँको नाम अर्थात् ठाउँको नामसँगै जोडिएको छ। नेपाल भाषामा ‘लुँ’को अर्थ ‘सुन’ हुन्छ। यहाँ सुन जस्तो धान फल्ने खेत भएकोले त्यस ठाउँको नाम ‘लुँबुं’ (सुनको खेत) भन्न थालिएको जनश्रुति प्रचलित छ। लुभुमा आइतबारबाट जात्रा शुरू भएको छ।
जात्राको मुख्य दिन अक्षय तृतीयामा तीन देवीदेवतालाई द्यय छेः (देवताको घर) बाट विधिवत् रूपमा मुख्य चोकमा निकालेर जात्रा शुरू गरिन्छ। यहाँका स्थानीय मुख्य देवदेवीहरू महालक्ष्मी, महाभैरव तथा गोभ्रेश्वर महादेवको खटलाई टोल–टोलमा ल्याएर पुजा गर्ने र खट जुधाउने गरिन्छ।
पाटनमा सोमबार (वैशाख ११)बाट सहकालमा देवता बुंगद्यः (रातो मच्छिन्द्रनाथ)को जात्रा शुरू हुँदैछ। गएको शुक्रबार मन्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गरियो। रथारोहणसँगै यसलाई पाटनस्थित मच्छिन्द्रनाथको मन्दिर तः बहाल परिसरबाट पुल्चोकमा लगिन्छ। तीन दिनपछि रथयात्रा आरम्भ हुन्छ। वैशाख शुक्ल प्रतिपदाबाट शुरू हुने यो जात्रा भोटो देखाउने जात्रासँगै अन्त्य हुन्छ।
रातो मच्छिन्द्रनाथको जात्रा नेपालको सबभन्दा लामो जात्रा पनि हो। यो जात्रा शुरूआतबारे थुप्रै किंबदन्ती छन्। त्यसमध्ये एक हो, काठमाडौँ उपत्यकामा भएको अनिकाल।
किंबदन्ती यस्तो छः
एकपटक ‘राजगुरु गोरखनाथ बाबा’ काठमाडौँ उपत्यकाका नौ नागलाई वशमा राखेर ध्यानमा बसेका थिए। त्यसपछि उपत्यकामा पानी परेन, अनिकाल पर्यो। भक्तपुरका राजा नरेन्द्रदेवले आफ्ना राजगुरुको अवस्था बुझ्दा गोरखनाथ ध्यानमा बसेको र उनलाई ध्यानबाट भंग गर्न उनका आराध्यदेव रातो मच्छिन्द्रनाथलाई नेपालमा ल्याउनुबाहेक अन्य उपाय नभएको निचोडमा पुगे।
नरेन्द्रदेव त्यसपछि काठमाडौँका तान्त्रिक बन्धुदत्त र पाटनका ललित चक्र ज्यापुलाई साथमा लिएर आसामको कामाक्ष देश पुगे। कामाक्ष देशका राक्षसवंशका राजा शशी र शानी मायाका ५०० भाई छोरामध्ये कान्छा थिए रातो मच्छिन्द्रनाथ, जो बिहान धान रोपेर बेलुका फलाउने सामर्थ्य राख्थे। तर, राक्षसका कान्छा छोरालाई लैजान त्यति सहज थिएन। अनेक तन्त्र मन्त्रपछि उनलाई ल्याउन नरेन्द्रदेव सफल भए।

त्यसपछि भक्तपुर, काठमाडौँ र पाटनमध्ये मच्छिन्द्रनाथलाई कहाँ प्रतिस्थापन गर्ने भन्नेमा विवाद भयो। त्यसलाई समाधान गर्ने जिम्मा पाटनका एक ज्येष्ठ नागरिकलाई दिइयो। पाटनका राजा वरदेवले छलकपट गरी मच्छिन्द्रनाथलाई पाटनमै प्रतिस्थापन गरियो। यसको ज्ञात भएसँगै गोरखनाथ ध्यानबाट निस्किएर मन्छिन्द्रनाथलाई दर्शन गर्न आए। यससँगै, उपत्यकामा वर्षा भयो र अनिकाल हट्यो।
किंबदन्तीको सार यही हो। मच्छिन्द्रनाथको रथ बाराहीदेखि बेकु (नेवार समुदायभित्रको जात)ले पालैपालो बनाउँछन्। मच्छिन्द्रनाथको मूर्तिमा रङरोगन गर्ने जिम्मेवारी नेकु वंशका परिवारको हुन्छ। यसकारण पनि जात्रा शुरू हुनुभन्दा एक महिना अघिदेखि यसको चहलपहल शुरू हुन्छ।
प्रत्येक वर्ष वैशाख पूर्णिमाका दिन बुद्धजयन्तीको अवसर पारेर ‘नेपाल मण्डल’को बनेपामा चण्डेश्वरी देवीको जात्रा हुन्छ। उपत्यकाबाहिरको ठूलो नेवारबस्ती बनेपा, पनौती, दोलखासमेतलाई ‘नेपाल मण्डल’ भनेर चिन्ने गरिन्छ। चण्डेश्वरी देवी बनेपाकी आराध्य देवी भएको विश्वाससमेत गरिन्छ।
यस वर्ष वैशाख २२ गते चण्डेश्वरी जात्रा हुँदैछ। जात्राको दिन एकाबिहानै मतः पूजा हुन्छ। बनेपालीहरू प्रत्येक घरबाट एउटा–एउटा चिराग बालेर स्वःधा टोलको लायकू (दरबार क्षेत्र) बाट चण्डेश्वरी देवीमा पुगेर त्यहाँबाट पूर्व–उत्तर एक किलोमिटर टाढा पर्ने जसिगाः द्यः (जलेश्वर महादेव) को पूजा गर्न जान्छन्।
त्यहाँको पोखरीमा गर्भवती महिलाले नुहाए गर्भपतन नहुने जनविश्वास छ। यस दिन चण्डेश्वरी देवीलाई पञ्च बलि दिएर पूजा गरिन्छ। १२ वटा बोकाको बलि पनि दिइन्छ। बनेपालीका लागि यो सबभन्दा ठूलो जात्रा हो।
भर्खरै सम्पन्न भएका जात्रा
तिथिमितिले सँगसँगै जस्तो मनाइने यी जात्राको शुरूआत काठमाडौँको पाहाचह्रे जात्राबाट हुन्छ जसलाई ‘लुमद्यी अजिमाको जात्रा’ पनि भनिन्छ। काठमाडौँका नेवारहरूको यो मुख्य जात्रा हो।
जात्राको मुख्य दिन असनको अन्नपूर्ण मन्दिरअघि कंग अजिमा, वटु भद्रकाली अजिमा र टेबहाल भद्रकाली अजिमाको खटलाई जुधाइन्छ। यसपालि लुमद्यी अजिमाको जात्रापछि, चैत १५ गतेदेखि जनबहाः द्य (सेतो मच्छिन्द्रनाथ)को जात्रा ३ दिनसम्म चल्यो।
नुवाकोटमा चैत २३–२५ मा भैरवीको जात्रा सम्पन्न भयो। नुवाकोटकी जीवित देवी कुमारी, धामी, धामिनीको उपस्थिति रहेको यो जात्रामा नुवाकोट दरबार क्षेत्रबाट धामी र धमिनीका साथ भैरवीसँगै देवघाटसम्म रथयात्रा गरिएको थियो। यसलाई सबभन्दा लामो दुरीको जात्रा मानिन्छ।
त्यही समयमा काठमाडौँको मनमैजुमा मनमैजु देवीको जात्रा भयो। ललितपुरको चापागाउँमा पनि गएको चैत २१–२३ (चैत शुक्ल त्रयोदशी–पूर्णिमासम्म) मा बज्रबाराहीको जात्रा मनाइयो।
चैत शुक्ल पूर्णिमा (चैत २३ गते) देखि वैशाख कृष्ण नवमी (वैशाख १) सम्म दोलखामा नौ दिन रातो मच्छिन्द्रनाथको जात्रा चल्यो। काठमाडौँ उपत्यकाबाहिरको पुरानो नेवार बस्ती हो, दोलखा। उपत्यकाभित्र चार ठाउँमा स्थापना गरिएका मच्छिन्द्रनाथ र उपत्यकाबाहिर दोलखामा वर्षको एकपटक जात्रा हुन्छ।
हाडीगाउँको भाटभटेनी–टुडालदेवी (चैत शुक्ल अष्टमी ‘चैत दशैँ’बाट शुरू भई वैशाख शुक्ल अष्टमीमा सम्पन्न हुने) जात्रा आयोजना भयो।
वैशाख कृष्ण चतुर्थी (चैत २७ गते) बाट शुरू हुने बिस्का जात्रा भक्तपुरको मुख्य जात्रा हो। वैशाख कृष्ण चतुर्थीका दिन भक्तपुरको न्यातपोल मन्दिर परिसरअघि रहेको भैरव र भद्रकालीको खट तानेसँगै जात्राको रौनक शुरू हुन्छ। चार दिनसम्म भैरव र भद्रकालीको रथलाई विभिन्न टोलमा तानेर लैजाने, पूजा गर्ने गरिन्छ।
जात्राअन्तर्गत चैतको अन्तिम दिन भक्तपुरको टौमढी स्क्वायरमा योसिं (लिंगो) उठाएर वैशाख १ गते ढालिन्छ। योसिं ढालेको दिनदेखि ४ गतेसम्म अन्य देवीदेवताको पनि जात्रा गाँसेर भक्तपुरको बिस्का जात्राको क्रम आठ दिनसम्म चल्छ।
बिस्का जात्राअन्तर्गत भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा जिब्रो छेड्ने जात्रा र बालकुमारी देवीको सिन्दुर जात्रा पनि पर्छन्। यी दुबै जात्रा नयाँ वर्षको दोस्रो दिन, वैशाख २ गते हुने गर्छन्।
बोडे र मध्यपुर थिमीमा जस्तै नगदेश, तिगनी लगायतका स्थानमा देवीदेवताको जात्रा गराइन्छ। केही वर्ष अघिसम्म थिमीका सबै क्षेत्रको खट मध्यपुर थिमी ल्याई एकसाथ परिक्रमा गराइन्थ्यो। अहिले त्यसले निरन्तरता पाएको छैन।

बिस्का जात्राको क्रममा चण्डेश्वरी स्वप्न देवता, गणेश, मसानकाली देवीदेवताको खट परिक्रमा गराइने चलन पनि छ। टोखाको गहना खोज्ने र सिन्दुर जात्रा टोखा जात्राको मुख्य आर्कषण हुन्।
वैशाख कृष्ण त्रयोदशीमा ठड्याइएको योसिं (लिंगो) लाई ढालेर टोखाको यस वर्षको बिस्का जात्रा सम्पन्न भएको छ। शंखरापुर नगरपालिकाको साँखुमा पनि बिस्का जात्राको रौनक धेरै हुन्छ। चैत ३० गते योसिं (लिंगो) उठाइ भोजभतेर गरी बिस्का जात्रा मनाइएको छ।
बिस्का जात्राअघि साँखुमा चैत २३ देखि ३० गतेसम्म मनाइने बज्रयोगिनीको जात्रा अझ महत्वपूर्ण रहन्छ। बज्रयोगिनीलाई साँखुकी आराध्यदेवी मानिन्छ। आठ दिनसम्म चल्ने जात्रामा ब्रजयोगिनी देवीको प्रतिक स्वयम्भु चैत्य र उग्रताराको खट साँखु नगरमा परिक्रमा गराइन्छ।
सँगै, सिंहिनी, ब्यागिनी (देवीहरू)को पनि जात्रा हुन्छ। अन्य क्षेत्रमा खटमा देवदेवताको मूर्ति राखेर खट परिक्रमा गराउँदा साँखुमा भने मूर्तिको सट्टा चैत्यलाई खटमा राखि परिक्रमा गराइन्छ। बिस्का जात्रा भक्तपुर तथा काठमाडौँसँगै ललितपुरको सिद्धिपुरमा पनि रौनकसाथ मनाइन्छ। सिद्धिपुरमा हरेक वर्ष चैत मसान्तदेखि वैशाख २ गतेसम्म गणेश, भैरव, महांकाल (नासःद्यः, नृत्य र गायनका देवता)लाई खटमा राखी जात्रा मनाइन्छ। यसलाई महालक्ष्मी जात्रा पनि भनिन्छ।
ललितपुरको सिद्धिपुरगाउँमा बिस्केट जात्रा मनाउने कथन भने रोचक छ। कुनै समय भक्तपुरकै ठाउँ मानिने ठसि (सिद्धिपुरको पुरानो नाम) गाउँमा एकपटक केराउ खेती बिग्रियो। भक्तपुरका राजाले दण्डको रूपमा ठसि गाउँका बासिन्दालाई पनि बिस्केट जात्रा मनाउने हुकुम गरेको जनश्रुति पाइन्छ।
अहिले ललितपुरमा पर्ने ठसि गाउँमा सोही कारण केराउ खेती नहुने मान्यता छ।

लोकश्रुति, इतिहास र मौसमको अर्थ
इतिहासकार प्रकाशमान श्रेष्ठ नेपाल मण्डलमा नेवार समुदायले मनाइरहेका विभिन्न जात्राको एकात्मकतालाई जनश्रुतिसँग जोड्छन्। उनका अनुसार कुनै समय नेपाल मण्डलमा एक लोक गीत प्रचलित थियो। गीतअनुसार नेपाल मण्डलका एक राजाले एउटा दीक्षा लिएका रहेछन्।
दीक्षा लिएसँगै नेपाल मण्डलका गाउँ–गाउँमा उनी भिक्षा माग्न गए। “राजाले आफू भिक्षा माग्न गएका ठाउँहरूमा तिथि मितिअनुसार जात्रा मिलाएको उक्त लोकगीतको सार हो”, श्रेष्ठ भन्छन्, “यद्यपि, यो लोकगीतमा आधारित जनश्रुति मात्र हो।”
इतिहासकार त्रिरत्न मानन्धर नेवारहरूका चाडपर्व १२ महिनै हुने बताउँछन्। मानन्धरका अनुसार यी जात्रा मध्यकालबाट शुरू भएको मानिन्छ। “मध्यकालमा मनोरञ्जनका अन्य साधन नहुँदा जात्रा, भोज, नाच आदि प्रचलनमा थियो,” उनी भन्छन्, “मध्यकालमा धर्मप्रतिको आस्था पनि उत्तिकै थियो। जात्रा, पर्व देवीदेवतासँग जोडिने कारणले पनि यस्ता जात्राले निरन्तरता पाए।”
मानन्धरका अनुसार सोही विश्वास र मान्यतामा आधारमा मध्यकालका शासकहरूले यस्ता जात्रा सञ्चालनका लागि प्रशस्त जग्गा, जमिन, गुठीको व्यवस्था गरिदिएका थिए। त्यहीकारण जात्रा, पूजा गर्न समस्या थिएन।
२०२१ सालको भूमिसम्बन्धी ऐनले गुठीको जग्गा अधिग्रहणको बाटो खोलेपछि मौलिक प्रणालीका रूपमा रहेको व्यवस्थामा खलबल ल्याएको, त्यसपछि बीचका केही दशकमा जात्रा, पर्वप्रतिको मानिसको ऊर्जा घटेको अनुभव मानन्धरसँग छ।

“भूमि व्यवस्थाले मौलिक जग्गा, जमिन, जोतपोत र चलिआएको गुठीको प्रणालीलाई बिथोल्यो। अनि पहिले जसरी जात्रा, पर्व सञ्चालन हुनसकेन,” उनी भन्छन्, “ह्रास आएको परम्परामा केही वर्षयता कला, संस्कृतिप्रतिको उर्जा देखिएको छ। यसलाई सकारात्मक मान्नुपर्छ।” जात्राहरू एक साथ पर्नुमा धार्मिक मात्र नभएर मौसमको कुरा पनि जोडिएको मानन्धर बताउँछन्।
संस्कृतिविद् ओम धौभडेल पनि मानन्धरको कुरामा सहमति जनाउँछन्। नेपाल मण्डलका जात्राहरू पारस्परिक हुनुमा सामाजिक तथा प्राकृतिक पक्ष जोडिएको उनले बताए। धौभडेलका अनुसार चैत–वैशाखको मौसम उराठलाग्दो हुँदा मानिसमा विस्मात् र वैरागको भाव पैदा हुने हुँदा सोही माहोललाई निस्तेज पार्न र मानिसलाई भूलाउन त्यही समयमा धेरैजसो स्थानमा जात्राको रौनक शुरू गरिएको हो।
“केही समयपछि रोपाईको याम शुरू हुन्छ,” धौभँडेल भन्छन्, “नेपाल मण्डलका अधिकांश नेवार समुदाय कृषिमा निर्भर थिए। कृषिप्रधान देश नेपालमा वर्षाअघिको फुर्सदको समयमा जात्रा पर्व मनाइने गरिन्थ्यो। किनभने काम गर्ने मौसममा रमाइलोका लाग खास समय पनि हुन्न।”
यद्यपि, रोपाइकै समयमा हुने ज्या पून्हि र भलभल अष्टमी जात्रालाई नकार्न चाहिँ नसकिने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
