सन्दीपले बनाए कम ओडीआईमा १०० विकेटको कीर्तिमान

सन्दीपले ४२ ओडीआईमा १०० विकेट लिँदै विश्व कीर्तिमान बनाएका छन्। यसअघि अफगानिस्तानका राशिद खानले ४४ खेलमा १०० विकेट लिएका थिए। सन्दीपले खेलेका पछिल्ला २८ ओडीआई सबैमा विकेट लिएका छन्।

फाइल तस्वीर

काठमाडौँ– सन्दीपले सबैभन्दा कम एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलेर १०० विकेट लिने विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। उनले ४२ ओडीआई खेलेर १०० विकेट पूरा गरेका हुन्।

एसीसी प्रिमियर कपअन्तर्गत घरेलु मैदान कीर्तिपुरमा भइरहेको ओमानविरुद्धको खेलमा एक विकेट लिएपछि उनले १०० विकेटको कोशेढुंगा पूरा गरेका हुन्। १००औँ विकेटको रूपमा उनले ओमानका आदिल खानलाई पेभेलियन पठाए। सन्दीपको बलमा उनी एलबीडब्लु धरापमा परे। आफ्नो स्पेलको तेस्रो बलमा नै उनले विकेट लिएका हुन्। त्यही ओभरमा उनले ओमानका कप्तान जिशन मक्सुदको पनि विकेट लिएका छन्। उनको विकेट संख्या १०१ पुगेको छ।

नेपालमै गएको मार्च १६ मा भएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा कप्तान मोहम्मद वासिमलाई एलबीडब्लु धरापमा पार्दै सन्दीपले ९९औँ विकेट पूरा गरेका थिए। उक्त खेलमा थप विकेट लिन नसकेपछि ४१ खेलमा नै १०० विकेट पुर्‍याउने मौका गुमाएका थिए।

यसअघि, थोरै ओडीआईमा १०० विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो। उनले ४४ ओडीआई खेलेर यो उपलब्धि हासिल गरेका थिए। खानको कीर्तिमान पाँच वर्षपछि तोडिएको हो।

फाइल तस्वीर।

खानले २०१८ मार्च १५ मा वेष्ट इन्डिजविरुद्ध खेल्दै उक्त उपलब्धि हासिल गरेका थिए। त्यसैगरी, अष्ट्रेलियका मिचेल स्टार्कले ५२ र पाकिस्तानका सक्लान मुस्ताकले ५३ खेलमा १०० विकेट लिएका छन्।

सन्दीपले ओडीआईमा डेब्यु गरेको पाँच वर्षपछि १०० विकेट लिएका हुन्। नेपालले २०१८ अगष्ट १ मा नेदरल्यान्डविरुद्ध खेलेको पहिलो ओडीआई खेल्ने टिममा उनी पनि थिए। नेपाल पराजित भएको उक्त खेलमा सन्दीपले एक विकेट लिएका थिए। पारस खड्काले चार र सोमपाल कामीले तीन विकेट लिएका थिए। पारसले सन्यास लिइसकेका छन् भने ४५औँ ओडीआई खेलिरहेका सोमपालले ६१ विकेट लिएका छन्।

सन्दीपले डेब्यु गरेयता लगातार ६ खेलमा विकेट लिएका थिए। कीर्तिपुरमा ओमानविरुद्ध भएको सातौँ खेलमा भने उनी विकेटविहीन भएका थिए। ४२ ओडीआई खेल्दा उनले ४१ इनिङ्समा बलिङ गरेका छन्। जसमध्ये दुईपटक मात्र विकेटविहीन भएका छन्। 

फाइल तस्वीर।

सन्दीपले पछिल्ला २८ खेल र ३२ इनिङ्स सबैमा लगातार विकेट लिएका छन्। बीचको एउटा खेलमा (२०२१ सेप्टेम्बर १४ मा ओमानविरुद्ध) ब्याटिङ गरे पनि उनले बलिङ भने गरेका थिएनन्।

उनको उत्कृष्ट बलिङ फिगर ६–११ हो। ओमानको अल अमिरातमा २०२१ सेप्टेम्बर १० मा भएको पीएनजीविरुद्धको खेलमा उनले उक्त उपलब्धि हासिल गरेका थिए। घरेलु मैदानमा उनको उत्कृष्ट बलिङ ६–१६ हो। अमेरिकाविरुद्ध २०२० फेब्रुअरी १२ मा भएको खेलमा उनले सो उपलब्धि हासिल गरेका थिए।

उनले ओडीआईमा पाँच वा सोभन्दा बढी विकेट तीनपटक लिएका छन्। चार वा त्योभन्दा बढी विकेट ११ पटक र तीन वा सोभन्दा बढी विकेट १८ पटक लिएका छन्।

सन्दीपविरुद्ध बलत्कार अभियोगको मुद्दा जिल्ला अदालत काठमाडौँमा चलिरहेको छ। थुनामा परेका उनलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने आदेश दिएपछि उनी क्रिकेट मैदान फर्किन पाएका हुन्। थुनामुक्त भएपछिका १२ ओडीआईमा उनले ३३ विकेट लिइसकेका छन्।

त्यसैगरी, टी२० अन्तर्राष्ट्रियमा उनले ४४ खेल खेल्दै ८५ विकेट लिएका छन्। एउटा प्रथम श्रेणीको क्रिकेट खेलेका उनले तीन विकेट र ६४ वटा लिस्ट ‘ए’मा १४४ विकेट लिएका छन्।