शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुमेला गरी तीन स्थानमा हात्तीसार छन्। यहाँ रहेका छ हात्तीबाट वन्यजन्तुको सुरक्षाका लागि गस्तीसमेत गरिन्छ।
महेन्द्रनगर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारको जिम्मा विमला चौधरीलाई छ।
उनी निकुञ्जमा पाँच वर्षदेखि ‘माहुत’ पदमा कार्यरत छिन्। भीमदत्त नगरपालिका–१४ बनकट्टटीकी ३० वर्षीया विमला निकुञ्जकी पहिलो र एक्लाे महिला ‘माहुत’ हुन्।
पिपरिया हात्तीसारमा कार्यरत बिमलाले ‘शारदाकली’को निधनपछि शेषराजगजको स्याहारसुहार गर्ने जिम्मेवारी पाएकी थिइन्। “बिहान हात्तीलाई नुहाउनदेखि जंगलमा चराउने, खुवाउनेलगायत काम गर्दै आएकी छु,” उनले भनिन्, “जागिरको शुरूआतमा जनावरसित घुलमिल नहुँदा असहज भएको थियो। अहिले सहज छ।”
निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुमेला गरी तीन स्थानमा हात्तीसार छन्। ३०५ वर्ग किलोमिटरमा फैलिएको निकुञ्जमा पछिल्ला वर्ष वन्यजन्तुको सुरक्षाका लागि हात्तीद्वारासमेत गस्ती गरिन्छ। यहाँ रहेका छ हात्तीबाट गस्तीलगायत निकुञ्जको कामकाज गरिँदै आएको छ।
शेषराजगज भने पुसमा पिपरिया हात्तिसारमा राखिएको हो। हात्तीको स्याहारदेखि गस्ती लैजाँदासम्मका लागि माहुत, पछुवा र फणित खटिने गरेका छन्। यहाँ हात्तीका लागि २१ कर्मचारी खटिएका छन्। ‘विमला’ एक मात्र महिला कर्मचारी हुन्। “शारदाकली हुँदासम्म चराउन जंगलमा धेरै टाढासम्म एक्लै पसेकी छु” उनले भनिन्, “अहिले शेषराजगज सानै भएकाले हात्तीसारबाहेक अन्यत्र जानु परेको छैन।” बिमलाका श्रीमान् र एक वर्षीय छोरा पनि सँगै छन्।
“छोरा सानै छ, उसको र शेषराजगजको स्याहारको जिम्मेवारी मेरै काँधमा छ,” उनले भनिन्, “दुवैका लागि समय व्यवस्थापन गरेर अघि बढेकी छु।” घरमा पशुचौपायाका लागि घाँस आहारा खोज्ने बिमलाको ब्यस्तता हात्तिसारमा पनि उत्तिकै बढी छ। “जनावरसितको काम चुनौतीपूर्ण नै हुन्छ, कति बेला कुन मुडमा हुन्छन् भर नै हुँदैन,” बिमलाले भनिन्, “कहिलेकाहीँ डर पनि लाग्छ।” आफ्नो पाँचवर्षे जागिरकालका क्रममा शुक्लाफाँटामा शारदाकली र रतनकलीको उमेर पुगेर निधन भएको बताइन्।
“आफूले रातदिन स्याहारसुसार गरेको जनावरको मृत्यु हुँदा निकै दुःख लाग्छ,” उनले भने, “ठूला हात्तीसित काम गर्न धेरै सक्रियता चाहिने रहेछ।” विश्वमै दुर्लभ बाह्रसिंगेको प्रमुख बासस्थान शुक्लाफाँटामा ३६ पाटे बाघ, १७ गैँडालगायत चराचुरुंगीलगायत वन्यजन्तुको महत्त्वपूर्ण बासस्थान हो। यहाँ आउने पर्यटकले हात्ती शयरको अवसर घरपालुवा हात्ती अभावकै कारण पाउन सकिरहेको छैनन। निकुञ्जका रेञ्जर प्रयास केसीले शुक्लाफाँटामा १० वटा हात्तीको दरबन्दी रहेको जानकारी दिए।
“अहिले एउटा छावासहित सात हात्ती मात्रै छन्,” उनले भने। २०२६ सालमा सिकार आरक्षका रूपमा स्थापना भएको शुक्लाफाँटा २०७३ साल फागुनमा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो। चोरी सिकारी नियन्त्रणका लागि गस्ती गर्न हात्तीको प्रयोग गर्नुपर्ने हुन्छ।
हात्तीमा गस्ती गर्दा ‘फणित’ले नेतृत्व गर्छन्। हात्ती हाँक्ने, चराउनेदेखि स्याहारसुसारका लागि यहाँ फणित, पछुवा र माहुत गरी तीन पदमा कर्मचारी कार्यरत छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
