ठमेलबाट १ किलो कोकिनसहित भारतीय र केनियन नागरिक पक्राउ

बरामद लागुओषध कोकिनको अन्दाजी अवैध बजार मूल्य २ करोड ३३ लाख २८ हजार रहेको प्रहरीको भनाइ छ।

काठमाडौँ– नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले १ केजी ८० ग्राम लागुऔषध कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

बिहीबार पत्रकार सम्मेलन गर्दै प्रहरीले यसबारेमा जानकारी गराएको हो। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित अलिग्राहका ५१ वर्षीय रवीन्द्रकुमार परासर र केन्याकी वर्ष ६३ की पिलिसिला वान्जा एन्ड्रिटुलाई रहेका छन्।

रवीन्द्रकुमार र एन्ड्रिटुलाई वैशाख ५ गते काठमाडौँको ठमेलका छुट्टाछुट्टै होटलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए। एन्ड्रिटुबाट एक हजार अमेरिकी डलर बरामद गरेको उनको भनाइ छ।

उनीहरूको साथबाट कालो रङको कपडाको झोलाभित्र लुकाइरहेको खैरो रंगको लेडिज ब्यागमा फल्स बटम बनाइ लुकाइछिपाइ राखिएको अवस्थामा १ केजी ८० ग्राम कोकिन बरामद भएको हो।

उनीहरूलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए। बरामद लागुओषध कोकिनको अन्दाजी अवैध बजार मूल्य २ करोड ३३ लाख २८ हजार रहेको प्रहरीको भनाइ छ।