आयातमा लगाइएको प्रतिबन्ध हटाउन विश्व बैंकको सुझाव

विद्युत‍्को आन्तरिक खपत बढाउनुपर्ने, नेपाल–भुटान–भारत–बंगलादेशसँगको क्षेत्रीय व्यापार बढाउन नेपाल र भुटानमा थप आयोजना निर्माण गर्न प्रतिवेदनमा सुझाव दिइएको छ।

काठमाडौँ– विभिन्न वस्तुहरूको आयातमा लगाइएको प्रतिबन्ध हटाउन सरकारलाई विश्व बैंकले सुझाव दिएको छ।

विश्व बैंकले काठमाडौँमा सोमबार 'नेपाल डेभलपमेन्ट अपडेट २०२२' सार्वजनिक गर्दै केही वस्तुहरूको आयातमा लगाइएको प्रतिबन्ध हटाउन सुझाव दिएको हो। सरकारले विदेशी मुद्रा सञ्चिति घटेको भन्दै ३ सय अमेरिकी डलरमाथिका मोबाइल, विदेशी मदिरा, कार, जिप, भ्यान तथा १५० सीसीमाथिका मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाएको छ।

मौद्रिक नीति र वित्तीय नीतिमार्फत आवश्यकताका आधारमा नीतिगत ब्याजदर बढाउने र पुनर्कर्जा सुविधा घटाउनेलगायतका नीतिहरू अवलम्लन गर्न सके यसले माग घटाउन मद्दत पुग्ने र आयात निरुत्साहित हुने विश्व बैंकको ठहर छ। विश्व बैंकले राजस्व वृद्धि गर्न, मूल्य अभिवृद्धिमा दिइएका छुट हटाउनसमेत सुझाएको छ।

संघीय संरचनामा गइसकेपछि ४० प्रतिशत स्रोत प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेको भए पनि उनीहरूको स्वतन्त्र खर्च गर्ने क्षमता कमजोर रहेको डेभलपमेन्ट अपडेटमा उल्लेख गरिएको छ। विद्युत‍्को आन्तरिक खपत बढाउनुपर्ने, नेपाल–भुटान–भारत–बंगलादेशसँगको क्षेत्रीय व्यापार बढाउन नेपाल र भुटानमा थप आयोजना निर्माण गर्न प्रतिवेदनमा सुझाव दिइएको छ। वैदेशिक लगानीको प्रक्रियालाई सहज बनाउन नीतिगत सुधारमा जोड दिन पनि भनिएको छ।

आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने प्रक्षेपण
विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने पनि प्रक्षेपण गरेको छ। सन् २०२३ मा भने यस्तो वृद्धिदर ५.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको ठहर छ। यस्तै, २०२२ मा नेपालको मुद्रास्फीति ६.३ प्रतिशत रहने विश्व बैंकको अनुमान छ।

अघिल्लो साता अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो। नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० मा आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ।