आरोपको सामना गर्छु भनेका सन्दीप गुमनाम हुँदा उब्जिएका प्रश्‍न

सन्दीप लामिछानेबारे क्यान र नेपाल प्रहरी नै अनभिज्ञ छ। नेपाल फर्किएलगत्तै पक्राउ गर्नका लागि अध्यागमन विभागले उनको नाम कालोसूचीमा राखेको छ।

तस्वीर - सन्दीप लामिछानेको फेसुबक

काठमाडौं– नेपाली क्रिकेटमा पछिल्लो समय दोहोरिरहने प्रश्न हो– लेग स्पिनर सन्दीप लामिछाने कहाँ छन्? कहिले नेपाल फर्किएलान्? के साँच्चिकै नेपाल फर्किएलान्? जतिधेरै प्रश्न उब्जिरहेको छ, त्यति नै उनीमाथि शंकाका घेराको दायराहरू पनि फराकिला हुँदै गएका छन्।



नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल पनि सन्दीपबारे आफूहरूलाई केही जानकारी नरहेको बताउँछन्।



‘बारम्बार हामीलाई मिडिया र उनको शुभचिन्तकले यही प्रश्न गरिरहनुभएको हुन्छ। तर, उनी कहाँ छन्, कहिले फर्किएलान् या नफर्किएलन्? हामीले अहिल्यै भन्न सक्ने अवस्था छैन,’ मल्ल भन्छन्, ‘क्रिकेटको नाताले क्यानको नेतृत्वमा बसेका हरेक पदाधिकारी उनको अविभावक हौं। तर, हामीसँग नै उनी सम्पर्कमा नरहेको धेरै भइसक्यो।’



राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका सन्दीपमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा १७ वर्षीया नाबालिगमाथि पटक–पटक बलात्कार गरेको आरोप छ।



भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन पाँच टी–२० र ३ एकदिवसीय खेल खेल्न केन्या उडेका थिए। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा घरेलु टोली केन्यासँगको पाँच टी–२० खेलमा कप्तानी गरेका सन्दीप त्यसपछि जमौका तलबाजबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए। उनी वेस्ट इन्डिज पुगेपछि केन्यासँगको ३ एकदिवसीय सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी उपकप्तानसमेत रहेका रोहितकुमार पौडेलले गरेका थिए।



वेस्ट इन्डिजमा सीपीएल भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते सन्दीपविरुद्ध जाहेरी परेको थियो। लगत्तै प्रहरीले होटलको सीसीटीभी फुटेजल, नाबालिकाको स्वास्थ्य परीक्षण लगायतका महत्त्वपूर्ण प्रमाण संकलन गर्दै काठमाडौं जिल्ला अदालतबाट भदौ २३ गते उनलाई पक्राउ गर्न अनुमति लिएको थियो। उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको ११ दिन भइसक्यो। तर, उनी अझै पक्राउ परेका छैनन् ।



हुन त बलात्कारको आरोप लागेलगत्तै उनले भदौ २३ गते सामाजिक सञ्जालमार्फत् आफू निर्दोष रहेको दाबी गर्दै केही दिनमै स्वदेश फर्किने अभिव्यक्ति दिएका थिए । ‘म निर्दोष छु र मलाई नेपालको कानुनमा पूर्णत: विश्वास छ। मैले सीपीएल छाड्ने निर्णय गरेको छु र म केही दिनमा आफ्नो देश फर्कनेछु,’ उनले लेखेका थिए, ‘म आधारहीन आरोपको सामना गर्न तयार छु। निर्दोषले न्याय पाउने छन्। यसमा संलग्न सबैको राम्ररी अनुसन्धान हुनेछ र कानुन सबैका लागि बराबर हुने विश्वास छ।’



त्यसको अघिल्लो दिन मात्रै क्यानका कार्यवाहक सचिव मल्लसँगको फोन सम्पर्कमा पनि सन्दीपले आफू निर्दोष रहेको बताएका थिए। उनका अनुसार फोन सम्पर्कका क्रममा सन्दीपले आरोपको सामान गर्न प्रतिष्ठित वकिलसमेत ‘हाएर’ गर्दिन अनुरोध गरेका थिए। मल्लले सन्दीपका लागि वकिलको चाँजोपाँजोसमेत मिलाइसकेका थिए। त्यसपछि ‘कम्फर्म’ गर्न सम्पर्क गरे पनि उनले आफूसँग कुरा नगरेको मल्लको भनाइ छ।



‘क्यानका तर्फबाट के हो भनेर बुझ्न मैले नै उनलाई सम्पर्क गरेको थिएँ। तिमीविरुद्ध उजुरी परेको छ। युवतीले बलात्कारको आरोप लगाएकी छन् भनेँ। उनले मैले थाहा पाएको छु, मेरो संलग्नता छैन भने, ‘मल्लले भने, ‘तिम्रोविरुद्ध मुद्दा नै परिसक्यो भने। यसमा क्यानले कानुनी उपचारका लागि सहयोग गर्नुपर्‍यो भन्ने उनको आग्रह थियो। प्रतिष्ठित वकिल हाएर गर्दिनुपर्‍यो भन्ने उनको कुरा थियो।’



त्यसपछि पनि क्यानले अभिभावकत्व ग्रहण गर्दै उनलाई निरन्तर सम्पर्क गर्ने कोसिस गरे पनि सफल हुन नसकेको मल्लको भनाइ छ। उनीनिकट स्रोतका अनुसार सन्दीपमाथि बलात्कारको जाहेरी परेपछि जमैका तालाबाजले उनलाई टोलीबाट निकालेको थियो। त्यसपछि उनी नेपाल फर्किने जानकारी दिएका थिए। जमौकाका टोली व्यवस्थापकले पनि उनलाई विमानस्थलसम्म लगेर छाड्दिएको थिए।



‘उनी वेस्ट इन्डिजमा रहँदा जमौकाले ३ खेल खेलेको थियो। उनी ती सबै खेलमा बेञ्चमा नै रहे। जाहेरी परेपछि उनलाई टोलीले समेत नेपाल फर्किन आग्रह गरेको थियो। त्यसपछि सन्दीपले नेपाल फर्किन टिकट बुकिङसमेत गरेको जानकारी दिएका थिए। तर, पछि के भएर हो टिकट रद्द भयो भनेर भने, र त्यसपछि मसँग पनि सम्पर्कमा आएका छैनन्,’ ती व्यक्तिले उकालोलाई भने।



वेस्ट इन्डिजबाट सिधै नेपाल आउने ‘फ्लाइट’ नभएको कारण उनी दुबई या सिंगापुर पुगेको र त्यही बसिरहेको अनुमान गरिएको छ। अर्कोतर्फ उनको पक्षबाट बहस गर्ने तयारी गरिरहेका अधिवक्ता सरोज घिमिरे पनि अहिले सिंगापुरमा छन्। त्यसैले पनि सन्दीप सिंगापुर त छैनन्? भन्नेपनि प्रश्न उब्जिएको छ। तर, क्यानका कार्यवाहक सचिव मल्ल भने यसलाई अस्वीकार गर्छन्।



‘हल्ला धेरै भएपछि हामीले उहाँसँग जानकारी लिएका थियौं। तर, उहाँले आफ्नो कामको लागि सिंगापुर गएको हुँ भन्नुभयो। सामाजिक सञ्जालमा आएको कुरा सत्य होइन। यदि सत्य थियो भने त हामी नै सार्वजनिक गर्दिहाल्थ्यौं नि,’ उनी भन्छन्।



प्रहरी भन्छ– अनुसन्धान गरिरहेका छौँ

सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि काठमाडौं प्रहरी परिसरले उनलाई पक्राउ गर्न विभिन्न नाकामा पत्राचार गरेको छ। यस्तै, जहाजबाट नेपाल फर्किनेबित्तिकै पक्राउ गर्न भनेर अध्यागमन विभागले कालोसूचीमा पनि राखेको छ।



प्रहरीका निमित्त केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार सन्दीप प्रहरीको पनि सम्पर्कमा आएका छैनन्। यद्यपि, घटनाबारे भने प्रहरीले अनुसन्धान जारी राखेको छ।



‘जाहेरी परेपछि अन्य घटनामा जस्तै तोकिएका प्रहरी अधिकृतहरूले आफ्नो नियमित काम गरिरहनुभएको छ। यसमा पक्राउ गरेर अनुसन्धान गर्ने या नगरी गर्ने अथवा प्रमाण कसरी संकलन गर्ने भन्नेबारे अनुसन्धानकर्ताको क्षेत्राधिकारभित्र हुन्छ। त्यही क्षेत्राधिकारमा रहेर अनुसन्धानको प्रक्रिया अगाडि बढाइरहनु भएको छ,’ उनले भने।



यद्यपि, सन्दीपलाई नेपाल नै झिकाएर अनुसन्धान गर्नुपर्ने अवस्था सिर्जना भए सोहीअनुसार गरिने उनले जानकारी दिए।



‘कानुनको कार्यविधि फलो गर्नुपर्ने हुन्छ। अनुसन्धान भनेको हतारिएर गर्ने विषय होइन। जहाँसम्म मुद्दाको विषयमा नोटिस जारी गरेर इन्टरपोलबाट पक्राउ गर्ने या नगर्ने? कुन नोटिस जारी गर्ने? भन्नेबारे अनुसन्धान अधिकृतले अनुसन्धानका क्रममा आएको विषयवस्तुको आधारमा उहाँले भन्नुहुन्छ। प्रहरी प्रधान कार्यालयसँग उहाँहरूले सहयोग माग्नुभयो भने त्यहीअनुसार हामी जान्छौं,’ उनले भने।