भारत र चीनसहित एशियाली देशमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

अत्यधिक तापक्रमका कारण केही स्थानमा मानिसको मृत्यु भएको छ भने केही स्थानमा विद्यालयहरू बन्द गरिएका छन्। केही वर्षयता अत्यधिक तापक्रम मापन भइरहेको भारतका लागि यो वर्ष थप खराब रहने विज्ञले जनाएका छन्।

अत्यधिक गर्मीका कारण भारत, बंगलादेश, थाइल्यान्ड, चीन र लाओससहित विभिन्न एशियाली देशको जनजीवन कष्टकर बनेको छ।

अत्यधिक तापक्रमका कारण केही स्थानमा मानिसको मृत्यु भएको छ भने केही क्षेत्रमा विद्यालयहरू बन्द गरिएको द गार्डियनले जनाएको छ।

जलवायु विज्ञ एवं मौसम इतिहासकार म्याक्सिमिलियानो हिरेराले अप्रत्याशित उच्च तापक्रमलाई एशियाली इतिहासमै अप्रिल महिनाभरको सबैभन्दा खराब 'हिटवेभ' भनेका छन्।

चिनियाँ स्थानीय मिडियाका अनुसार छेङ्दु, झेजियाङ, नानजिङ, हाङझाओसहित याङ्जी नदी आसपास क्षेत्रमा उच्च तापक्रम मापन भएको उल्लेख गरेका छन्।

विशेषगरी लुवाङ प्रावाङ, लाओससहित दक्षिणपूर्वी एशियामा यस साता ४२.७ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। जुन त्यस क्षेत्रकै ऐतिहासिक उच्च तापमान भएको हिरेराको भनाइ छ।

यस्तै, थाइल्यान्डको ताक प्रान्तको तापक्रम आइतबार ४४.६ डिग्री सेल्सियस मापन गरिएको त्यहाँको मौसम विभागले जनाएको छ। यसअघि अप्रिल २०१६ मा थाइल्यान्डको माइ होङ सनमा पनि यस्तै तापक्रम मापन गरिएको बताइएको छ। त्यहाँ यो साताको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।

अत्यधिक तापक्रममा कारण ‘हिटस्ट्रोक’को जोखिम बढ्नसक्ने भएकाले थाइल्यान्डको स्वास्थ्य मन्त्रालयले सतर्क रहन सुझाएको छ। यति मात्र नभई थाइल्यान्डमा गर्मी महिनाभर नै उच्च तापमान कायमै रहने, खडेरी पर्ने र कम उत्पादनको जोखिम रहेको बताइएको छ।

जलवायु संकटका लागि अग्रपंक्तिको देश बंगलादेशको ढाकामा शनिबार तापक्रम ४० डिग्री सेल्सियस नाघेको थियो। जुन ५८ वर्ष यताकै उच्च भएको बताइएको छ। केही दिनसम्म पनि तापक्रम नघटे आपत्काल घोषणा गर्ने तयारी भइरहेको बंगलादेशको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका अधिकारीलाई उद्‌धृत गर्दै द गार्डियनले लेखेको छ।

केही वर्षयता अत्यधिक तापक्रम मापन भइरहेको भारतका लागि यो वर्ष थप खराब रहने विज्ञले जनाएका छन्। अप्रिल महिनाको हिटवेभले भारतका उत्तरी र पूर्वी राज्यलाई आक्रान्त पारेको बताइएको छ। बिहार, झारखण्ड, ओडिसा, आन्ध्र प्रदेश, पश्चिम बंगालसहित विभिन्न स्थानमा अत्यधिक गर्मीले जनजीवन कष्टकर बनेको छ।

मंगलबार भारतका उत्तरी र पूर्वी ५ वटा शहरमा ४४ डिग्री र दिल्लीमा ४०.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। यो साता शुक्रबारसम्म यही तापमान कायम रहने अनुमान छ।

त्रिपुरा र ओडिसाका विद्यालय यो साताका लागि बन्द गरिएका छन् भने दिल्लीका विद्यालयमा दिउँसो कक्षाकोठा बाहिरका गतिविधि रोकिएको छ।