उम्मेदवारहरूले भानु र व्यास नगरपालिका केन्द्रित अभियान चलाउँदा बन्दीपुर गाउँपालिकामा चुनावी रौनक छैन। बन्दीपुर–३, रामकोटका स्थानीयहरू यसअघि जितेर जानेले पनि बेवास्ता गरेको गुनासो गर्छन्।
तनहुँ– चर्चित पर्यटकीय ठाउँ बन्दीपुरदेखि पश्चिमतिर लागेपछि पुगिन्छ रामकोट। रामकोट धेरैले सुने–जानेको ठाउँ होइन। बन्दीपुर पुगेका एकाध पर्यटक पैदलै रामकोट पुग्छन्, तर बास बस्न बन्दीपुर नै फर्किन्छन्।
बन्दीपुर गाउँपालिका–३ मा पर्ने रामकोटमा डेढ सय हाराहारीमा घर छन्। तनहुँ–१ मा पर्ने यो गाउँ पुग्न पृथ्वी राजमार्ग छाडेर डाँडा उक्लनु पर्छ। वैशाख १० गते हुने उपनिर्वाचनको रौनक भानु र व्यास नगरपालिकामा जति छ, यी गाउँमा छैन।
रामकोटका टेकबहादुर थापा मगर (६२) चुनावको मिति नजिकै आइपुग्दा पनि कसलाई मत दिने भनेर यकिन नगरेको बताउँछन्। तर, मत माग्न घरदैलोमा नेता, कार्यकर्ता भने आएको बताउँछन्। “मत माग्नका लागि त आएको छ। एमालेबाट भन्सारतिर घर भएका पहिलाका पुलिस उठेका छन् रे। गोविन्द भट्टराई पनि उठेछ। अर्का नयाँ पनि आएका छन्,” उनी भन्छन्, “जसले आफ्नो देश हेर्छ उसैलाई मत दिने भनेको हो।”

कैयौँपटक चुनाव जिताएर पठाएका नेताबाट पनि आफ्नो ठाउँको विकासका लागि काम नभएको उनको गुनासो छ। विकास निर्माणका कतिपय काम बीचैमा अलपत्र पारिएको उनले सुनाए। “वासेग्राबाट पानी ल्याउने भनेको, काम थालेर तमासा भइरहेको छ। ट्यांकी राखेर सब्जीको लागि पानी ल्याउने भनेका थिए क्यारे, खोइ कहिले ल्याउँछ,” उनी भन्छन्।
मत दिएर कुनै पार्टीले काम गर्छ भन्नेमा विश्वास नभएको उनको भनाइ छ। तैपनि आफ्नो मताधिकारको प्रयोग गर्ने उनले सुनाए।
रामकोटकै मनबहादुर थापा मगर (६५) पनि कसलाई मत दिने भन्ने निर्णय गरिनसकेको बताउँछन्। भोट माग्न गाउँमा आएकाहरूले आफूसँग कुरै नगरेको उनको भनाइ छ। “भोट माग्न आएका छैनन्। आएको होला भित्रभित्र, मलाई त भेटेको छैन,” उनी भन्छन्।
मनबहादुरका छोरा रोजगारीका लागि विदेश गएका छन्। बुहारी र नाती दमौली बजारतिर बस्छन्। घरमा बुढाबुढी मात्रै बस्ने र मतदान गर्न बुहारी पनि आउने उनी बताउँछन्।

रामकोट सामुदायिक होमस्टेकी अध्यक्ष बिहीसरा आले मगर चुनावमा जितेर पठाए पनि गाउँका समस्या समाधान नहुने बताउँछिन्। उनका अनुसार रामकोटमा मूल समस्या पानीको छ। पानीका लागि आयोजना परे पनि काम अघि बढ्न सकेको छैन। “हामीले जुन नेता जिताएर पठाए पनि आपसमा झगडा गर्छन्। चुनाव जितेर गएपछि स्वार्थ पूरा गर्नतिर लाग्छन्,” उनले निराशा पोखिन्।
नयाँ पार्टी आए पनि, पुराना आए पनि आफूहरूका लागि सबै उस्तै रहेको उनले बताइन्।
बन्दीपुर–२ मुच्चुकका बलबहादुर कुँवरलाई पनि नेताले जितेर गएपछि आफ्नो क्षेत्रमा विकासका काम गर्छन् भन्ने विश्वास छैन। मतदान गरिसकेपछि नेताका लागि मतदाताको आवश्यकता सकिने उनी बताउँछन्। “जनताले जिताएर पठाउन्जेल मात्र हो। त्यसपछि, सबै उनीहरूको काम हो, काम गर्ने नगर्ने उनीहरूकै कुरा हो,” उनी भन्छन्।
यो पनि- स्थलगत तनहुँ–१ : पुराना दलका नयाँ उम्मेदवारमाथि नयाँ दलको दबदबा
उनी चुनाव आउँदा मात्रै गाउँमा राजनीति छिर्ने बताउँछन्। गाउँका समस्या सुन्न अरू बेला कोही देखा नपर्ने उनको भनाइ छ। “गाउँका मान्छेलाई आफ्नो काममै फुर्सद छैन। राजनीति आउने त्यही चुनावको बेलामा हो,” उनी भन्छन्।
चुनावलाई दल र राजनीतिसँग रुचि राख्नेहरूले अहिले जत्ति महत्वका साथ लिएका छन्, रामकोटले त्यति ठूलो ‘उत्सव’का रूपमा लिएको छैन। धेरैजसो स्थानीय राजनीतिप्रति नै वितृष्णा पोख्छन्। दलहरूका गतिविधि पनि अन्यत्रको तुलनामा कम छ।
तनहुँ–१ मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेलगायत उम्मेदवार छन्। मुख्यगरी यी तीन उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने मतदाता बताउँछन्।
यी दलले बन्दीपुर गाउँपालिकाभन्दा भानु र व्यास नगरपालिकालाई बढी महत्त्व दिएर प्रचार गरिरहेका छन्। भानु र व्यास नगरपालिकामा आक्रामक प्रचार गरिरहँदा बन्दीपुरका धेरै ठाउँ सुनसानजस्तै देखिन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
