राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, उपचारका लागि दिल्ली लगिँदै

पेटको समस्यामा सुधार नआएपछि चिकित्सकको सल्लाहअनुसार राष्ट्रपति पौडेललाई नयाँदिल्ली लैजान लागिएको उनको सचिवालयले जनाएको छ। 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल मंगलबार बेलुका त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। चिकित्सकको सल्लाहअनुसार राष्ट्रपति पौडेललाई नयाँदिल्ली लैजान लागिएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

“उहाँको पेटको समस्या हो। पहिले पनि भारतमा गएर उपचार गर्नुभएको थियो,” पोखरेलले उकालोसँग भने, “चिकित्सकको सल्लाहअनुसार बुधबार नै लैजाने तयारी छ। तर, समय निश्चित भइसकेको छैन।”  

राष्ट्रपति पौडेललाई श्री एयरलाइन्सको विमानमार्फत नयाँ दिल्लीस्थित एम्स अस्पतालमा लगिने उनको सचिवालयले जनाएको छ। 

थप उपचारका लागि शिक्षण अस्पताल र एम्सका चिकित्सकबीच परामर्श भइरहेको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनी गत साता तीन दिन अस्पताल बसेर फर्केका थिए।

मंगलबार असहज भएपछि उनलाई पुनः अस्पताल भर्ना गरिएको हो। राष्ट्रपति पौडेलसँग नेपाली चिकित्सक टोली र परिवारका सदस्य पनि जाने तयारी छ।