प्रश्न उठेपछि राष्ट्रपतिले फिर्ता गरे पूर्वसभामुखका रूपमा लिएको गाडी

सार्वजनिक रूपमा प्रश्न उठेपछि राष्ट्रपति पौडेलले पूर्वसभामुखका रूपमा प्रयोग गरिरहेको गाडी संसद् सचिवालयमा फिर्ता गरेका छन्।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुखको हैसियतमा लिएको गाडी फिर्ता गरेका छन्। सार्वजनिक रूपमा प्रश्न उठेपछि राष्ट्रपति पौडेलले पूर्वसभामुखका रूपमा प्रयोग गरिरहेको गाडी संसद् सचिवालयमा फर्काएका हुन्।

राष्ट्रपति पौडेलेका प्रेस संयोजक खिला कार्कीले राष्ट्रपति पौडेलले सुविधामा पाएको गाडी फिर्ता गरेको जनाएका छन्। “राष्ट्रपति रामचन्द्र पौडेलज्यूले यसअघि सुविधामा पाएको गाडी संसद् सचिवालयमा फिर्ता भइसकेको जानकारी गराइन्छ,” उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्। उनले पोस्ट गरेको संघीय संसद्को गाडी फिर्तासम्बन्धी कागजातमा मंगलबार (वैशाख ५ गते) पौडेलले प्रयोग गरिरहेको गाडी फिर्ता गरिएको उल्लेख छ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार सात दिनभित्र गाडी फिर्ता गर्नुपर्ने भए पनि पौडेल राष्ट्रपति नियुक्त भएको ४० दिन पुग्दासम्म सुविधाको गाडी फिर्ता नगरेको भन्दै प्रश्न उठेको थियो।