दार्चुलामा विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक

गतवर्ष शैक्षिक सत्रको अन्तिमसम्म पुस्तक नपाएपछि विद्यार्थीले विद्यालयमा तालाबन्दी नै गरेका थिए। अहिले सबै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याइसकिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ। 

खलंगा– विगतमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था अन्त्य भएको छ। यहाँका विद्यार्थीले यसवर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन्।

शैक्षिक सत्रको शुरूआतमै भर्ना भएसँगै पाठ्यपुस्तक पाउँदा खुशी लागेको शैल्यशिखर नगरपालिका–६ को मालिकार्जुन माध्यमिक विद्यालयमा अध्ययनरत निशा धामीले बताइन्।

गतवर्ष शैक्षिक सत्रको अन्तिमसम्म पुस्तक नपाएको भन्दै यहाँका विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका थिए। विद्यालयमा भर्ना हुने समयमा विद्यार्थीको हातमा पुस्तक दिन पाउँदा आफू पनि उत्साहित भएको विद्यालयका निमित्त प्रधानाध्यापक रामसिंह धामीले बताए।

“विद्यार्थीले शैक्षिक सत्र शुरू भएको लामो समयसम्म पुस्तक भएन भनेर गुनासो गर्थे हामीलाई पनि पढाउँदा समस्या हुन्थ्यो,” उनले भने, “यो वर्ष भर्ना भएसँगै विद्यार्थीको हातमा पुस्तक दिन पाउँदा हर्षित भएका छौँ।”

विद्यालयमा २५० विद्यार्थी अध्ययनरत छन्। मंगलबार मात्रै १५० विद्यार्थीलाई पुस्तक वितरण गरिएको धामीले जानकारी दिए। शुरूदेखि नै झोलाभरी कापी र किताब बोकेर विद्यालय जान पाउँदा विद्यार्थीमा समेत पढाइप्रतिको उत्साह थपिएको अविभावकको बुझाइ छ।  

त्यस्तै शैल्यशिखर नगरपालिका–६ स्थित शैल्यशिखर आधारभूत विद्यालय २४० विद्यार्थी छन्। भर्नासँगै पुस्तक वितरण हुने भएपछि विद्यार्थी भर्ना संख्या बढेको प्रधानाध्यापक शारदा धामीले बताइन्।

शैक्षिक सत्रको अन्त्यसम्म पनि पाठ्यपुस्तक नहुँदाको समस्यालाई मध्यनजर गर्दै जिल्लाका सबै विद्यालयमा समयमै पाठ्यपुस्तक उपलब्ध गराइएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिए।