खार्तुममा शनिबारदेखि जारी भिडन्तमा परी हालसम्म करीब १०० जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समुदायले हिंसा स्थायी रूपमै बन्द गर्न दुवै पक्षलाई आग्रह गरेका छन्।
सुडानमा सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको भिडन्त सोमबार तेस्रो दिन पनि जारी छ। शनिबारदेखि जारी दुईपक्षीय भिडन्तमा परी हालसम्म करीब १०० जनाको मृत्यु भएको डक्टर्स एसोशिएसनले जनाएको छ। यस्तै, ११ सयभन्दा बढी घाइते भएको बताइएको छ।
मृतक र घाइतेको संख्याबारे फरक फरक तथ्यांक आइरहेका छन्। सुडान डक्टर्सको कमिटीले ९७ जना र विश्व स्वास्थ्य संगठनले ८३ जनाको मृत्यु भएको बताएका छन्।
सुडानको सैन्य सरकार र सत्ता हत्याउने प्रयास गरिरहेको आरएसएफ दुवैले विमानस्थल, राष्ट्रपतीय कार्यालयसहित विभिन्न संवेदनशील स्थान कब्जामा लिएको दाबी गरेको थियो। तर, खार्तुममा संघर्ष जारी छ। त्यहाँ विष्फोटका आवाजसँगै धुवाँको मुस्लो पनि आइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। हवाई आक्रमणसमेत भइरहेको छ।
विस्फोटबाट बच्न सर्वसाधारण लुकेर बसिरहेको बताइएको छ। यसअघि आइतबार दुवै पक्षले घाइतेहरूको उद्धारका लागि भन्दै केही समयका लागि अस्थायी युद्धविराम गरेका थिए। यद्यपि, अहिले भिडन्त जारी छ।
मुलुकको शासन व्यवस्था कस्तो बनाउने भन्ने विषयमा फरक धारणा राख्ने सुडानी सेना र अर्धसैनिक बलको नेतृत्वबीच तनाव जारी छ। सन् २०१९ मा लामो समयदेखिका निरंकुश राष्ट्रपति ओमार–अल–बसीर सत्ताबाट बाहिरिएपछि सुडानमा अस्थिरता मौलाएको थियो। त्यसयता, त्यहाँ सैन्य नेतृत्वले सरकार चलाउँदै आएको छ। त्यसको विरोधमा शक्तिशाली अर्धसैनिक बल संघर्षमा उत्रिएको छ।
खार्तुमका स्थानीय हुदाले बीबीसीसँगको कुराकानीमा भनेका छन्, “विस्फोटको आवाज र घरहरू थर्किएका कारण २४ घण्टायता सुत्न पाएका छैनौँ। खाना, पानी र मधुमेहबाट पीडित मेरा बुबाका लागि औषधी अभाव भएका कारण चिन्तित छौँ।”
खार्तुमका अर्का स्थानीय खोलुद खैर भन्छन्, “सबै सर्वसाधारणलाई घरबाहिर ननिस्किन भनिएको छ। तर, त्यसले पनि सबैजना सुरक्षित हुने स्थिति छैन।”
सुडानको हिंसा स्थायी रूपमै बन्द गर्न अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई आग्रह गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
