जापानको कारुइजावामा जी–सेभेनको विदेशमन्त्री स्तरीय बैठक आइतबारदेखि मंगलबारसम्म चल्ने छ। जापानी प्रधानमन्त्री किशिदाले बैठक अवधिभर सुरक्षा व्यवस्थालाई कडा पारिने प्रतिबद्धता जनाएका छन्।
विश्वको संकट तथा समस्या समाधान प्रयासका लागि छलफल गर्न विश्वका सात धनी देशहरूको समूह जी–सेभेन (जापान, अमेरिका, इटली, युरोपियन युनियन, क्यानडा, फ्रान्स)का विदेशमन्त्रीहरू जापान पुगेका छन्।
रुस–युक्रेन युद्ध अन्त्य, ताइवानप्रति चिनियाँ आक्रोश कम गर्ने र उत्तर कोरियालाई आणविक निःशस्त्रीकरणमा फर्काउने प्रयास लगायतका अजेन्डामा छलफल गर्न जी–सेभेनका विदेशमन्त्रीहरू जापान पुगेका हुन्। जापानको नागानो क्षेत्रको कारुइजावामा बस्ने जी–सेभेनको विदेशमन्त्री स्तरीय बैठक आइतबारदेखि मंगलबारसम्म चल्नेछ। कारुइजावाको सुरक्षा व्यवस्था कडा पारिएको छ।
आइतबारको बैठकमा विशेषगरी चीन र उत्तर कोरियाको विषयलाई केन्द्रमा राखेर छलफल हुने बताइएको छ। साथै, बैठकमा जापानसहित केही जी–सेभेन देशहरूले युक्रेनमा सहायता बढाउने विषयमा महत्त्वपूर्ण निर्णय गर्नसक्ने केही पर्यवेक्षकहरूले अपेक्षा गरेको एपी न्युजले जनाएको छ।
बैठकको पूर्वसन्ध्यामा चुनावी अभियानका क्रममा जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि ‘स्मोक बम’ प्रहार र अमेरिकी गोप्य दस्ताबेज लिकपछिको सम्भावित सुरक्षा चुनौतीका विषयले बैठकका प्रमुख अजेन्डा ओझेल पर्न सक्ने जोखिम बढेको एपी न्युजले उल्लेख गरेको छ।
यद्यपि, चुनावी अभियानका क्रममा आफूमाथि स्मोक बम प्रहार भएको घटना र सुरक्षा चुनौतीबारेका टीकाटिप्पणीकाबीच जापानी प्रधानमन्त्री किशिदाले बैठक अवधिभर सुरक्षा व्यवस्थालाई कडा पार्ने प्रतिबद्धता जनाएका छन्।
बैठकअघि बोल्दै जापानी प्रधानमन्त्री किशिदाले भने, “विश्वका उच्चपदस्थ अधिकारीहरू भ्रमणका बेला जापानले उनीहरूको सुरक्षा सुनिश्चितताका लागि अधिकतम प्रयास गर्नेछ। हाम्रो प्रजातन्त्रमा मतदाताले आफ्नो आवाज मतदानमार्फत उठाउनुपर्छ। चुनावी अभियानमा भएको यस प्रकारको हिंसात्मक गतिविधि भने अक्षम्य छ।”
स्मोक बम प्रहारपछि प्रधानमन्त्री किशिदालाई सकुशल उद्धार गरिएको थियो। जापानमा यस्ता हिंसात्मक घटना बिरलै हुने गरेका छन्।
युक्रेन–युद्ध सम्बन्धमा चुहिएका केही अमेरिकी गोप्य दस्ताबेज र आफ्ना साझेदार एवं मित्र राष्ट्रबारे अमेरिकी धारणा सम्बन्धमा दृढता प्रस्तुत गर्न बाइडेन प्रशासनका लागि जापानको विदेशमन्त्रीस्तरीय बैठक पहिलो वास्तविक परीक्षण हुने एपी न्युजले उल्लेख गरेको छ।
जापान जानुअघि शनिबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले सार्वजनिक दस्ताबेज सम्बन्धमा कुनै पनि राष्ट्रको चासोबारे नसुनेको तर बैठकभर खुलासाहरूबारे चर्चा हुने बताएका थिए। अमेरिकी गोप्य दस्ताबेज सार्वजनिक भएयता अमेरिका पहिलो पटक महत्त्वपूर्ण अन्तर्राष्ट्रिय कूटनीतिक सम्मेलनमा सहभागी हुँदैछ।
तीनदिने सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्नसक्ने विषय, ताइवानप्रति चिनियाँ आक्रोश, उत्तर कोरियाद्वारा भएका शृंखलाबद्ध हतियार परीक्षणसहितका अजेन्डामा बैठकले प्राथमिकता पाउने बताइएको छ।
“मेरो नेतृत्वको बैठकले यथास्थितिलाई बलपूर्वक परिवर्तन गर्ने प्रयास, आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी र हतियार प्रयोगविरुद्ध जी–सेभेनले प्रतिबद्धता जनाउने छ। साथै, बैठक अन्तर्राष्ट्रिय व्यवस्थाको बचाउमा केन्द्रित हुनेछ,” जापानी विदेशमन्त्री योशिमासा हयाशीले बैठकअघि भनेका थिए। चिनियाँ कूटनीतिज्ञहरूको सहभागिता नभए पनि बैठकमा चीनको सैन्य बिस्तारको विषयमा पनि छलफल हुने बनाइएको छ।
हालै, ताइवानको सीमामा चीनले विमान र पानीजहाज तैनाथ गर्दै ताइवानलाई घेरा हालेको, आणविक हतियार निर्माण बढाएको, साउथ चाइना सीको विवादास्पद भूमिमा दाबी गरेको विषयप्रतिको चासो बैठकमा सम्बोधन हुने बताइएको छ। साथै, गत वर्षयता मात्रै १०० भन्दा बढी आणविक हतियार परीक्षण गरेको उत्तर कोरियालाई आणविक निःशस्त्रीकरणका लागि मनाउने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।
यसैबीच, जापानको हिरोशिमामा आगामी मे महिनामा हुने जी–सेभेन सम्मेलनमा जलवायु, अर्थव्यवस्थासहितका महत्त्वपूर्ण विषयमा छलफल हुने बताइएको छ। सम्मेलनमा जापानसहित अन्य प्रजातान्त्रिक देशहरूले रुस, चीन र उत्तर कोरियाविरुद्ध बलियो एकीकृत मोर्चा तयार पार्ने अपेक्षा गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
