सबैभन्दा पहिला ब्राजिलमा भेटिएको गहुँको ढुसीजन्य रोग दक्षिण अमेरिका हुँदै अहिले अफ्रिका र एशियाको बंगलादेशमा देखिएको छ। यो रोगका कारण गहुँ उत्पादन नै संकटमा पर्न सक्ने विज्ञहरू बताउँछन्।
गहुँ पाक्न थालिसकेको छ। किसानलाई गहुँ काटेर भित्र्याउन चटारो शुरू भइसकेको छ। गहुँ नेपालको पनि महत्वपूर्ण खाद्य बाली हो। उत्पादन क्षेत्र र उत्पादन परिणामका आधारमा नेपालमा उब्जानी हुने खाद्यबालीमध्ये गहुँ तेस्रो स्थानमा छ।
नेपालको लागि मात्रै होइन, विश्वकै लागि गहुँ महत्वपूर्ण खाद्य बाली हो। तर गहुँको उत्पादनमा संकट निम्तिने खतरा बढ्दै गएको एक अध्ययनले देखाएको छ। गहुँमा देखिएको रोगको महामारी फैलिएर विश्वमै गहुँको आपूर्तिलाई प्रभावित गर्न सक्ने प्रक्षेपण अनुसन्धाताहरूले गरिरहेका छन्। शुरूमा दक्षिण अमेरिकामा गहुँमा देखापरेको ‘म्याग्नापोर्थे ओरिजा पाथोटाइप ट्रिटिकम’ नामक ढुसीजनित रोगको संक्रमण विश्वभरि नै फैलिने जोखिम भएको अध्ययनले देखाएको छ।
यो रोग शुरूमा ब्राजिलमा सन् १९८५ मा पहिचान गरिएको थियो। पछि प्रमुख गहुँ उत्पादन गर्ने बोलिभिया, पाराग्वे, अर्जेन्टिनालगायत दक्षिण अमेरिकी देशहरूमा फैलियो। हालैका वर्षहरूमा अन्तर्राष्ट्रिय गहुँ व्यापारका माध्यमबाट एसियाली देश बंगलादेश र अफ्रिकी देश जाम्बियामा देखिएको छ। अब यी महादेशमा पनि यो रोग फैलिने जोखिम बढेको वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
गहुँका बाला शुरूमा हरियो हुन्छन्, पछि सुक्दै गएपछि हल्का पहेँलो रंगका भएपछि काटिन्छ। तर ‘म्याग्नापोर्थे ओरिजा पाथोटाइप ट्रिटिकम’बाट संक्रमित गहुँका बाला चाँदीजस्ता सेता हुन्छन्। यसले पात, डाँठ, बीउ सबैलाई संक्रमित गराउन सक्छ।
दक्षिण अमेरिकाबाट आएको एक किराको एकल परिवारले अफ्रिका र एशियाको केही क्षेत्रमा म्याग्नापोर्थे ओरिजाको प्रकोप बढाएको बताइएको छ। यो संकटलाई विज्ञहरूले ‘ह्वीट ब्लास्ट’को संज्ञा दिएका छन्। अनुसन्धानकर्मीहरूले ‘पीएलओए बायोलोजी’ नामक मासिक जर्नललाई ११ अप्रिलमा दिएको रिपोर्टका अनुसार यो संक्रमणले अन्य देशका गहुँबालीमा पनि हमला गर्न सक्छ। यो संक्रमणले गहुँ मात्रै नभई अन्य महत्वपूर्ण खाद्य बालीलाई समेत प्रभावित गर्न सक्ने क्षमता रहेको भन्दै उनीहरूले चिन्ता पनि व्यक्त गरेका छन्।
“यो एकदमै गम्भीर रोग हो। यसले विश्वका केही गरीब देशमा हुने गरेको गहुँ खेतीलाई खतरामा पार्न सक्छ,” बेलायतको नर्विचस्थित सेन्सबरी प्रयोगशालाका प्लान्ट प्याथोलोजिस्ट निक ट्याल्बोट भन्छन्, “यो संक्रमणसँग विश्वभर फैलिने क्षमता पनि छ।”
यसरी भयो विश्वव्यापी प्रसार
म्याग्नापोथे ओरिजा नामक ढुसीले जंगली र खेती गरिएको घाँस तथा खाद्य बालीमध्ये विशेषगरी चामल र गहुँमा संक्रमण गर्छ। अन्वेषकहरूले पहिलोपटक सन् १९८० को दशकमा ब्राजिलको गहुँ बालीमा यो किरा फेला पारेका थिए। त्यसपछि यो ढुसी दक्षिण अमेरिकाभरि फैलियो।
सन् २०१६ मा बंगलादेशमा पहिलोपटक यो रोगको संक्रमण देखिएको थियो। अनुसन्धानकर्ताहरूका अनुसार बंगलादेशमा फेला परेको संक्रमण दक्षिण अमेरिकामा पाइने ढुसीकै नै वंश हो। सन् २०१८ मा पहिलोपटक अफ्रिकामा पनि देखियो। अफ्रिकाको जाम्बियामा देखिएको यो रोग अमेरिका वा बंगलादेशबाट गएको भन्ने स्पष्ट छैन।
रोगको उत्पत्ति पत्ता लगाउन अन्वेषकहरूले ८४ आनुवांशिक मार्करहरूको लागि ५०० म्याग्नापोथे ओरिजाका नमूनाहरूभन्दा बढी संकलन गरी विश्लेषण गरेका थिए। ७१ वटा जीनोमहरूका फरकफरक नमूना क्रमबद्ध गरेका थिए। गत वर्षको जुन २ मा प्रकाशित प्रिपिन्ट अध्ययनमा अफ्रिकी, एसियाली र दक्षिण अमेरिकी गहुँमा देखिएको रोगको आइसोलेट्स जीनोमहरू विश्लेषण गरिएको थियो।
यस अध्ययनमा सहभागी युनिभर्सिटी कलेज अफ लन्डनका विकासवादी आनुवंशिकविद् हर्नान बुर्बानोका अनुसार यसले दक्षिण अमेरिकाबाट गहुँको ब्लास्ट स्टे«न अफ्रिका र एसियामा स्वतन्त्र रूपमा पुगेको देखाउँछ।
यी रोगहरू मानिसहरूकै कारण कुनै न कुनै रुपमा एक ठाउँबाट अर्काे ठाउँमा फैलिइरहेको स्विट्जरल्याण्डको स्वीस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजीका प्लान्ट प्याथोलोजिस्ट बु्रस म्याक डोनाल्डले बताएका छन्। उनी भन्छन्, “यसमा मानवीय गतिविधि बढी जिम्मेवार छ।”
यो रोग संक्रमित बीउको उत्पत्ति कहाँ भयो भन्नेमा अनुसन्धाताहरूबीच मतैक्य छ। उनीहरूका अनुसार यो रोगबाट संक्रमित बीउ ब्राजिल र बोलिभियामा फेला परेको थियो। संक्रमित बीउको आयात नै प्रकोपको सम्भावित स्रोत हो।
रोग उन्मुलनका प्रयास
बंगलादेशको गाजीपुरस्थित बंगबन्धु शेख मुजिबर रहमान कृषि विश्वविद्यालयका पर्यावरणीय रसायनशास्त्री तोफज्जल इस्लामका अनुसार अन्वेषकहरू अब बंगलादेशमा गहुँको संकटको फैलावटलाई निगरानी गर्न जीनोमिक जानकारी लिइरहेका छन्। उनको टोलीले महामारी पछाडि संक्रमण नभएका गहुँ र रोग प्रतिरोधी गहुँ बाली तयार गर्न लागि परेका छन्।
उनीहरूले गरेको जीनोमिक विश्लेषणले सम्भावित खतरा देखाएको छ। यसको प्रकोपलाई रोक्न भने कठिन हुने खतरासमेत देखिएको छ। यी संक्रमित बीउमा पाइने म्याग्नापोथे ओरिजाले अर्काे बीउको वंशसँग मिलन गरेर नयाँ विशेषता पाउन सक्ने खतरा छ।
म्याकडोनाल्ड बंगलादेश र जाम्बियाबाट निम्तिएको गहुँको संकट उन्मुलन गर्न प्रयास गरिनुपर्ने बताउँछन्। तर हाल भइरहेको जीनोमिक निगरानीले मात्रै रोगको फैलावटलाई कम गर्न नसक्ने उनको धारणा छ।
“विश्वव्यापी रूपमा गहुँका बोट विरुवामा देखिएको रोगको अध्ययन अनुसन्धान गर्ने वैज्ञानिक थोरै छन्,” उनी भन्छन, “गहुँमा लागेको रोगलाई प्रकोपको रूपमा फैलिन नदिन गर्नुपर्ने पूर्वतयारी गरिएको छैन, रोग पत्ता लगाउने संयन्त्र पनि अपर्याप्त छ।”
नेचर जर्नलमा प्रकाशित लेखको भावानुवाद
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
