जापानी प्रधानमन्त्रीमाथि 'स्मोक बम' प्रहार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा

वाकायामा आयोजित चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्री किशिदामाथि ‘स्मोक बम’ प्रहार भएको थियो। उनलाई सुरक्षित रूपमा सकुशल कार्यक्रम स्थलबाट निकालिएको बताइएको छ।

प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रमणको प्रयास भएको छ। वाकायामा आयोजित एक चुनावी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जनाएका छन्। 

प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको तथा उनलाई सुरक्षित रूपमा सकुशल कार्यक्रम स्थलबाट निकालिएको बताइएको छ। प्रतिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्न मञ्चमा पुग्न लागेका प्रधानमन्त्रीमाथि आक्रमण भएको हो। आक्रमणको आशंकामा प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ। यद्यपि, प्रहरीले यसलाई पुष्टि गरे पनि थप जानकारी दिएको छैन। 

एक जना प्रत्यक्षदर्शीका अनुसार एक युवकले प्रधानमन्त्रीलाई लक्ष्य गर्दै केही फ्याकेको देखेको तथा केही क्षणमै धुवाँको मुस्लो निस्किँदै ठूलो आवाज त्यो वस्तु विस्फोट भएको थियो। बम विस्फोटपछि कार्यक्रम स्थलबाट सर्वसाधारण भागेका दृश्य एनएचकेको प्रसारणमा देखिन्छ।

प्रधानमन्त्री किशिदाको लिबरल डेमोक्र्याटिक पार्टीका सदस्य हिरोशी मोरियामाले लोकतन्त्रको आधार स्तम्भ सुदृढ बनाउने चुनावी अभियानमा यस्ता घटना हुनु खेदजनक भएको बताउँदै त्यसलाई उनले अक्षम्य अपराध भनेका छन्। 

जापानमा हिंसात्मक घटना विरलै हुने गरेका छन्। तर गत वर्ष चुनावी अभियानका क्रममा पूर्वप्रधानमन्त्री शिन्जो आबेको गाली प्रहारबाट हत्या भएपछि राजनीतिक दलका नेतामा सुरक्षा चिन्ता बढेको छ।