प्रहरी सहायक हवल्दारले गोली चलाउँदा वर्षमान पुनकी आमा घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै

गोली चलाउने सहायक हवल्दार प्रकाश कायममुकायम प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी हुन्। वर्षामान पुनको नातेदार रहेका उनी नयाँ वर्ष मनाउन गौरीधारा गएका थिए। 

सांकेतिक तस्वीर

काठमाडौँ– प्रहरी सहायक हवल्दार प्रकाश पुनले गोली चलाउँदा माओवादी उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुन घाइते भएकी छन्।

उनको देब्रे खुट्टामा गोली लागेको छ। उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

शुक्रबार राति काठमाडौँको गौरीधारास्थित तीर्थमाली बस्ने घरमा गोली चलाएर भागेका प्रकाशलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

प्रकाश कायममुकायम प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी हुन्।

नातामा तीर्थमालीको नाति पर्ने प्रकाश नयाँ वर्ष मनाउन गौरीधारा गएका थिए।