सन्दीप लामिछानेविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता

सरकारी वकिलको कार्यालयले बलात्कार कसुरमा उनलाई १० देखि १२ वर्ष कैद सजाय हुनुपर्ने माग गर्दै मुद्दा दर्ता गरेको हो।

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

काठमाडौँ सरकारी वकिलको कार्यालयका सूचना अधिकारी उपन्यायाधिवक्ता लक्ष्मण घिमिरेले सन्दीपविरुद्धको मुद्दा अदालतमा दर्ता गरिएको जानकारी दिए।

सरकारी वकिलको कार्यालयले बलात्कार कसुरमा उनलाई १० देखि १२ वर्ष कैद सजाय हुनुपर्ने माग गर्दै मुद्दा दर्ता गरेको हो।

अदालतमा मुद्दा दर्ता भएसँगै मंगलबारदेखि सन्दीपको बयान हुनेछ र सोही दिन थुनछेक बहस शुरू हुने छ।

“आज हामीले मुद्दा दर्ता गरेका छौँ। भोलि गोलापर्थाबाट मुद्दा इजलासमा तोकिएपछि बयान र थुनछेक बहस शुरू हुन्छ,” उनले भने।

१७ वर्षीय बालिकालाई बलात्कार गरेको अभियानमा सन्दीपविरुद्ध गौशाला प्रहरी वृत्तमा भदौ २१ गते जाहेरी परेको थियो। असोज २० गते नेपाल आए लगत्तै प्रहरीले विमानस्थलबाट नै सन्दीपलाई पक्राउ गरेको थियो।

गौशालास्थित एक होटेलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोप बालिकाको छ।