तोराखेत गाउँमाथिको चट्टाने पहिराबाट बेनी नगरपालिका–२ को बगरफाँटलाई ठूलो खतरा रहेको छ। तोराखेतको पुछारमा रहेको धुपीरूखतर्फको पहिराले बगरफाँट उच्च जोखिममा पारेको छ।
गलेश्वर– पहिरोका कारण चिराचिरा परेको तोराखेत गाउँमा बस्छन् ३२ घरका डेढ सय परिवार। म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली तोराखेत गाउँ पहिरोको चपेटामा परेको २० वर्ष भयो। दुई दशकको अवधिमा गाउँबाट ६० भन्दा बढी व्यक्तिले बसाइँसराइ गरे पनि ७३ वर्षीय भक्तबहादुर सापकोटाले भने गाउँ छोडेर अन्यत्र बसाइँ सर्न मानेनन्। गाउँमा रहेका उनीसहित ३२ घर परिवारलाई बर्खा नलाग्दै पहिरोको चिन्ताले सताउने गरेको छ।
विसं २०५८ देखि खस्न शुरू गरेको यो पहिराले बर्सेनि उग्ररूप लिँदै गएकाले स्थानीय सरकारको बजेटले पहिरो नियन्त्रण गर्नै नसकिने अवस्थामा पुगेको सरोकारवाल बताउँछन्। पहिरो नियन्त्रणका लागि पहल हुँदा बेनी नगरपालिका–३ तोराखेत र बेनी नगरपालिका–२ बगरफाँटका ६० भन्दा बढी घर उच्च जोखिममा परेकाले पछिल्लो दुई वर्षमा तोराखेतका १७ र बगरफाँटमा चार घर परिवार विस्थापित भए।
विसं २०७२ को भूकम्पले जमिनको सतह खल्बल्याएकाले उक्त पहिरो थप जोखिमपूर्ण बनेको स्थानीय अगुवा दिलबहादुर सापकोटाले बताए। तोराखेतको करिब एक किलोमिटर क्षेत्रफल ओगटेको चट्टानयुक्त जमिनका दर्जनभन्दा बढी ठाउँमा ठाडो चिरा परेको छ।
माथिबाट पहिरो आउने र घरजग्गा रहेको जमिन तलतर्फ भासिने क्रम बढेपछि तोराखेतको पहिरो वरपरको क्षेत्रमा बसोबास गर्ने १७ घर परिवारलाई स्थानान्तरण गरी ज्यामरूककोटको भकुण्डे, फापरखेत र बगरफाँटमा राखिएको बेनीनगरपालिका–२ ज्यामरूककोटका वडाध्यक्ष यामबहादुर कार्कीले बताउँछन्।
तल विशाल चट्टाने पहरोको बीचमा भिरालो जमिन र सोही स्थानमा रहेको तोराखेत गाउँभन्दा करिब तीन सय मिटरमाथिबाट भकुण्डे–भकिम्ली जोड्ने कच्ची मोटर बाटो छ। भकिम्लीको चिनाखेत कटेपछि भकिम्ली र ज्यामरूककोटको सीमा नजिक पर्ने सात्लेपानीसम्मको अधिकांश भाग चर्केको, धाँजा फाटेको र सोही क्षेत्र वरपर पानीका मूल रहेकाले पनि वर्षाको समयमा पहिराको खतरा बढेको स्थानीयवासीको गुनासो थियो।
कमजोर भू–बनोट भएको भिरालो गाउँ, गाउँको सिरानमा मोटरबाटो, योसँगैको पहरो फुटेर बगेको चट्टाने पहिरा, जङ्गल र त्यस क्षेत्रमा रहेका पानीका मूलका कारण पनि सो पहिरो तोराखेत र बगरफाँटवासीका लागि खतरापूर्ण रहेको स्थानीय जनप्रतिनिधिले बताए।
तोराखेत गाउँमाथिको चट्टाने पहिराबाट बेनी नगरपालिका–२ को बगरफाँटलाई ठूलो खतरा रहेको छ। तोराखेतको पुछारमा रहेको धुपीरूखतर्फको पहिराले बगरफाँट उच्च जोखिममा पारेको छ। भिरालो जमिन माथिबाट लच्किँदै आएका कारण विगतका वर्षमा भन्दा यस वर्षको बर्खायाममा तोराखेत गाउँ बढी खतरायुक्त पुगेको सोही ठाउँ निवासी भक्त सापकोटाले बताउँछन्।
“बर्खा नलाग्दै पहिरोको चिन्ताले रातभरि निद्रा लाग्दैन, पहिरोकै कारण सबै दामलीहरु गाउँ छोडेर हिँडे, बसेका हामी र बँचेको जग्गा जमिन पनि पहिरोले कति बेला उजाड बनाउँछ र थाँतथलो नासिन्छ भन्ने त्रासमा छौँ हामी”, उनले भने। स्थानीयवासीका अनुसार विगत वर्षका तुलनामा यस वर्ष तोराखेतको बस्ती नजिकको जमिन धेरै नै भासिएको छ।
गाउँको पूर्वपट्टि करिब तीन सय ५० मिटरको दूरीमा रहेको धुपीरूखसम्मको जमिनमा धाँजा फाँटेको छ भने सो क्षेत्रको जमिनमा पनि ठाडो मुख चिरिएको छ। पहिरोका कारण सदरमुकाम बेनी बजारसँगै सिमाना जोडिएको बगरफाँट गाउँ उच्च जोखिममा रहेकाले वर्षाको समयमा बगरफाँटवासी समेत त्रस्त हुने गर्दछन्।
पहिरो नियन्त्रण र भूअध्ययनका लागि केन्द्रबाट विशेषज्ञको टोली ल्याएर निरीक्षण गराउँदा कमजोर र भिरालो भूबनोटका कारण पहिरो नियन्त्रण गर्न स्थानीय प्रयासले मात्र सम्भव नहने सुझाव आएकाले यहाँ रहेका बासिन्दालाई वैकल्पिक ठाउँको व्यवस्थापनतर्फ स्थानीय तह लागेको बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
