बालबालिकामा एन्जाइटी डिसअर्डर हुँदा श्वास फेर्न गाह्रो हुने, चिटचिट पसिना आउने, आफूलाई नियन्त्रण गर्न नसक्ने र ढल्नेसम्म हुन्छ। बानी परिवर्तन हुन्छ। विद्यालय जान नमान्ने, एक्लै बस्ने गर्छन्।
काठमाडौँ– नेपालगन्जका ८ वर्षीय वरुण कार्की (नाम परिवर्तन) विद्यालय जान मान्दैन थिए। विद्यालय जाने कुरा सुनेपछि रुन थाल्ने, पढेको कुरा नसम्झने, एकान्त मन पराउने, साथी र परिवारसँग घुलमिल हुन नखोज्ने स्वभाव थियो। बेलाबेलामा बेहोस हुने, पसिना आउनेजस्ता समस्या देखिन थालेपछि परिवारले अस्पताल लगे।
वरुणलाई यस्तो समस्या हुन थालेको धेरै भए पनि सामान्य ठानेर बसेको उनकी आमा बताउँछिन्। उनी एक्लै भएको बेला परिवारका सदस्यले मोबाइल दिन्थे। अनि, त्यसमै भुल्थे। विद्यालयबाट फर्किएपछि कोठाबाट बाहिर जान मान्दैन थिए।
“समस्या झनै बढ्दै गयो। अनि अस्पताल (कान्ति बाल अस्पताल) ल्याएका हौँ। अस्पताल ल्याएपछि मात्र थाहा भयो, छोरालाई एन्जाइटी भएको रहेछ,” आमाले भनिन्।
त्यस्तै, कञ्चनपुरकी ६ वर्षीया एक बालिकाले खाना खान मन नगर्ने, एकोहोरिने, एकान्त मन पराउने, कोठामा एक्लै बस्नेजस्ता क्रियाकलाप गर्न थालिन्। त्यसअघि, उनी खेल्न, धेरै साथीहरू बनाउन र कुरा गर्न रुचि राख्थिन्। केही समयदेखि उनको व्यवहार परिवर्तन भएपछि उनका बाबुले उपचारका लागि काठमाडौँ लिएर आए।
“छारीको व्यवहारमा परिवर्तन भएको देखेपछि सामान्य शारीरिक समस्या होला भन्ने सोचेर नजिकैको मेडिकलमा लगेको थिएँ,” बालिकाका बाबु भन्छन्, “तर शारीरिक नभइ मानसिक समस्या एन्जाइटी डिसअर्डरको लक्षण देखिएको रहेछ।”
वयोधा अस्पतालका सहायक मनोचिकित्सक डा. युजलमान सिंह ‘एन्जाइटी डिसअर्डर’ हुँदा बालबालिकाले स्कुल जान मन नगर्ने बताउँछन्। नकारात्मक सोच्ने, चिडचिडाहट हुने, निद्रा कम मात्र लाग्नेलगायत लक्षण हुन्छन्। एन्जाइटी डिसअर्डरका प्रकारहरू स्पेसलाइज्ड फोेबिया, सोसल फोबिया, सेपेरेशन एन्जाइटी डिसअर्डर, जेनेरलाइज्ड एन्जाइटी डिसअर्डर हुन्।
कान्ति अस्पतालका बाल मनोरोग विशेषज्ञ डा. अमित झाका अनुसार एन्जाइटी डिसअर्डर हुँदा श्वास फेर्न गाह्रो हुने, चिटचिट पसिना आउने, आफूलाई नियन्त्रण गर्न नसक्ने र जमिनमा ढल्नेसम्मको अवस्था हुन्छ। यस्तो समस्या भएपछि बालबालिकाको दैनिक क्रियाकलपमा परिवर्तन हुन थाल्छ।
डा. झाका अनुसार बालबालिकामा ‘मेरो कोही छैन’, ‘मलाई बुझ्ने कोही छैन’ जस्ता भावना विकास हुँदै जान्छ। जीवन अनिश्चित महसुस गर्छन्। कुनै पनि काममा केन्द्रित हुन सक्दैनन्। निद्रामा झसंग भएर ब्युँझने हुन्छ। आत्मविश्वास घट्छ। स्कुल गए पनि डराउने, सुरक्षित महसुस नगर्ने हुन्छ।
एन्जाइटी डिसअर्डर कोरोनाको समयभन्दा पहिले कम मात्रमा देखिए पनि अहिले बढेको डा. झा बताउँछन्। बालबालिकालाई मानसिक समस्या भएको उनीहरूका अभिभावकले नबुझ्दा समयमै उपचार गराउन चुक्ने उनको भनाइ छ।
अभिभावकले उल्टै स्कुल जान नमानेको, पढ्न ध्यान नदिएको भनेर गाली गर्दा बालबालिकाहरू भmनै हतोत्साही हुन्छन्। “यस्तो समस्या अभिभावकले थाहा पाउन नसक्दा अन्य अस्पताल चहार्नुहुन्छ। अन्त्यमा हामी भए ठाउँसम्म आइपुग्नुहुन्छ,” उनी भन्छन्, “यो समस्या नियमित औषधी र थेरापीले कम हँुदै जान्छ। तर पछि फेरि देखिन पनि सक्छ।”
यो समस्या कसरी र किन भयो भन्ने थाहा नहुने डा. झा बताउँछन्। तर, परिवारका अन्य सदस्यमा यस्तो समस्या भए वंशाणुगत रूपमा पनि देखिने उनको भनाइ छ।
एन्जाइटी डिसअर्डर पछिल्लो समय बालबालिकामा बढ्दै गएको चिकित्सकहरूको भनाइ छ। कान्ति बाल अस्पतालले सन् २०२२ मा गरेको एक अध्ययनले दुईदेखि २० प्रतिशतसम्म बालबालिकामा एन्जाइटी डिसअर्डर हुन सक्ने देखाएको छ। त्यसमध्ये एगोराफोबिया र पोस्ट ट्रमाटिक एन्जाइटी १.५ प्रतिशत छ।
एन्जाइटी डिसअर्डर बालकमा भन्दा बालिकाहरूमा बढी देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ। यस्तै, एन्जाइटीको दर बढेर २.१ बाट ४.१ प्रतिशत पुगेको छ।
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणले सन् २०२० मा गरेको अध्ययनअनुसार किशोर किशोरीहरूमा मानसिक रोग सबैभन्दा बढी कोशी प्रदेशमा ११.४ प्रतिशत छ। त्यस्तै, एन्जाइटी डिसअर्डर २.८ प्रतिशत छ।
ग्रान्डी अस्पतालमा कार्यरत मनोचिकित्सक डा. उत्कर्ष कार्कीका अनुसार ६ वर्षभन्दा मुनिका बालबालिकामा एन्जाइटीका लक्षणहरू शारीरिक रूपमा बढी देखिन्छन्। श्वास फेर्न गाह्रो हुने, मुटु ढुकढुक हुने, फोक्सोमा समस्या देखिने, झगडा गर्ने, खाना रूची नहुने जस्ता समस्या हुन्छन्।
“दैनिक जाँचका लागि आउने ३० जना बालबालिकामध्ये ६–७ जनामा एन्जाइटीका लक्षण देखिन्छन्,” उनी भन्छन्, “सबै रोगको रोकथाम हुन्छ भन्ने हुँदैन। त्यसैले परिवारका सदस्यले नै आफ्नो बच्चाको समस्या के हो भन्ने जानकारी राख्न जरूरी छ।”
बयोधा अस्पतालका मनोचिकित्सक डा. युजलमान सिंह एन्जाइटी डिसअर्डर भएका बिरामीलाई औषधी र थेरापीबाट उपचार गर्न सकिने बताउँछन्। “सीबीटी एक प्रकारको टक थेरापी हो, जसले बच्चाहरूलाई उनीहरूका असहाय विचार र व्यवहारको ढाँचा परिवर्तन गरेर चिन्ता कसरी नियन्त्रण गर्ने भन्ने सिकाइन्छ,” उनी भन्छन्, “एन्जाइटी डिसअर्डर भएका बालबालिकालाई कहिलेकाहीँ औषधी खुवाउन सकिन्छ। तर, बच्चाहरूका लागि एन्जाइटी डिसअर्डर नियन्त्रण गर्न औषधी खुवाएर मात्र हुँदैन।”
कान्ति बालको तीन वर्षअगाडिको अध्ययनले नेपालमा सरकारीस्तरबाट मानसिक स्वास्थ्यमा खासै ध्यान नदिइएको देखाएको छ। सन् १९९७ मा बनाएको राष्ट्रिय स्वास्थ्य नीति पनि पूर्णरूपमा लागू हुन सकेको छैन।
नेपालमा मानसिक डिसअर्डरको व्यापकताबारे यकिन तथ्यांक उपलब्ध नभए पनि कान्तिको अध्ययनले ग्रामीण समुदायमा ३७.५ प्रतिशत रहेको देखाएको छ। नेपालमा मानसिक स्वास्थ्य समस्याको दर ३० प्रतिशतभन्दा बढी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
विश्वव्यापी रूपमा, १० देखि २० प्रतिशत किशोर–किशोरीहरू मानसिक समस्याबाट ग्रस्त छन्। जसमध्ये ५० प्रतिशत १४ वर्ष उमेर समूहका छन्। नेपालको जनसंख्याको ४० प्रतिशत १८ वर्षभन्दा कम उमेर समूहका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
