कुन प्रदेशमा कतिवटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुँदैछ?

आगामी निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुने निर्वाचन आयोगले जनाएको छ।

काठमाडौँ- मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुने आयोगले जनाएको छ।  

त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि जम्मा ४७ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुनेछ। समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभामा सहभागी हुन निवेदन दिएका ६८ वटा दलमध्ये ४७ ले मात्रै सबै प्रक्रिया पूरा गरेकोले निर्वाचन आयोगमा कायम रहेकाले सोहीअनुरूप निर्वाचन चिह्न तय भएको आयोगले जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुनका लागि निवेदन दिएका मध्ये नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न लिएका छन्। 

त्यस्तै नेपाल आमा पार्टी, नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले पनि संयुक्त रुपमा एउटै चुनाव चिह्न लिएको आयोगले जनाएको छ। त्यस्तै, सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीले पनि साझा चुनाव चिह्न लिएका छन्। प्रतिनिधिसभामा समानुपातिकतर्फ ११० सिट रहेको छ।
 

स्रोतः निर्वाचन आयोग

प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश अनुसार मतपत्रमा चुनाव चिह्नको संख्या फरक फरक पर्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा दलहरूले समानुपातिकतर्फको अन्तिम बन्दसूची बुझाएपछि मात्र मतपत्र छपाइ भएकोले यी दुई प्रदेशमा बन्दसूची बुझाउने दलको मात्र निर्वाचन चिह्न रहने भएको छ। तर प्रदेश नं. १, मधेश प्रदेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको समानुपातिकतर्फको मतपत्र बन्दसूची पेश गर्नुअघि नै छपाइ भइसकेको कारण निर्वाचनमा सहभागिताका लागि निवेदन दिएका दलको निर्वाचन चिह्नसमेत रहने भएको छ ।

जसअनुसार प्रदेश नं. १ मा ५५ वटा निर्वाचन चिह्न भएको मतपत्र हुने छ। त्यस्तै मधेश प्रदेशमा ५९, वाग्मतीमा ५८, गण्डकीमा ५२ र लुम्बिनीमा ५४ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुनेछ। कर्णाली प्रदेशमा २८ र सुदुरपश्चिम प्रदेशमा ३४ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुने छ। प्रदेश नं १ मा बन्दसूची बुझाउने दल भने ३६ मात्र रहेका छन्। 

त्यस्तै, मधेश प्रदेशमा ३६, वाग्मती प्रदेशमा ४०, गण्डकी प्रदेशमा ३१ र लुम्बिनी प्रदेशमा ३२ वटा दलले मात्र बन्दसूची पेश गरेका छन्। कर्णाली प्रदेशमा निर्वाचनमा सहभगिताका लागि निवेदन दिने दलको संख्या ४९ थियो। त्यस्तै सुदूरपश्चिममा ५० वटा दलले सहभागिताका लागि निवेदन दिएका थिए।

प्रदेश सभामा प्रदेश नं. १ बाट ३७ जना, मधेश प्रदेशमा ४३, वाग्मतीमा ४४, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिममा २१ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत सदस्य निर्वाचित हुनेछन्।