गुलबहारलाई आएको फोनमा पेन्सनबापतको कागजातमा हस्ताक्षर गर्न सिन्जियाङ जान भनिन्छ। यो एक चाल थियो भन्ने नबुझेर उनी फ्रान्सबाट चीनको यात्रा गर्छिन्। त्यसपछिका यातना उनले पुस्तकमा उल्लेख गरेकी छन्।
पेट्रोलियम इन्जिनियर गुलबहार हेटिवाजी चीनको अल्पसंख्यक उइगर मुसलमान हुन्। आफ्ना श्रीमान् र छोरीहरूसँग उनी फ्रान्समा बस्थिन्। त्यहीँ रोजगारी थियो।
चीनको सिन्जियाङ प्रान्तमा उइगर मुसलमान समुदायको बसोबास छ। सन् २०१६ नोभेम्बरको एक दिन तेल कम्पनीबाट उनलाई फोन आउँछ। फोनमा पेन्सनबापतको कागजातमा हस्ताक्षर गर्न सिन्जियाङ जान भनिन्छ।
यो एक चाल थियो भन्ने उनले बुझेकी हुँदिनन्। दुई सातामै फर्कने सोच राखेर चीन जान्छिन्। तर, २०१७ जनवरीमा उनी चीनमै पक्राउ पर्छिन्।
उनलाई उइगर महिलाहरूसँगै स्टिलको खाटमा साङ्लोले बाँधेर हिरासतमा राखियो। उइगरको समर्थनमा भएको एक प्रदर्शनमा सहभागी भएकी उनकी छोरीको तस्वीर देखाउँदै चिनियाँ अधिकारीहरूले ‘मेरी छोरी आतंकवादी हो’ भनेर स्वीकार गर्न लगाए। उनले अस्वीकार गरिन्।
उता फ्रान्समा भने उनको परिवार चिन्तामा दिन गुजारिरहेको थियो। उनी फर्किने बाटो कुरिरहेको थियो।
यता, उनलाई सिन्जियाङको उत्तरी कारामे शहरको बाइजियान्ताङ क्याम्प लगियो। दैनिकी अकल्पनीय थियो। महिलाहरूलाई कम्युनिस्ट पार्टीका गीतहरू कण्ठ पार्न र चिनियाँ राष्ट्रपति सी चिनफिङकोे प्रशंसा गर्न बाध्य पार्न थालियो। करीब २०० जति महिला राखिएको क्याम्पमा उनीहरूलाई ‘ब्रेन वास’ गर्न सबै कुरा बारम्बार दोहोर्याउन लगाइन्थ्यो। डरले थरथराएका महिला र किशोरीहरू ‘हामी आतंकवादी होइनौँ’ भन्दै रोइकराई गरिरहेका हुन्थे।
उनीहरूलाई परालका ओछ्यानमा सुताइन्थ्यो। सुरक्षा गार्ड र भिडियो क्यामराको पहरेदारीमा दिन कटाउनुपर्थ्यो। कोही महिला थाकेर सुस्ताए वा आँखा बन्द गरे गार्डहरूले प्रार्थना गरेको आशंकामा घिसार्दै कोठा बाहिर लैजान्थे। गुलबहार भने रातको समयमा कसैले नदेख्ने गरी प्रार्थना गरेको बताउँछिन्।
गत साता वासिंटन पोस्टसँग उनले भनेकी छन्, “म निर्दोष छु, म निर्दोष छु, म निर्दोष छु भनेर आफूलाई सम्झाउथेँ।”
बन्दीगृहभित्र अन्य महिलाजस्तै उनलाई पनि निरन्तर अपराधीको आरोप लगाइन्थ्यो। माफी पाउने आश्वासन देखाउँदै अपराध स्वीकार गर्न लगाइन्थ्यो। उनी भन्छिन्, “शिक्षक र गार्डहरूको पहरामा बसिरह्यौँ। ब्रेन वासिङको श्रृंखला भने चलि नै रह्यो। तर हामी निर्भीक थियौँ।”
२०१८ अक्टोबरमा ५०० भन्दा बढी महिला राखिएको एक विशाल क्याम्पमा उनलाई पनि सारियो। त्यहाँ बन्दी महिलाका कुनै वकिलबिना नै सुनुवाइमा राखियो। न्यायाधीशले प्रदर्शनमा सहभागी भएकी उनकी छोरीको फोटो देखाउँदै उनलाई सात वर्षसम्म रिएजुकेशनमा बस्ने फैसला गरिदिए। त्यसलगत्तै गुलबहारलाई भिडियो क्यामरा अघिल्तिर उभ्याएर झुट स्वीकार्न बाध्य पारियो।
त्यस भिडियोमा उनले विदेशमा हुने सबै उइगर गतिविधिको निन्दा गरिन्। “त्यसपछि मेरो कोठामा गएर पश्चतापमा निकैबेर रोएँ,” गुलबहार सुनाउँछिन्, “यस्ता क्याम्पहरूको उद्देश्य हामीलाई विभत्स मार्नु त थिएन, तर हामीलाई बिस्तारै गायब पार्नु थियो। यति बिस्तारै कि कसैले छनक नपाओस्।”
उनका अनुसार बन्दीगृहमा उइगरका परम्परा र विश्वासलाई घृणा गर्न, भाषालाई आलोचना गर्न र समुदायका मानिसलाई अपमान गर्न लगाइन्थ्यो। हेटिवाजीहरू आतंकवादी हो भन्ने विश्वास दिलाउने प्रयास गरिन्थ्यो।
फ्रान्समा भने गुलबहारकी छोरीले चिनियाँ क्याम्पहरूको निन्दा गर्दै टेलिभिजनमा खुला रूपमा आवाज उठाइरहेकी थिइन्। यता, क्याम्पमा बिरक्तिएकी गुलबहारले सम्झौता गर्ने निर्णय गरिन्। फ्रान्सको परिवारलाई उइगर समर्थित सबै गतिविधि बन्द गर्न लगाउने र बदलामा आफ्नो स्वतन्त्रता माग्ने निर्णयमा पुगिन्।
फोनमा परिवारसँगको वार्तालापपछि चिनियाँ प्रहरीले केही लेखेजस्तो गरेर उनको हातमा एउटा लिखत थमाइदिए। त्यसपछि, न्यायाधीशले उनलाई निर्दोष करार गर्छन्। उनी २०१९ अगस्टमा फ्रान्स फर्किइन्।
गुलबहारको भोगाई चीनभित्र उइगरमाथि कसरी दमन भइरहेको छ भन्ने चित्र मात्र होइन, सीमाबाहिर पनि चीन सरकार र चिनियाँ नेताविरूद्ध हुने गतिविधि र अवज्ञा गर्नेहरूमाथि सरकारी पहुँच कसरी हुने गर्छ भन्ने जानकारी हो। गुलबहारले अन्तर्वार्तामा भनेकी छन्, “चीन सरकार हाम्रो अस्तित्व मेटाउन चाहन्छ, त्रासमा बस्न र उनीहरूले भनेको मान्न लगाउँछ।”
सन् २०२२ मा सार्वजनिक संस्मरण हाउ आई सर्भाइभ्ड अ चाइनिज रिएजुकेशन क्याम्पमा यसबारे विस्तारमा लेखिएको छ। रिएजुकेशन क्याम्पमा दुई वर्ष बिताएकी उइगुर महिला गुलबहार र लेखक रोजीन मोर्गटले संयुक्त रूपमा यो संस्मरण लेखेका छन्।

चीनको उत्तरपूर्वी सिन्जियाङ क्षेत्रमा अल्पसंख्यक उइगर मुस्लिम समुदायको बसोबास छ। टर्कीका मुसलमानसँग मिल्दोजुल्दो संस्कार भएको यो समुदाय चीनमा पुस्तौँदेखि बस्दै आएको मानिन्छ। सन् २०२० मा चीनले सार्वजनिक गरेको तथ्यांकअनुसार यहाँ करीब एक करोड १० लाख उइगर समुदायको बसोबास छ।
यो समुदायको आफ्नै मौलिक भाषा र संस्कृति छ। तर, चीन सरकारले उनीहरूको पहिचान मेटाउन राज्यसंयन्त्र नै खडा गरी दमन र ज्यादती गरिरहेको पश्चिमा मुलुकहरूले आरोप लगाउने गरेका छन्। उइगर समुदायको मानव अधिकारको विषय अमेरिकाले पटकपटक उठाउने गरेको छ। उइगर समुदायको अस्तित्व नै मेटाउन चीन लागिपरेको भन्नेसम्मका आरोप पश्चिमा देशहरूले लगाउने गरेका छन्।
उइगर आदिवासी समुदायको धर्म, संस्कृति, भाषा र पहिचान मेटाउन उनीहरूलाई बन्दीगृहमा राख्ने, जबरजस्ती बेपत्ता पार्ने, यातना दिने र महिलाहरूलाई निसन्तान बनाउनेसम्मका अमानवीय गतिविधि गरिरहेको चीनमाथि आरोप छ। सार्वजनिक भएका चिनियाँ प्रहरीका गोप्य दस्तावेज, स्याटलाइट फोटोहरू र उइगरहरूको विरोधका आधारमा चीनले सिन्जियाङमा यस्ता गतिविधि गरिरहेको स्पष्ट हुने र यसको अनुसन्धान हुनुपर्ने खासगरी पश्चिमा अन्तर्राष्ट्रिय समुदायको माग छ।
चीनले त्यहाँका उइगर मुस्लिम समुदायलाई आतंकवादमा संलग्न भएको आरोप लगाउने गरेको छ। बन्दी बनाइएका र बेपत्ता पारिएका धेरैमाथि यही आरोप छ। उनीहरूलाई चीन सरकारप्रति बफादार बनाउन अमानवीय यातना दिइएको पनि पश्चिमा सञ्चारमाध्यमहरूले उल्लेख गर्ने गरेका छन्।
तर यो विषय लुकाउन चीनले हरसम्भव प्रयास गरिरहेको र दमनमा परेकाहरूले समेत ज्यान जोगाउन खुलेर बोल्ने अवस्था नरहेको ती सञ्चारमाध्यमको भनाइ छ। एकाध घटनाबाहेक चीनमाथि लागेका आरोपको ठोस प्रमाण सार्वजनिक हुन भने सकेका छैनन्।
चीनले यी आरोपहरू झुटो भएको र षड्यन्त्र भइरहेको भन्दै खण्डन गरिरहेको छ। बरू, नागरिकहरूलाई प्रतिआतकंवाद तथा विभिन्न प्रयोजनका लागि पुनर्शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको चीनको दाबी छ।
अमेरिकी अधिकारवादी संगठन फ्रिडम हाउसले अन्तर्राष्ट्रिय दमनसम्बन्धमा गत वर्ष भएका विश्वका छुट्टाछुट्टै ७९ वटा घटना रेकर्ड गरेको थियो। जसमा भौतिक रूपमा दमन गरिएका घटनामध्ये ३० प्रतिशत चीनमा थिए। उक्त संस्थाले चीनलाई प्रमुख पीडकका रूपमा देखाएको छ।
केही समयअघि जर्मन एन्थ्रोपोलोजिस्ट एड्रियन जेन्जले सिन्जियाङ प्रहरीका केही गोप्य दस्तावेजहरू खुलासा गरिदिएका थिए। जसमा चीन सरकारको अत्याचार र दमनका घटना थिए।
जेन्जले भनेका थिए, “उइगर समुदायका मानिसहरूबाट आतंकवादको खतरा औँल्याउने यी कागजातहरूले चिनियाँ निकायहरूको पागलपन देखाउँछ। पहिलोपटक यस्तो दस्तावेज सार्वजनिक भएको हो। यी दस्तावेज ह्याकिङबाट प्राप्त भएका हुन्। त्यसैले सेन्सरसीप भर्चुअली असंभव नै छ।”
उनीबाट सार्वजनिक हजारौँ कम्प्युटर फाइलहरूमा पक्राउ परेका २० हजार उइगरहरूको विवरण थियो। जसमा सन् २००० देखि २०१८ सम्मका कैयौँ निर्देशन, पुलिस रिपोर्ट र बयानहरू समावेश छन्। यी दस्तावेज त्यहाँका दुई वटा जिल्लाका सार्वजनिक सुरक्षा ब्यूरोका सर्भरहरूबाट ह्याक गरिएको बताइएको छ।
वासिंटन पोष्टका अनुसार सन् २०१९ र २०२० मा चीनले साना पुनर्शिक्षा क्याम्पहरू बन्द गरेर बन्दी बनाइएकालाई श्रम शोषण गरिरहेको र केहीलाई झुटा सुनुवाइमार्फत लामो समयका लागि जेल पठाइएको छ। उनीहरूलाई जेल तथा कडा सुरक्षा निगरानीमा राखिएको छ।
“आमाबाबुलाई बालबच्चादेखि अलग्याउने, उइगरहरूको जन्मदर घटाउने कठोर नीति ल्याउने, राजनीतिक प्रचार र ब्रेन वासिङलाई समेत बिस्तार गर्दै सांस्कृतिक नरसंहारको पक्षलाई समेत निरन्तरता दिइएको छ,” वासिंगटन पोस्टले लेखेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
