देशभर १४० स्थानमा डढेलो, प्रदूषण अत्यधिक बढेकाले सावधानी अपनाउन आग्रह

डढेलो र प्रदूषणको स्थानीय स्रोतका कारण काठमाडौँ उपत्यकासहित देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्यधिक बढेको वातावरण विभागले जनाएको छ।

जाजरकोटको भेरी नगरपालिका–१ रिम्नास्थित सामुदायिक वनमा लागेको डढेलो। तस्वीर : रासस

काठमाडौँ– बारा, पर्सा, चितवनसहित देशभरका १४० भन्दा बढी स्थानमा डढेलो लागिरहेको वातावरण विभागले जनाएको छ।

डढेलो र प्रदूषणको स्थानीय स्रोतका कारण काठमाडौँ उपत्यका तथा देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्यधिक बढेको  विभागको भनाइ छ।

डढेलोसँगै एक हप्तायता पानी नपरेको र सवारी साधनको धूवाँले पनि वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

खासगरी बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको छ। प्रदूषणको बढ्दो स्तरका कारण स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले विशेष सावधानी अपनाउन विभागको आग्रह छ।

“बालबालिका, वृद्ध वृद्धा एवं श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकोले सकेसम्म घर बाहिर ननिस्किनुहोला,” विभागले भनेको छ, “निस्कनुपरे मास्कको प्रयोग गर्ने, सडकको धूलो कम गर्न पानी छम्किने र फोहोरजन्य वस्तु नजलाउनन अनुरोध छ।”

यस्तै वन डढेलो नियन्त्रणका लागि सरोकारवाला निकायसँग हातेमालो गर्न आम समुदायलाई विभागले अपिल गरेको छ।

वायु प्रदूषण मौसममा पनि भर पर्ने तथा डढेलोको अवस्था यस्तै रहिरहे उच्च प्रदूषणको जोखिमसमेत रहिरहने विज्ञप्तिमा उल्लेख छ।