४१ वर्षीया ऋतु: मैदानमा खेलाडी, डगआउटमा प्रशिक्षक

नेपालको महिला क्रिकेट टोलीले १६ वर्षअघि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा महत्त्वपूर्ण सदस्य रहेकी ऋतु कनौजिया अहिले पनि सुदूरपश्चिमबाट खेलिरहेकी छन्। उनी प्रदेशको कप्तान र प्रशिक्षक दुवै हुन्।

काठमाडौँ– सामान्यतयाः ३५ वर्षको उमेर नाघेपछि क्रिकेट खेलाडीहरू आफ्नो सन्यासबारे सोच्न थाल्छन्। तर यस्ता खेलाडी पनि छन्, जो पाको उमेरमा पनि चम्किरहेका हुन्छन्।

४२ वर्ष छेउछाउ पुग्न लागेका महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग खेलिरहेका छन्। युएईका खुर्राम खानले ४३ वर्ष २६२औँ दिनमा शतक प्रहार गरेर धेरै उमेरमा ओडीआई शतक बनाउने कीर्तिमान राखेका छन्। नेदरल्यान्डका नोलान क्लार्कले ४७ वर्षको उमेरमा विश्वकप क्रिकेट खेलेर सन् १९९६ मा कीर्तिमान राखेका थिए।

नेपाली क्रिकेटमा पनि ऋतु कनौजिया यस्तो नाम हो, जो ४१ वर्षको उमेरमा पनि मैदानमा सक्रियता देखाइरहेकी छन्। चैत तेस्रो हप्ता काठमाडौँस्थित त्रिवि मैदानमा भएको ललितपुर मेयर्स कपमा उनले आफूलाई ‘फिट’ प्रमाणित गरेकी थिइन्।

ऋतुको क्रिकेट यात्रा त्यहीबेला शुरू भएको थियो, जुनबेला नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चाल्दै थियो। एसियाली क्रिकेट परिषद् (एसीसी)ले सन् २००७ मा मलेसियास्थित जोहोर क्रिकेट एकेडेमीमा आयोजना गरेको एसीसी कपमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो। प्रतियोगितामा नेपालको कप्तानी नेरी थापाले गरेकी थिइन्।

उक्त टोलीमा ऋतु ओपनर ब्याटरसहित अलराउन्डरको जिम्मेवारीमा थिइन्। प्रतियोगितामा नेपालले थाइल्यान्ड, हंङकङ र चीनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। तर, बंगलादेशसँग ८ विकेटले पराजित भएपछि उपविजेतामा सीमित भएको थियो।

उक्त टोलीमा रहेका सरस्वती लामगादे, बिना बुढा, तिर्सना सिंह र केशरी चौधरीले सोही प्रतियोगिताबाट आफ्नो करिअर अगाडि बढाउन चाहेनन्। मनीषा रावल, मधु थापा र निरा राजोपाध्यायले पनि क्रिकेट खेल्न छाडेको करिब सात वर्ष भइसकेको छ। ऋतु भने अहिले पनि उही युवा जोश र जाँगरसहित बल तथा ब्याट लिएर मैदान उत्रिरहेकी छन्।

ललितपुर मेयर्स कपमा उनी सुदूरपश्चिम प्रदेशबाट खेलेकी थिइन्। उनको टोलीमा अधिकांश खेलाडी २०–२२ वर्षका थिए। विन्दु रावल र कविता जैशीमात्रै २६ वर्ष टेकेका खेलाडी थिए।

फिटनेसमा ध्यान दिएकै कारण आफू अहिलेसम्म पनि खेलिरहन सकेको उनी बताउँछिन्। “म आफ्नो फिटनेसलाई ध्यान दिइरहेको छु। यसका लागि बाहिर गएर प्रतियोगिता खेलिरहेको छु, जिम जोइन गरेको छु,” उनी भन्छिन्।

ललितपुर मेयर्स कपमा मैदान उत्रिँदै ऋतु (हरियो जर्सीमा दायाँ)।

२०३९ सालमा बैतडीको गढीमा जन्मिएकी ऋतुले क्रिकेटमा पाइला चाल्दैगर्दा सुदूरपश्चिममा यो खेल लोकप्रिय भइरहेको थियो। नेपाल क्रिकेट संघ (क्यान)ले त्यतिबेला नेपाललाई ६ क्षेत्रमा बाँडेर क्रिकेट खेलाउँथ्यो। सुदूरपश्चिम क्षेत्र नं. ६ बैतडीमा पर्थ्यो। 

तर उनले बैतडीको टोलीमा सिधै मौका पाएकी होइनन्। सानैमा आमा गुमाएपछि उनको जीवनको प्रारम्भिक समय बैतडीको बालमन्दिरमा बित्यो। बालमन्दिरमा उनले दाइहरूसँग क्रिकेट खेल्न थालिन्। 

शुरूमा मोजाको बलबाट क्रिकेट खेल्न थालेकी ऋतुले बैतडीको टोलीमा स्थान बनाउन १३ वर्ष कुर्नुप¥यो। उनी पहिलोपटक २०६४ सालमा बैतडी जिल्लाबाट डडेलधुरामा क्षेत्रीय छनोट खेल्न गएकी थिइन्। छनोट खेलेर डडेल्धुराबाटै राष्ट्रिय प्रतियोगिता खेल्न काठमाडौँ आइन्। क्षेत्र नम्बर ६ को कप्तानको जिम्मेवारी पनि उनैले पाइन्। तर, फाइनलमा क्षेत्र नम्बर ५ नेपालगन्जसँग बैतडी पराजित भयो।

“अहिलेजस्तो प्रतिभावान् खेलाडी त्योबेला पाउनै मुस्किल हुन्थ्यो। हामीले जस्तो खेलाडी भेटायौँ त्यहीअनुसार टोली बनाएर खेल्थ्यौँ। तर, हामीले उत्कृष्ट खेल्यौँ। हरेक प्रतियोगितामा फाइनलमा प्रायः नेपालगन्जसँग प्रतिस्पर्धा हुन्थ्यो,” उनी सम्झिन्छिन्, “समान टोली भएको कारण हारको अन्तर झिनो हुन्थ्यो।” 

८९ रनले खोल्यो राष्ट्रिय टोलीको ढोका
पहिलोपटक डडेलधुरामा क्षेत्रीय छनोट खेल्दा कञ्चनपुरविरुद्ध उनले ८९ रन प्रहार गरेकी थिइन्। उनको त्यो नै उच्च स्कोर थियो। क्षेत्रीय प्रतियोगितामा उनी उत्कृष्ट बलर र प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएकी थिइन्। प्रतियोगिताभर उनले सर्वाधिक ९ विकेट लिएकी थिइन्।

सोही प्रदर्शनका कारण नेपालको ऐतिहासिक टोलीको लागि क्याम्पमा पर्ने ढोका खुल्यो। बन्द प्रशिक्षणपछि राष्ट्रिय टोलीमा परिन्। सुदूरपश्चिमबाट उनीसँगै माया रावत पनि टोलीमा परेकी थिइन्। 

नेपाली टोलीसँगै उनी मलेसियामा एसीसी कप खेल्न गइन्। त्यस प्रतियोगितामा मायाले मैदान उत्रिने मौका नै पाइनन्। तर, नेपाल दोस्रो भएर फर्किंदा ऋतु टोलीको महत्त्वपूर्ण सदस्य थिइन्। उनले पाँच खेलमा ३० रन बनाउनुका साथै ४ विकेट पनि लिएकी थिइन्।

प्रतियोगितामा नेपाली टोलीबाट सर्वाधिक रन बनाउने सूचीमा मधु थापा (३७) पछि दोस्रो स्थानमा ऋतु थिइन्। बलिङतर्फ धेरै विकेट लिनेमा नेरी (१२) र निरा (१०) पछि उनी तेस्रो स्थानमा थिइन्।

राष्ट्रिय टोलीमा डेब्यु गर्दा उनको उमेर २५ वर्ष थियो। नेपालकी कप्तान नेरी र अर्की खेलाडी सीता रानामगर १९ वर्षका थिए। अन्य खेलाडी पनि सोही आसपासका थिए। नेरी र सीता पनि विभागीय टोली एपीएफबाट अझै खेलिरहेका छन्।

सन् २००९ मा मलेसियामै आयोजना भएको एसीसी महिला टी–२० प्रतियोगितामा ऋतुले नेपाली टोलीको कप्तानी सम्हाल्ने मौका पाएकी थिइन्। नियमित कप्तान निरा फिट नभएपछि मुख्य प्रशिक्षक प्रदीपराज पाण्डेले उनलाई कप्तान बनाएका थिए। 

थाइल्यान्ड, सिंगापुर, इरान, भुटान, कतार सम्मिलित प्रतियोगितामा नेपालले सेमिफाइनलसम्मको यात्रा गरेको थियो। तर, फाइनल प्रवेशको लागि भएको खेलमा हङकङसँग ७ विकेटले पराजित भयो।

नेपाल पाँच खेलमा चार जितसहित समूह उपविजेता भएर सेमिफाइनल प्रवेश गरेको थियो। यता, हङकङ शतप्रतिशत जितसहित समूह ‘बी’ विजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको थियो। 

समूह चरणमा नेपालले इरानलाई ६२ रन तथा कतार र भुटानलाई ८ विकेटले पराजित गरेको थियो। तर, थाइल्यान्डसँग २३ रनले पराजित भएको थियो। सिंगापुरसँग भने म्याच टाइ भएको थियो। 

इरानसँग १०९ रन बनाउनुबाहेक अन्य टोलीसँग नेपालले ब्याटिङमा संघर्ष गर्नु परेको थियो। त्यसैले, हङकङसँगको खेलअगाडि प्रशिक्षक पाण्डे र कप्तान ऋतुले हङकङलाई हराउन ब्याटिङ मुख्य हतियार बनाउने योजना बुनेका थिए। तर, अनुभवी हङकङ खेलमा हावी भयो र नेपाललाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुग्यो। 

“अघिल्ला प्रतियोगितामा हाम्रो ब्याटिङ कमजोर थियो। टोलीमा युवा खेलाडी पनि समेटेका थियौँ। हाम्रो ध्यान ब्याटिङमै थियो, तर हङकङलाई पराजित गर्न सकेनौँ,” ऋतु सम्झिन्छिन्।

तेस्रो स्थानका लागि भएको खेलमा चीनविरुद्ध पनि नेपालले ठीकठाक ब्याटिङ गरेको थियो। पहिला ब्याटिङ गरेको नेपालले १०३ रन बनाएको थियो। तर, चीनलाई ३० रनमा अलआउट गरेपछि ७३ रनले जितेको थियो। त्यही प्रतियोगितामा नेपाली टोलीकी अहिलेकी कप्तान रूविना क्षेत्रीले समेत डेब्यु गरेकी थिइन्।

प्रतियोगितामा तेस्रो भएर फर्किएपछि ऋतुको आत्मविश्वास पनि बढेको थियो। उनकै कप्तानीमा क्षेत्र नम्बर ६ ले पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेको थियो। 

त्यसको तीन वर्षपछि उनले विभागीय टोली एपीएफमा जागिर पाइन्। “एपीएफएबाट २०६८ सालदेखि २०७७ सालसम्म करार सम्झौतामा रहेर खेलेँ,” उनी भन्छिन्, “हुन त विभागले पटकपटक जागिरको अवसर नदिएको होइन। तर, घरका सबै जना फोर्समै भएका कारण मलाई मन लागेन।” 

करिब नौ वर्ष एपीएफमा रहेपछि ऋतुले सम्झौता थपिनन्। उनी पछिल्लोपटक सन् २०१९ मा थाइल्यान्डमा भएको विश्वकप टी२० छनोट खेल्न जाँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा थिइन्। अधिकांश पछिल्लो पुस्ताले भरिएको टोलीमा उनले स्थान नै बनाउन सकिनन्। 

उक्त प्रतियोगितामा नेपालले मलेसिया, हङकङ, कुवेत, चीन र यूएईलाई  पराजित गरेको थियो। तर, थाइल्यान्डसँग ५७ रनले पराजित भएको कारण तालिकामा दुई अंकले पछि पर्दै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न सकेन।

त्यसपछि, ऋतुले १३औँ दक्षिण एसियाली खेलकुद (साग)को लागि क्यापसम्म स्थान बनाइन्। बन्द प्रशिक्षणको क्रममा घुँडामा चोट लगेपछि अन्तिम टोलीमा पर्न सकिनन्। 

फेरि बैतडीतर्फ
टोलीबाट बाहिरिएपछि ऋतु जन्मथलो बैतडी फर्किइन्। दुई वर्षसम्म आफूलाई फिट राखेर प्रदेशका लागि खेल्ने र त्यसपछि प्रशिक्षक बन्ने उनको योजना थियो। तर, आफूलाई प्रतिस्थापन गर्ने अर्काे खेलाडी नपाएको उनलाई लाग्यो र पुनः सुदूरपश्चिमबाट ललितपुर मेयर्स कप खेल्न काठमाडौँ उत्रिइन्। विन्दू रावलको कप्तानीमा उत्रिएको सुदुरपश्चिम सिंगल राउन्ड रोविनको प्रतियोगितामा अंक तालिकाको तेस्रो स्थानमा सीमित रह्यो। 

सुदूरपश्चिम पहिलो खेलमा कोशी प्रदेशसँग ९ विकेट र तेस्रो खेलमा विभागीय टोली एपीएफसँग १५ रनले पराजित भयो। यद्यपि, सुदूरपश्चिमले मधेशविरुद्ध ७ र ललितपुरविरुद्ध ५१ रनको जित हासिल गर्दै चार खेलबाट ४ अंक जोड्न सफल भयो।

सुदूरपश्चमको महिला क्रिकेट टिम।

मधेशलाई हराउँदा ऋतुले ४ ओभर बलिङ गर्दै २ मेडनसहित ४ रन खर्चिएर २ विकेट लिइन् भने अविजित रहँदै २१ रन बनाइन्। उनले प्रतियोगिताभर सुदूरपश्चिमको लागि ३ इनिङ्समा ३४ रन बनाइन् र ४ विकेट पनि लिइन्।

उनी सुदूरपश्चिमका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहिन्। १५ ओभर बलिङ गर्दै २ मेडनसहित ५४ रन खर्चिएर ४ विकेट लिएकी उनी बलिङतर्फ शीर्ष स्थानमा रहिन्।

“अहिले प्रतियोगिताहरू नियमित रूपमा सञ्चालन भइरहेको छैन। त्यसैले खेलाडीहरूले कमाएर खाने अवस्था छैन,” उनी भन्छिन्, “पर्याप्त प्रतियोगिता भए राम्रो खेलाडी उत्पादन हुने हुन्। यसका लागि बैतडीतिर महिला खेलाडीको लागि फ्री एकेडेमी पनि सञ्चालन भइरहेको छ। अब मलाई रिप्लेस गर्ने पुस्ता निस्किन्छन् कि?”

बढ्दो उमेरसँगै उनको खेल्ने ‘पोजिसन’ तल झरेको छ। उनी कहिले तेस्रो र कहिले मध्यक्रममा ब्याटिङ गर्न मैदान उत्रिने गरेकी छन्। अझै दुई वर्ष क्रिकेट खेल्ने उनको योजना छ। पछिल्लो समय मैदान उत्रिनुअघि चिकित्सको नियमित सल्लाह लिन्छिन्। 

खेलाडीसँगै ऋतु अहिले बैतडीका प्रशिक्षकको भूमिकामा पनि छिन्। दुई वर्षभित्र सुदूरपश्चिम प्रदेशको महिला टोलीलाई फेरि लयमा फर्काउने उनको अठोट छ। तर, नियमित घरेलु प्रतियोगिता नहुँदा आफ्नो सपनामा तुषारापात हुने होकी भन्ने चिन्ता पनि छ।

“अहिलेको अवस्थाबाट माथि उठ्न धेरै परिवर्तन गर्नुपर्छ। पहिला त घरेलु प्रतियोगिता धेरैभन्दा धेरै हुनुपर्छ। प्रतियोगिता धेरै भए खेलाडी व्यस्त हुन्छन्, लोकप्रियता पनि बढ्छ र युवा खेलाडी आकर्षित हुन्छन्,” उनी भन्छिन्। 

उनले पहिला र अहिले महिला क्रिकेटको अवस्था लगभग उस्तै देखेकी छिन्। सरकार र क्यानले महिला क्रिकेटमा कुनै लगानी गर्न नसकेको उनको गुनासो छ। त्यसैले पनि खेलाडी उत्पादन नभएको र टिम बनाउनै मुस्किल भएको उनी बताउँछिन्। तर, सरकार र क्यानले बलियो योजना ल्याएर स्थायी प्रशिक्षक बनाए खस्किएको क्रिकेटलाई पुनः ट्रयाकमा ल्याउन सकिने उनको विश्वास छ। 

“हामीले पहिला हराउने थाइल्यान्डले विश्वकप खेलिसकेको छ। हामीले पहिलो प्रतियोगिताको फाइनलमा हारेको बंगलादेश आज टेस्ट टोली बनेको छ। हामी भने अझ तल खस्किएका छौँ,” उनी भन्छिन्, “तर, सबैले चासो दिए यसलाई पुनः लयमा फर्काउन सक्छौँ।”