साउदी र हुथी समूहबीच वार्ता, यमनमा युद्ध विरामको आशा

साउदी अरब र विद्रोही हुथी समूह बीचको वार्तालाई यमनमा जारी वर्षौँदेखिको युद्ध अन्त्यको संकेतका रूपमा लिइएको छ।

साउदी अरब र विद्रोही हुथी समूहबीच यमनको राजधानी सनामामा वार्ता भइरहेको बताइएको छ। साउदी अरबले वार्ताबारे औपचारिक रूपमा प्रतिक्रिया दिएको छैन।

तर, हुथीले साउदी र ओमनका प्रतिनिधिहरू सनामा रहेको बताएको छ भने दुई पक्षबीच वार्ता भएको संकेतस्वरूप केही तस्वीरहरू सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ। सार्वजनिक तस्वीरहरूमा हुथीका नेता मोहम्मद अलि हुथीले साउदीका अधिकारीहरूसँग हात मिलाएको देख्न सकिन्छ।

साउदी अरबको समर्थन रहेको यमनको सरकारविरुद्ध संघर्षमा रहेको हुथी (इरान समर्थित मानिएको) विद्रोही समूहबीचको वार्तालाई यमनमा जारी वर्षौँदेखिको युद्ध अन्त्यको संकेतका रूपमा लिइएको छ। औपचारिक रूपमा वार्ताबारे समाचारहरू बाहिरिएका छैनन् तर पनि विभिन्न स्रोतका प्रतिवेदनले यसै महिनाको अन्त्यसम्मका सम्झौता हुनसक्ने देखिएको बीबीसीले जनाएको छ।

दुई पक्षबीच सम्झौताबारेको अनौपचारिक खुलासाअनुसार यमनमा सार्वजनिक रोजगारीमा नियमित तलब व्यवस्था गरिने, सामुद्रिक सीमा र विमानस्थलहरू खुला गरिने जस्ता कुरा समावेश रहेको बताइएको छ। साथै, यमनलाई विदेशीशक्तिको चंगुलबाट मुक्त गर्ने, क्षतिग्रस्तको संरचनाको पुनर्निर्माण गर्ने र राजनीति निकास दिइनेजस्ता महत्त्वाकांक्षी लक्ष्यसहितका प्रतिबद्धता पनि रहेको बीबीसीले उल्लेख गरेको छ।

यमनमा जारी द्वन्द्व जटिल प्रकृतिको रहेकाले साउदीको समर्थन प्राप्त गठबन्धन सरकार र हुथी विद्रोहीबीच स्थायी रूपमै युद्ध विराम भए पनि त्यहाँ युद्ध पूर्ण रूपमा रोकिने सम्भावना नभएको बताइन्छ। किनकि, यमनमा अल कायदा (इस्लामिक अतिवादी समूह) पनि लडिरहेको छ।

तर पछिल्लो समय साउदी र इरानबीच कूटनीतिक सम्बन्ध सुधारको प्रयास भएकाले दुई देशको युद्ध (अघोषित) अन्त्य हुनेमा आशावादी हुन सकिने बीबीसीले जनाएको छ। यसले दुवै पक्षलाई युद्ध अन्त्यका लागि गम्भीर बनाएको र सनामा भएको भनिएको वार्तालाई सफलताको खुड्किलो मान्न सकिने बताइएको छ।