निर्वाचन आयोगले दीपक मनाङेसँग माग्यो स्पष्टीकरण

आयोगको हालसम्मको तथ्यांकमा ५९ जनालाई स्पष्टीकरण सोधिएको छ।

काठमाडौँ– प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनअघि नै निर्विरोध निर्वाचित भएका राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’लाई निर्वाचन आयोगले आइतबार स्पष्टीकरणको मागसहित पत्राचार गरेको छ।

प्राइम टिभीको एक अन्तर्वार्तामा उनले आयोगको चुनावी खर्च सीमामाथि टिप्पणी गरेका थिए। सोही आधारमा आयोगले उनलाई स्पष्टीकरण सोधेको हो।

अन्तर्वार्तामा मनाङले भनेका थिए, "तीन लाखमा निर्वाचन जित्छ त? त्यो निर्वाचन आयुक्तजस्तो ठिस मान्छे मैले कहिले देखेको छैन। मनाङमा एक दिन मनोनयनमा जाँदा १५ लाखको रक्सी खान्छ। अनि ३० लाखले पुग्छ निर्वाचन जित्न। आयोगले रक्सी ब्यान्ड गर्नुपर्छ।"

आयोगले मनाङ प्रदेशसभा ‘ख’ का लागि तोकेको खर्चको सीमा २३ लाख रहेको छ। आयोगले मनाङेलाई 'तपाईंको अभिव्यक्ति सत्य हो भने तपाईंले मनोनयनपत्र दर्ता गर्दा रक्सी खुवाउँदा लागेको भनेको १५ लाखको सक्कल बिल भौचर, तपाईंले खर्च भुक्तानी गर्दा प्रयोग गरेको बैंक तथा खाता नं. र उक्त रकम प्राप्तिको स्रोतसमेत खुलाई जवाफ पेश गर्न' भनिएको निर्वाचन आयोगका सहप्रवक्ता गुरु वाग्लेले बताए।

उनी मनाङ ‘ख’ बाट निर्विरोध निर्वाचित भएका हुन्। मनाङबाट स्वतन्त्र उम्मेदवार रहेका दोर्जे लामाले उम्मेदवारी फिर्ता लिएसँगै उनी निर्विरोध निर्वाचित भएका हुन्। आपराधिक पृष्ठभूमिबाट राजनीतिकमा आएका मनाङे हाल गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री हुन्।

आयोगको हालसम्मको तथ्यांकमा ५९ जनालाई आयोगले स्पष्टीकरण सोधिएको छ। जसमा ५० जना उम्मेदवारले जवाफी स्पष्टीकरण दिएका छन्।