युक्रेन–रुस द्वन्द्व रोक्न चीनको महत्त्वपूर्ण भूमिका रहेको र मस्कोमाथि आफ्नो प्रभावको प्रयोग गर्न फ्रान्सेली राष्ट्रपति म्याक्रोंले चिनियाँसमकक्षी सीलाई आग्रह गरे, तर सीले स्पष्ट प्रतिक्रिया दिएनन्।
एक वर्षयता जारी रुस-युक्रेन युद्धले वैश्विक अर्थतन्त्रमा गम्भीर असर, ठूलो मात्रामा जनधनको क्षति र शरणार्थी बढाउँदा पनि दुवै देशले युद्ध रोक्ने छाँटकाट देखाएका छैनन्। रुस युक्रेनी भूभाग कब्जाको अधिकतम प्रयास जारी राख्दा युक्रेनले डटेर प्रतिरोध गरिरहेको छ, युद्ध अन्त्यको कुनै संकेत देखिँदैन। युक्रेन-रुस युद्धका कारण इन्धन र खाद्यान्न आपूर्तिको शृंखला प्रभावित भई विश्वभर त्यसको प्रभाव परिरहेको बेला दुवै देशबीच शान्तिवार्ताका लागि मध्यस्थता कसले गर्न सक्ला भन्ने चासो विषय बनेको छ।
यस्तो अवस्थामा रुसले युक्रेनमाथि विशेष सैन्य कारबाही भनेर शुरू गरेको आक्रमण रोक्न सक्ने सामर्थ्य उसको मित्र राष्ट्र चीनसँग रहेको र उसले अग्रसरता लिनुपर्ने आवाज उठेको छ। पश्चिम मुलुकहरूले उसकै भनाइमा रुससँगको आफ्नो ‘नो–लिमिट पार्टनरसिप’प्रति प्रतिबद्ध चीनलाई युद्ध रोक्नका लागि आफ्नो प्रभाव देखाउन आग्रह गरेका छन्।
युरोपेली मुलुका प्रतिनिधिसँग चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वमा शान्ति, स्थायित्व र समृद्धिका लागि युरोपसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। तीन दिने चीन भ्रमणका लागि बेइजिङ पुगेका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लियनसँगको त्रिपक्षीय वार्तामा चिनियाँ राष्ट्रपतिले चीन ईयूसँग सहकार्य जारी राख्न र विश्व शान्तिका लागि मिलेर काम गर्न प्रतिबद्ध रहेको बताए।
त्रिपक्षीय भेटमा राष्ट्रपति सीले चीन र ईयूबीच साझा धारणा निर्माण गर्दै सहकार्य बढाउने र सुमधुर सम्बन्ध कायम राख्न पारस्परिक सहअस्तित्वलाई पुनर्जीवित गर्नेमा जोड दिए।
म्याक्रों र लियनको चीन भ्रमण दुई पक्षीय (युरोप–चीन) व्यापार बिस्तार र सम्बन्ध सुधारमा केन्द्रित छ। यद्यपि, रुस–युक्रेन युद्ध अन्त्यका लागि चीनको महत्त्वपूर्ण भूमिका रहेको कुरा पनि म्याक्रों र लियनले चिनियाँ राष्ट्रपतिसमक्ष राखेका थिए।
विचारणीय विषय, युरोप–चीनको सम्बन्ध सुधारको विषय रुस–चीनको 'अटुट सम्बन्ध'का कारण पनि त्यति सहज देखिँदैन। युक्रेनमाथि युद्ध शुरू गरेपछि पश्चिमा मुलुकबाट अलग्गिएको रुसलाई अप्रत्यक्ष रूपमा चीनको बलियो साथ छ, किनकि युक्रेनमाथि रुसी आक्रमणको खुलेर समर्थन नगरे पनि चीनले खुल्ला रूपमा विरोध पनि गरेको छैन। घनिष्ठ मित्र रुससँगको कूटनीतिक सम्बन्ध र अटुट मित्रता कायम राख्ने प्रतिबद्धता जनाएको चीन युरोपको आग्रहमा त्यति सजिलै रुसलाई युक्रेनमाथिको आक्रमण रोक्न दबाब दिने छैन, यसलाई चिनियाँ राष्ट्रपति सीको तीन दिने मस्को भ्रमणले संकेत गरिसकेको छ।
मस्कोमा समकक्षी भ्लादिमिर पुटिनसँगको भेटमा सीले “दुई पक्षीय सम्बन्ध र रणनीतिक साझेदारीलाई थप गहिरो बनाउने समझदारीले चीन-रुस सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ”, भनेका थिए। साथै, रुससँग “व्यावहारिक सहकार्य”मार्फत सम्बन्ध प्रगाढ बनाउन चाहेको बताएका थिए। पुटिनले पनि चीनसँगको आर्थिक सहकार्य रुसको “प्राथमिकता”मा रहेको बताएका थिए।
युद्ध अपराधको आरोप लागेका रुसी राष्ट्रपति पुटिनलाई चीनले किन साथ दिइरहेको होला? प्रश्नजस्तो उत्तर सहज छैन। किनकि, पश्चिमाहरू चीन र रुसको विकासमा बाधा पुर्याउन, क्षेत्रीय महत्वाकांक्षा विफल पार्न र अन्तर्राष्ट्रिय प्रभावलाई सीमित गर्न कटिबद्ध भएको सी-पुटिनको विश्वास देखिन्छ।
रुससँग सम्बन्ध बढाउँदा चीनलाई भूराजनीतिक र व्यापारिक सबै हिसाबले फाइदाजनक छ, अर्कोतर्फ रुस अमेरिकाको कट्टर शत्रु राष्ट्र हो भने चीनको प्रतिस्पर्धी राष्ट्र।
विश्व अर्थतन्त्र कम खुला र बढी शत्रुतापूर्ण भएको निष्कर्ष पनि चीनको छ। यस्तो अवस्थामा, व्यापार सम्झौता र कर घट्बढले अमेरिकासँगको व्यापार डामाडोल बनिरहेका बेलामा चीनका लागि रुस राम्रो आवरण स्थान बन्न सक्छ। सबैतिरबाट एक्लिएको रुसका लागि पनि शक्ति राष्ट्र चीनको आड र व्यापारिक सहयोग फलदायी हुने देखिन्छ।
अमेरिका र युरोपेली देशबाट व्यापारसहित विभिन्न प्रतिबन्ध झेलिरहेको रुसका लागि अहिले चीन महत्त्वपूर्ण रणनीतिक र व्यापार साझेदार राष्ट्र बनेको छ। युक्रेनमाथि आक्रमणको विरोधमा रुसमाथि विभिन्न प्रतिबन्ध लागेकाले यसको प्रभाव कम गर्न र आर्थिक समस्या टार्न रुसले चीनसँगको सहकार्य मजबुत बनाउन चाहन्छ। यद्यपि, अमेरिकी र युरोपेली देशको सहयोगका बाबजुद युक्रेनको अर्थतन्त्र निराशाजनक स्थितिमा छ भने विभिन्न प्रतिबन्धले पनि रुसको अर्थतन्त्रलाई डगमगाउन सकेको छैन।
चिनियाँ उत्पादनको सबैभन्दा ठूलो बजार अमेरिकासँग चीनको सम्बन्ध चिसिएको छ। एकअर्काका देशका सामग्रीमा कर बढाउने र आयात-निर्यातमा प्रतिबन्ध लगाउँदै व्यापार युद्ध शुरू गरेपछि चिसिएको चीन–अमेरिका सम्बन्ध पछिल्लो समय ताइवानका कारण थप खराब स्थितिमा पुगेको छ। यस्तो स्थितिमा चीन र अमेरिकाबीच तत्काल वार्ता हुने र सम्बन्ध सुध्रिने सम्भावना देखिँदैन।
यति नै बेला व्यापार साझेदारीको बहानामा युरोपेली नेतृत्वको टोली चीन पुगेको हो। युक्रेनमा युद्ध रोक्न चीनको महत्त्वपूर्ण भूमिका रहेको र रुसमाथि आफ्नो प्रभावको प्रयोग गर्न टोलीको नेतृत्व गरेका फ्रान्सेली राष्ट्रपति म्याक्रोंले चिनियाँसमकक्षी सीलाई आग्रह गरे। तर, यस सम्बन्धमा सदाझैँ चीनले स्पष्ट र चित्तबुझ्दो प्रतिक्रिया दिएन। उसले रुस र युक्रेन दुवै ‘क्षमतावान् र जिम्मेवार’ छन् भन्दै दुई देशको मामिलामा हस्तक्षेप नगर्ने संकेत देखाएको छ।
यस्तोमा हाल युरोपले युक्रेनको मामिला पर सारेर केबल व्यापारिक साझेदारीलाई मात्र अघि बढाउन सक्दैन। किनभने, प्रजातन्त्र, मानवअधिकार र रुसको विपक्षमा युरोप र अमेरिकाले एउटै विचार राख्छन्। आफ्नो गठबन्धनको मान्यताविपरीत रहेको आरोप लाग्ने गरेको रुसको मित्रराष्ट्रलाई फकाउनु र युक्रेनमा युद्ध रोक्नका लागि प्रयास गर्ने आग्रह गर्नुबाहेक दबाब सिर्जना गर्ने कुनै विकल्प युरोपसँग छैन। किनकि, अमेरिकापछि विश्वकै शक्तिशाली अर्थतन्त्र रहेको देश चीन रुससित मिलेर अघि बढ्दा पनि सम्झौता गर्नुपर्ने स्थिति युरोपेली देशहरूमा देखिन्छ।
यता, रुसले छिमेकी देश (युक्रेन) मा युद्ध जारी राख्दा युरोपेली देश सबैभन्दा बढी प्रभावित छन्। युद्धका लागि रुसमाथि त प्रतिबन्ध लगाए तर आफ्नै देशमा रुसी सामग्री र इन्धन आयात गर्न नपाउँदा उनीहरूले सास्ती खेप्नुपरेको छ। देश छोडेर हिँडेका करिब ८० लाख युक्रेनी नागरिकहरू पनि यिनै देशमा शरण लिन पुगेका छन्। युक्रेनलाई हातहतियार पनि यिनै देशले सहयोग गर्नुपर्ने अवस्था छ। तर युद्धका कारण खाद्यान्न आपूर्तिको शृंखला बिग्रिएको छ भने महँगी उच्च दरमा बढेको छ।
समग्रमा हेर्दा युरोप अमेरिका–रुस–चीनको त्रिकोणात्मक द्वन्द्वको भुमरीमा फसेको छ। युरोप विद्यमान मूल्य मान्यता र नीति विपरीत जाने स्थिति त छैन, चीनको साथबिना युक्रेनलाई रुसबाट स्वतन्त्र बनाउन सक्ने स्थिति पनि देखिँदैन।
यति नै बेला चीन अमेरिकासँग वाक युद्धमा व्यस्त र रुससँगको व्यापारमा पनि मस्त देखिन्छ। उसलाई रुस–युक्रेन युद्धले अप्रत्यक्ष प्रभाव परे पनि त्यति ठूलो हानि भने गरेको छैन। बरु रुसलाई सहयोग गर्ने मुडमा रहेको चीनले कतै युद्धका लागि रुसलाई हतियार बेच्ने योजना त बनाएको छैन भन्नै टीकाटिप्पणी युरोप र अमेरिकी पक्षको छ। यस्तै आशंकाका बीच चीन भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति म्याक्रोंले चीनलाई रुसमा हतियार नबेच्न चेतावनीसमेत दिएका छन्।
विश्वमा दोस्रो विश्वयुद्धपछि पहिलो पटक देशहरू तीव्ररूपमा गुटउपगुटमा विभाजित भइरहेका छन्। अहिले चीन, रुस, बेलारुस, दक्षिण अफ्रिका, भारत (व्यापारको मामिलामा)सहित केही मध्यपूर्वी र अफ्रिकी देशहरू एकातिर छन् भने अमेरिका, युरोपेली देशहरू, क्यानडा, जापान, दक्षिण कोरिया, जापानसहित अधिकांश देश अर्को खेमामा छन्। रुस-युक्रेन युद्धपछि भूराजनीतिक ध्रुवीकरण झनै बढिरहेको छ।
अहिलेको स्थितिमा रुस–युक्रेन युद्ध रोक्नेतर्फ भन्दा आफ्नो पक्षमा धेरै देशहरूको समर्थन जुटाउन, विश्वास र सहकार्य बढाउनु चीनको प्राथमिकता रहेको देखिन्छ। यसैका लागि उसले अफ्रिकी र मध्यपूर्वी देशमा आफ्नो प्रभावलाई बिस्तार गरिरहेको छ। यसको पछिल्लो उदाहरण, चीनले मध्यपूर्वी कट्टर शत्रु राष्ट्रहरू इरान र साउदी अरबको सम्बन्ध सुधार्न देखाएको भूमिका पनि हो। हालै चीनको मध्यस्थतामा साउदी अरब र इरानले दूतावास खोल्दै कूटनीतिक सम्बन्धलाई पुन: बिस्तार गर्ने सहमति गरेका छन्। दुई पक्षीय वार्ताका लागि चीनको पहल र मध्यस्थताको स्वयं अमेरिकाले पनि प्रशंसा गरेको छ। यसबाट अमेरिकाको बलियो प्रभाव रहेको मध्यपूर्वी क्षेत्रमा पनि चीनले कसरी आफ्नो प्रभाव बिस्तार गरिरहेको छ भन्ने देखिन्छ।
यता, अफ्रिकी देशहरूमा शिक्षा, स्वास्थ्य र विकास पूर्वाधारका संरचना निर्माणका लागि चीनले ठूलो ऋण दिएको छ। तर चिनियाँ ऋणको पासोबाट मुक्त हुन उनीहरूलाई अप्ठेरो परेको पश्चिमा देशहरूको टिप्पणी छ। यसको जवाफमा चीनले कुनै पनि देशलाई ऋण लिन र दिन दबाब नदिने अभिव्यक्ति दिएर आफ्नो बचाउ गरेको छ। यो कुरा ऋणी देशहरूलाई चीनको समर्थनमा उभिइरहन पनि मद्दत गर्नेछ।
वास्तवमा भन्ने हो भने, चीन अहिले हरेक कुरामा सावधानीपूर्वक कदम चालिरहेको छ। मौन र कुटिल ढंगले बढिरहेको छ। त्यसैले, रुस-युक्रेन युद्धबारे पनि खुलेर कुनै पक्षलाई समर्थन गरेको छैन। यद्यपि, चीनले रुस-युक्रेन युदध रोक्न भन्दै शान्ति प्रस्ताव सार्वजनिक गरेको भने छ। उसको शान्ति प्रस्तावलाई रुसले स्वीकार गर्दा रुसी सेनाको फिर्तीमा मौन रहेको भन्दै युक्रेनले स्विकारेको छैन। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसमा चासो व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सीसँग प्रत्यक्ष भेट्न चाहेको बताएका छन्। चिनियाँ पक्षले उनको प्रस्तावको जवाफ दिएको छैन। चीनले दुवै पक्षलाई अग्रसर हुन भनेको छ, तर युक्रेनमाथि आक्रमण गरेको रुसलाई जिम्मेवार ठहर्याएको छैन। पश्चिमा मुलुकहरूले पनि चीनको शान्ति प्रस्ताव रुसको पक्ष लिएको टिप्पणी गरेका छन्।
शान्ति स्थापनाका लागि आफैँले सम्झौता गर्नुपर्ने चिनियाँ आशय छ, जसका कारण तत्काल युद्ध अन्त्यका लागि उसले सार्थक पहल गर्ने संकेत देखिँदैन। किनकि, चीनले यसो गरेर रुसको विश्वास तोड्न चाहन्न। रुसकै साथमा हुँदा उसलाई फाइदा छ। योबीचमा कूटनीति, आर्थिक, प्राविधिक र सामरिक रूपमा आफूलाई बलियो पार्ने कामलाई भने चीनले निरन्तरता दिई नै रहनेछ।
यो चिनियाँ स्वभाव नै हो आइपर्ने परिस्थितिका लागि वर्षौँअघिदेखि तयार रहने। यद्यपि, रुस र युक्रेनबीच शान्ति वार्तामा मध्यस्थता गरेर आफ्नो शक्ति र प्रभाव देखाउने विकल्प भने सधैँ नै चीनसामु छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
