भारतमा एकैदिन १४ कोभिड संक्रमितको मृत्यु, केन्द्र र राज्य सरकारको समीक्षा बैठक बस्दै

भारतमा कोरोना संक्रमितको संख्या एकै सातामा करिब दोब्बर देखिएको छ। मार्चको तुलनामा अप्रिलमा कोरोना संक्रमण बढेको बताइएको छ।

तस्वीर : इन्डियन एक्प्रेस

भारतमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। संक्रमण व्यापक बनेपछि केन्द्र र राज्य सरकारहरूको समीक्षा बैठक डाकिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।

भारतका स्वास्थ्यमन्त्री मनसुख मांडवियाले सबै राज्य र केन्द्र प्रशासनका सबै स्वास्थ्यमन्त्रीहरूको साथमा समीक्षा बैठकको डाकेका छन्। उनले भारतमा कोरोनाको नयाँ स्थितिका लागि सतर्कता अपनाउन र विचलित नहुन पनि आग्रह गरेका छन्।

भारतमा कोरोना संक्रमितको संख्या एकै सातामा करिब दोब्बर देखिएको छ। यस्तै, सक्रिय संक्रमितको संख्या पनि २८ हजार नाघेको बताइएको छ। भारतमा अहिले ओमिक्रोनको सब भेरिअन्टको संक्रमण फैलिरहेको बताइएको छ।

मार्चको तुलनामा अप्रिलमा कोरोना संक्रमण बढेको बताइएको छ। मार्चभर भारतमा कूल ३१ हजार ९०२ संक्रमित देखिएकोमा अप्रिलको ६ दिनमै २६ हजार ५२३ जनामा नयाँ संक्रमण पहिचान भएको दैनिक भास्करले उल्लेख गरेको। विशेषगरी केरल, महाराष्ट्र, दिल्ली हिमाचल प्रदेश, गुजरातलगायत प्रदेशमा संक्रमणदर उच्च रहेको बताइएको छ।