अरुण तेस्रो : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो

छुट जग्गाको मुआब्जा दिन १५ दिने सूचना प्रकाशन गरिसकिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।

किमाथाङ्का– सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग छयाङ्कुटी–दिदिङ सडकखण्डको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको छ।

छयाङ्कुटी–दिदिङ २४ किमी प्रवेशमार्गको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको हो। बिहीबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कुमार वीरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले अरुण तेस्रो छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

विसं २०४६ मा मुअब्जा वितरण भएको तर २०५१/५२ मा नापी हुँदा सरकारी स्वामित्वमा लगत कट्टा हुनुपर्नेमा व्यक्तिको नाममा भएपछि विसं २०६६/६७ मा लगत कट्टा हुँदाको छुट जग्गाको मुआब्जा दिइने भएको हो। छुट जग्गाको मुआब्जा दिन १५ दिने सूचनासमेत प्रकाशन गरिसकिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।

१५ दिने सूचना प्रकाशनपछि मुआब्जा निर्धारण समितिको बैठकले मूल्य तोकेपछि मुआब्जा वितरण सुरु हुने बताइएको छ। प्रवेशमार्गको ‘एलाइमेन्ट चेन्ज’ हुँदा कतिपय मुआब्जा नै नलिएका व्यक्तिको जग्गाबाट समेत सडक खनिएको थियो। छुट भएको ४५१ रोपनी जग्गाको मुआब्जा दिइने मुआब्जा निर्धारण समितिका संयोजक सहायक प्रजिअ मोहनमणि घिमिरेले बताए।

मुआब्जा निर्धारण समितिको प्रतिवेदनका आधारमा विसं २०७८ चैत १७ गतेको मन्त्रिपरिषद् बैठकले छुट जग्गाको मुआब्जा दिने निर्णय गरेको थियो। छ्याङ्कुटीबाट विद्युत्गृह पुखुवासम्मको छुट जग्गाको मुआब्जा नपाएको भन्दै स्थानीयले पटक–पटक अवरोध गर्दै आइरहेका छन्।

अरुण तेस्रो आयोजनाको करिब ६५ प्रतिशत काम सम्पन्न भइसक्दा पनि प्रवेशमार्गको मुआब्जा विवाद अझै समाधान हुनसकेको छैन। सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा बाँधस्थल निर्माणाधीन छ भने चिचिला गाउँपालिका–३ पुखुवामा विद्युत्गृह निर्माण भइरहेको छ। नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम भारतीय सतलज कम्पनी (एसजेभिएन)ले गरिरहेको छ। आयोजनाको कुल लागत एक खर्ब चार अर्ब हुने अनुमान गरिएको छ।