प्रधानमन्त्री कप : विभागीय टोली एपीएफ र पुलिसको विजयी शुरूआत

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विभागीय टोलीद्वय नेपाल एपीएफ र नेपाल पुलिस क्बलले विजयी शुरूआत गरेका छन्।

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विभागीय टोलीद्वय नेपाल एपीएफ र नेपाल पुलिस क्बलले विजयी शुरूआत गरेका छन्। आइतबार सम्पन्न आ–आफ्नो खेलमा एपीएफ र पुलिस क्लबले जित निकाल्दै प्रतियोगितामा सुखद् शुरूआत गरेका हुन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपीएफले आर्मीमाथि ५६ रनको जित निकाल्यो। जितका लागि २२० रनको विजयी लक्ष्य पछ्याएको आर्मी ३२.१ ओभरमा १६३ रनमा अलआउट भएको थियो। आर्मीका लागि हरि चौहान र रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेलका थिए। 

चौहानले ६७ बलमा ७ चौका र १ छक्कासहित ६५ रनको इनिङ्स खेले। यस्तै, पौडेलले ५९ बलमा ७ चौकासहित ५१ रनको इनिङ्स खेले। आर्मीका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको रन जोड्न सकेनन्।

अन्तिम २१ रन जोडँदा ८ विकेट गुमाएपछि आर्मी जितनजिक पुगेर हार बेहोरेको हो। खेलमा एपीएफका अमरसिंह राउटेलाले ५.१ ओभरमा २० रन खर्चेर ४ विकेट लिए। यता, कमलसिंह ऐरीले १० ओभरमा १ मेडनसहित ५६ रन खर्चेर ३ विकेट लिए। किशोर महतोले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७.४ ओभरमा अलआउट हुँदै २१९ रन बनाएको थियो। एपीएफको लागि प्रदीप ऐरीले ८० बलमा ४ चौका र ६ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए। यता, सन्दीप जोरा ६२ बलमा ६ चौकासहित ५० रनमा आउट भए। 

यस्तै, भुवन कार्कीले २६ रन जोड्दा कप्तान शरद भेषवाकरले १६ रन बनाए। आर्मीका विक्रम सोबले ७.४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। साहब आलम र कुशल मल्लले २/२ विकेट लिए। यता, जितेन्द्र मुखिया र सुशान भारीले १/१ विकेट लिए।

जितसँगै एपीएफले पहिलो खेलमा २ अंक जोडेको छ। एपीएफ समूह ‘ए’ को शीर्षस्थानमा रहेको छ। आर्मीले भने हारबाट प्रतियोगिताको शुरूआत गरेको छ।

दीपेन्द्रको शतकमा पुलिसको जित
मूलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न अर्को खेलमा पुलिस क्लबले बागमती प्रदेशलाई १९२ रनले पराजित गरेको छ। पुलिसले दिएको २९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमतीले २८ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाउन सक्यो।

बागमतीका इशान पाण्डेले सर्वाधिक २४ रन बनाए। पाण्डेले ४७ बलमा २ चौका र १ छक्का प्रहार गरे। रामनरेश गिरीले २२ र  प्रतिश जिसीले १४ रन बनाए। पुलिसका दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा १ मेडनसहित १० रन खर्चेर ३ विकेट लिए। करण केसी, गुलशन झा र सागर ढकालले २/२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ५ विकेट गुमाएर २८९ रन बनाएको थियो। पुलिसका लागि दीपेन्द्रले १०८ रनको शतकीय इनिङ्स खेले। उनले ८२ बलमा ११ चौका र ४ छक्का प्रहार गरे।

यस्तै, कुशल भुर्तेल र सुनिल धमलाले समान ३७ रन जोड्दा आरिफ शेखले ३६ रन बनाए। बागमतीका नन्दन यादवले २ विकेट लिए। रामनरेश गिरी, सूर्य तामाङ र सोनु देवकोटाले १/१ विकेट लिए।

जितसँगै समूह ‘बी’ मा रहेको पुलिसले पहिलो खेलमै २ अंक जोडेको छ। बागमतीले हारबाट प्रतियोगिताको शुरूआत गरेको छ।