रविको राहदानी विवादबारे मुद्दाको सुनुवाइ न्यायाधीश सिन्हाको इजलासमा

युवराज पौडेल ‘सफल’ले लामिछानेमाथि राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएकाले उक्त निर्णय बदर हुनुपर्ने दाबी गर्दै रिट दायर गरेका थिए।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिट सुनुवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको छ।

उक्त रिटको आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो। युवराज पौडेल (सफल)ले दिएको रिटमा आज सुनुवाइ हुन लागेको सर्वोच्च अदालतको दैनिक पेसी सूची विवरणमा उल्लेख छ।

लामिछानेको राहदानीसम्बन्धी मुद्दा नचलाउने भनी महान्यायाधिवक्ताले गरेको निर्णय कानूनविपरीत रहेको भन्दै पौडेलले दायर गरेको रिट सर्वोच्च अदालत प्रशासनले सोमबार दर्ता गरेको थियो।

निवेदकले निर्णय उत्प्रेषणको आदेशले बदर हुनुपर्ने माग गरेका छन्।