विलियम्सनले आईपीएल गुमाए

चोटका कारण आईपीएल २०२३ बाट गुजरात टाइटन्सका ब्याट्सम्यान केन विलियम्सन बाहिरिएका छन्।

काठमाडौँ– इन्डियन्स प्रिमियर लिग (आईपीएल) २०२३ बाट गुजरात टाइटन्सका ब्याट्सम्यान केन विलियम्सन बाहिरिएका छन्। चेन्नई सुपर किंग्सविरुद्धको सिजनको पहिलो खेलमा फिल्डिङ गर्दा उनको घुँडामा चोट लागेको थियो। उनी अब आफ्नो देश न्युजिल्यान्ड फर्कने छन्।

गुजरातका क्रिकेट निर्देशक विक्रम सोलन्कीले भने, "चोटका कारण केनलाई टुर्नामेन्टमा यति चाँडो गुमाउनु पर्दा दुःख लागेको छ। हामी उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।"

चेन्नईको इनिङ्सको १३औँ ओभरमा डिप स्क्वायर लेगमा ऋतुराज गायकवाडले प्रहार गरेको बल उफ्रिएर समात्न खोज्दा विलियम्सन घाइते भएका थिए। त्यसपछि उनी फिल्डिङ र ब्याटिङमा आएनन् र गुजरातले साई सुदर्शनलाई प्रभावशाली खेलाडीका रूपमा ल्याउनुपरेको थियो।

विलियम्सनको चोट कति गम्भीर छ र उनी कहिलेसम्म मैदान बाहिर रहने छन् भन्ने कुरा भने खुलाइएको छैन। उनी हालै कुहिनोको चोटबाट निको भएर मैदान फर्किएका थिए।