के प्रशिक्षक एनिसले राष्ट्रिय टोलीलाई लयमा फर्काएका हुन्?

प्रशिक्षक एनिसको नेतृत्वमा नेपालले अपराजित रहँदै थ्री नेसन्स कपको उपाधि जितेको छ। तर यो जितबाट न प्रशिक्षक एनिस खुशी छन्,  न त फुटबल जानकारहरूले नै ठूलो महत्त्व दिएका छन्।

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीबाट सन्यास लिएर अनुभवी खेलाडी सुजल श्रेष्ठ चैत ९ गते अष्ट्रेलिया उडे। त्यसको अघिल्लो दिन चैत ८ गते नेपाल थ्री नेसन्स कपअन्तर्गत पहिलो खेलमा लाओसविरुद्ध मैदान उत्रिएको थियो। सुजलजस्तै राष्ट्रिय टोलीबाट खेलिसकेका समेत गरी ४० भन्दा धेरै फुटबल खेलाडी विदेशिएपछि युवा फुटबलर समेटेर बनाइएको टोलीले थ्री नेसन्स कपको उपाधि जितेको छ।

नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको नेतृत्वमा नेपाल शुरूआती तीन खेलमा अपराजित रहेको छ। घरेलु मैदानमा भएको थ्री नेसन्स कपको उपाधि जित्दा नेपालले फाइनलमा लाओसलाई २-१ गोलले पराजित गर्‍यो। तर प्रशिक्षक एनिस जितबाट सन्तुष्ट छैनन्।

नेपालको प्रशिक्षकका रूपमा डेब्यू उपाधि जितेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले घरेलु लिगको संरचना नै गलत भएको तर्क गरे। उनले लिगबाट आउने खेलाडीले राष्ट्रिय टोली धान्न नसक्ने जिकिर गर्दै केहीलाई विदेशमा खेल्ने वातावरण बनाउनुपर्ने बताए। 

"खेलाडीको व्यावसायिक सफलताका लागि व्यावसायिक लिग खेल्नुपर्छ। यो लिगको संरचना फेर्न आवश्यक छ, तर त्यो सम्भव छैन। राम्रो उपाय भनेको राष्ट्रिय टिमका केही खेलाडीलाई विदेशमा खेल्ने वातावरण बनाउनुपर्छ," उनले भने।

यो पनि- फुटबलर पलायनको सकस : ‘ए’ डिभिजन लिगबाट हुँदैछ राष्ट्रिय टोलीमा पुग्ने स्टार खेलाडीको खोजी

तर यो नेपालको परम्परागत समस्या हो। नेपालको फुटबल संरचनाबारे यसअघिका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले समेत बारम्बार प्रश्न उठाउने गरेका थिए। एनिसजस्तै अल्मुताइरी पनि युवा खेलाडीमा भर परेका थिए।

गत जेठमा अल्मुताइरीले युवा खेलाडी समेटेर २३ सदस्यीय राष्ट्रिय फुटबल टोली घोषणा गरेका थिए। उक्त टोलीले कतार विश्वकप र चीनमा यसैवर्ष आयोजना हुने एसियन कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका खेलेको थियो। 

अल्मुताइरीले नेपाल सुपर लिग (एनएसएल)बाट आयुश घलान, कमल थापा, सुरजज्यू ठकुरी र मनीष डाँगीलाई टोलीमा समेटेका थिए। नयाँ अनुहार गोलरक्षक विशाल सुनार र रक्षक गौतम श्रेष्ठलाई पनि मौका दिएका थिए। 

उनलाई आफूले छनोट गरेका खेलाडीमा विश्वास भने थिएन। उनी भन्थे, "तपाईँ सपना देख्न सक्नुहुन्छ। तर हामी छनोट हुन सक्दैनौँ, यो सत्य हो। हामी यसको लागि धेरैपछि छौँ।" 

अल्मुताइरीले टोलीको नेतृत्व सम्हाल्दै गर्दा नै नेपालको खेलले लय बिराइसकेको थियो। विश्वकप छनोटको समूह ‘बी’मा रहेको नेपाल पाँच खेलबाट तीन अंक बटुल्दै चौँथो स्थानमा थियो। नेपालले पहिलो चरणमा चाइनिज ताइपेइसँग मात्रै जित निकालेको थियो। कुवेत (७-० र १-०), अस्ट्रेलिया (५-०) र जोर्डनसँग (३-०) नेपालको नतिजा लज्जास्पद नै थियो।

यो पनि- राष्ट्रिय टोलीमा ७ नयाँ खेलाडी, पुरानो लय समात्ने चुनौतीमा एनिस

यद्यपि, नेपालले कुवेतबाहेक अन्य तीन टोलीसँग एकपटक खेल्न बाँकी नै थियो। अंक तालिकामा शीर्ष दुईमा रहेर विश्वकप छनोटको अर्को चरणमा पुग्ने सम्भावना लगभग सकिइसकेको थियो। नेपाली खेलाडीको झिनो लक्ष्य भनेको तेस्रो चरणको एसिया कप छनोटमा पुग्ने नै थियो। यस्तो अवस्थामा अल्मुताइरीले नेपाली फुटबलको घरेलु संरचना र खेलाडीको स्तरबारे प्रश्न उठाएका थिए। 

"जोर्डनसँग १७ प्रोफेसनल खेलाडी छन्। इन्डोनेसियाका १३ खेलाडी युरोपमा खेल्छन्, हाम्रा दुई जना खेलाडी मात्र प्रोफेसनल छन्," उनले भनेका थिए, "हामीसँग कम्तिमा ५०-१०० नेपाली प्रशिक्षक ग्रासरूटको लागि हुनुपर्छ। नेपालभर कम्तिमा २० एकेडेमी हुनुपर्छ। अनि ३०/३२ बाट होइन ५०० जनाबाट खेलाडी छनोट गर्ने हुनुपर्छ।" 

उनले यसका लागि खेलाडीलाई आकर्षित बनाउन लिगलाई पनि व्यावसायिक बनाउनु पर्ने बताएका थिए। तर अहिले शहीद स्मारक 'ए' डिभिजन लिग पुरानै ढर्रामा संचालन हुन थालेको छ। यो लिगमा काठमाडौँ उपत्यकाका क्लब मात्र सहभागी छन्।

नेपाली टोलीका पूर्व सहायक प्रशिक्षक मेघराज केसी पनि अहिले भइरहेको लिगको शैलीले नेपाली फुटबलको विकास नहुने एनिसको भनाइमा सहमत छन्। क्लबहरूसँग आर्थिक रूपमा सक्षम हुनुपर्ने, प्रशिक्षक आधुनिक फुटबल बुझेको हुनुपर्ने र खेलाडी पनि व्यावसायिक हुनुपर्ने उनको भनाइ छ। 

"लिग छोटो छ र कम समयमा खेलाइन्छ। हामीसँग ग्रासरुट फुटबल पनि छैन। लगानी गरेकै छैनौँ। अहिले विश्वफुटबलको जुन रफतार छ, त्यसमा हामी छैनौँ," केसी भन्छन्, "एनिसले प्रोफेसनल फुटबल देखेर आनुभएको छ। हामीले त फिफा क्यालेन्डर पूरा गर्न मात्रै लिग खेलिरहेका हौँ। यसले फुटबललाई अघि बढाउँदैन।"

केसी 'ए' डिभिजन क्लब थ्री स्टारका प्रशिक्षक पनि हुन्। अहिलेको लिग बलियो बनाउन एन्फाले क्बलको संख्या बढाउनुपर्ने र लिगलाई व्यावसायिकतातिर लैजानुपर्ने उनी बताउँछन्। क्लबहरूले पनि खेलाडी र प्रशिक्षकमा लगानी गर्नुपर्ने उनको भनाइ छ।

उपाधिले छोपिएको कमजोरी
प्रशिक्षक नियुक्त हुनुभन्दा तीन वर्ष अघिदेखि नै नेपालको फुटबल 'फलो' गरिरहेको एनिसले दाबी गरेका थिए। नेपाल, लाओस र भुटानसम्मेलित प्रतियोगिता शुरू हुनुभन्दा करिब एक महिनाअगाडि नै नेपाल ओर्लिएका उनले 'ए' डिभिजन लिगमार्फत नेपाली फुटबलको स्तर बुझ्ने अवसर पाए। 

तर उनलाई राष्ट्रिय टोली बनाउन मुस्किल थियो। नियमित खेलिरहेका सहित ४० भन्दा बढी खेलाडी विदेशिएका कारण युवा र कम अनुभवी खेलाडीमार्फत उत्कृष्ट प्रदर्शन गर्नुपर्ने चुनौती थियो। अन्जन विष्टलगायत उपलब्ध अनुभवी खेलाडी चोटग्रस्त थिए। 

'ए' डिभिजन लिगअन्तर्गत दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्समा भएका केही खेल हेरेर एनिसले २३ सदस्सीय टोली घोषणा गरेका थिए। उक्त टोलीमा अनन्त तामाङ, पुजन उपरकोटी, दीप कार्की, एरिक विष्ट, रोहित चन्द, आयुष घलान र अन्जन विष्टसहित १६ पुराना खेलाडीले निरन्तरता पाएका थिए। तीमध्ये ६ जना अन्तिम ११ मा नियमित स्थान बनाएका खेलाडी थिएनन्। गोलरक्षक अभिषेक बराल, रक्षक शनिस श्रेष्ठ र पदम भट्टराई, मिडफिल्ड मणि लामा र नवीन लामा तथा फरवार्ड सुमित श्रेष्ठ र दीपकसिंह ठकुरी गरी सात खेलाडी नयाँ थिए।

यो पनि- विदेशी फुटबल प्रशिक्षक: नेपाल आउँछन्, ‘राजनीति’ले टिक्नै सक्दैनन्

प्रशिक्षक एनिस भुटान र लाओससँग राम्रो नतिजा निस्किनेमा ढुक्क थिए। उनी भन्थे, "नाम चलेको आधारमा होइन, ए डिभिजन लिगमा प्रतिस्पर्धा गरेको आधारमा सही खेलाडी र सही मान्छे छनोट गरेको छु। यही टोलीले भुटान र लाओसविरुद्ध राम्रो नतिजा दिन्छ भन्ने आश छ।" तर, प्रतियोगिताको पहिलो खेलबाटै टोलीको प्रदर्शन उनले सोचेजस्तो भएन।

लाओसविरुद्धको पहिलो खेलमा २-० गोलअन्तरको जित हासिल गर्न नेपालले घरेलु मैदानमा निकै संघर्ष गर्नुपर्‍यो। रक्षात्मक रणनीति आत्मसाथ गर्दै ४-३-३ फर्मेसनमा उत्रिएको नेपाललाई लाओसको आक्रमक अग्रपंक्ती रोक्न हम्मे पर्‍यो। अनुभवी डिफेन्डर अनन्त तामाङ र सेन्टर–ब्याकमा झरेका रोहित चन्दको उपस्थिति प्रतियोगिताभरि नै महत्त्वपूर्ण सावित भएको थियो। 

दक्षिण एसियाली फुटबलमा कमजोर मानिएको भुटानविरुद्धको दोस्रो खेलमा नेपालको प्रदर्शन प्रशंसा गर्न लायक रहेन। खेलको शुरूआतदेखि अन्त्यसम्म नेपाल डिफेन्स, मिडफिल्डदेखि अग्रपंक्तिसम्मै संघर्षरत रह्यो। बल नियन्त्रणमा भुटानी टोली हाबी रह्यो। 

निर्धारित समय सकिन केही सेकेन्ड बाँकी रहँदा निशान खड्काले प्रहार गरेको कर्नर बललाई डिबक्सभित्र रहेका अनन्त तामाङले हेडर गरेका थिए। गोलरक्षक बिट भइसकेको अवस्थामा दीपकले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यही नतिजाले नेपालले भुटानसँग पहिलो हार टार्‍यो। यस नतिजाले भुटानसँग ३८ वर्षसम्म जित निकालिरहेको नेपालको यात्रा १३औँ खेलमा पुगेर पूर्णविराम लाग्यो। 

तर इतिहासमै खराब खेल पस्किएका एनिसले आफ्नो गल्ती स्वीकार गरेनन्। अधिकांश खेलाडी अस्ट्रेलिया पलायन भएकोले नतिजा तलमाथि परेको उनले तर्क गरे। तर भुटानी प्रशिक्षक पेमा दोर्जीले भने नेपालविरुद्ध इतिहास बनाएको भन्दै शिर उँचो बनाएर फर्कने बताएका थिए।

शुक्रबार लाओसविरुद्धको फाइनल खेलमा २-१ गोलअन्तरको नतिजा पनि एनिसले सोचेजस्तो भएन। त्यसपछि उनले घरेलु लिग र यसका प्रशिक्षकहरूमाथि औँला मात्रै उठाएनन् आफूले गल्ती गरिरहेको पनि स्वीकार गरे। 

"साफका लागि हामीसँग साढे दुई महिना मात्रै समय बाँकी छ। यसका लागि खेलाडीहरू रिकभरी हुने प्रयाप्त समय छ। तर व्यस्त लिग भएको कारण टोलीमा असर गर्ने देखिन्छ," उनी भन्छन्, "मलाई लाग्छ यो लिग अफ हो, क्यालेन्डर समाप्त गर्ने। त्यसैले लक्ष्य भेटाउन सबैभन्दा राम्रो तरिका भनेको केही राष्ट्रिय खेलाडीलाई विदेशमा राखेर अभ्यास गर्ने हो।"

नेपालको अबको यात्रा कता?
भारतमा आयोजना हुने १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी असारमा आयोजना हुने पक्का छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बिहीबार बसेको कार्यकारी बैठकले प्रतियोगिता असार ६ देखि १८ गतेसम्म बैंगलुरुमा गर्ने निर्णय गरेको छ।

प्रतियोगितामा आठ टोली सहभागिता गराउन बैठकमा छलफल भएको साफले जनाएको छ। एक टोली साफभन्दा बाहिरको आमन्त्रण गर्नेबारे छलफल भएको जनाइएको छ। 

गत संस्करण माल्दिभ्समा आयोजना भएको १३औँ साफमा नेपाललाई ३-० गोलअन्तरले पराजित गर्दै भारतले आठौँ पटक उपाधि जितेको थियो। तर, भारतीय मुख्य प्रशिक्षक इगोर स्टिमेकले साफ प्रतियोगितामा उपाधि जित्नुलाई आफूले ठूलो उपलब्धिका रूपमा नलिएको र बलिया प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्ने सोचमा रहेको बताइसकेका छन्। त्यसैले पनि भारत आठौँ टोली आफूजस्तै बलियोको खोजीमा रहेको अड्कल लगाउन सकिन्छ।

त्यसैले साफमा उपाधि जित्न नेपालले पनि गतिलो तयारी गर्नुपर्ने छ। अब २० चैतदेखि पुन: लिगका छैटौँ चरणका खेल शुरू हुँदैछन्।  २१ चरणका बाँकी खेलहरू जेठ अन्तिमसम्म चल्नेछन्। त्यसैले एनिस केही हतासमा देखिन्छन्।

"अहिले क्लबहरूले खेलाडीलाई ध्यान दिरहेका छैनन्। व्यस्त तालिकामा पनि उनीहरूलाई आराम नै नगराइ नियमित खेलाइरहेका छन्। यसकारण खेलाडीलाई मानसिक रूपमा तयार गर्ने समय हामीसँग छैन," उनी भन्छन्। 

पूर्वप्रशिक्षक अल्मुताइरी गत संस्करणको साफको फाइनलमा पुग्न तीन महिना अगाडीदेखि तयारीमा जुटेका थिए। साफका लागि नै भनेरै नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। करिब तीन साता कतारमा राष्ट्रिय टोलीको क्याम्प राखेका थिए। त्यहाँ पनि नेपाली टोलीले दुई मैत्रीपूर्ण खेल खेल्दा कतारी क्लबसँग जित निकालेको थियो। यद्यपि, इराक र ओमानसँग पराजित हुन पुग्यो। 

त्यसपछि साफका लागि माल्दिभ्स पुगेको नेपाली टोलीले प्रतियोगितामा उत्कृष्ट शुरूआत गर्न सफल भयो। पहिलो खेलमा नै साविक विजेता माल्दिभ्सलाई १-० गोलअन्तले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई २-१ ले पराजित गर्‍यो। 

लगातार दुई खेलमा जित निकालेको नेपाल भारतसँग नतिजा सुम्पियो, तर बंगलादेशलाई बराबरीमा रोकेर २८ वर्षपछि पहिलोपटक फाइनल पुगेको थियो। यसपटक एनिस अल्मुताइरीलाई नै पछ्याउँदै त्यही सफलतालाई दोहोर्‍याउने रणनीतिमा देखिन्छन्।

पूर्वकप्तान तथा 'ए' डिभिजन क्लब एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य भने पहिला हाम्रो लक्ष्य निर्धारण गरेर त्यहीअनुसार तयारी गर्नुपर्ने बताउँछन्। "दक्षिण एशियाली राष्ट्रमा मात्रै बलियो हुने हो कि भारत र बंगलादेशजस्तै (सार्कबाहिर पनि) बलियो हुने स्पष्ट हुनुपर्छ। भारतले मार्चमा किर्गिस्तान र म्यानमारसँग थ्रीनेसन्स गेम खेल्यो", शाक्य भन्छन्, "भारतभन्दा किर्गिस्तान फिफा वरीयतामा अगाडि छ। बलियो टीम हो। उसको लक्ष्य साफ जित्नु होइन एसिया कप र विश्वकप खेल्नु हो।"

बंगलादेशले पनि अर्जेन्टिनासँग मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गरेको समाचार प्रकाशित भइरहेको शाक्य बताउँछन्। नेपालले थ्री नेसन्स कप खेलेका देश भुटान र लाओस वरीयतामा नेपालभन्दा तल छन्। वरीयतामा नेपाल १७५, भुटान १८५ र लाओस १८७ स्थानमा छन्।

"हामी साफभन्दा माथि उठ्नुपर्छ। थाइल्यान्ड, सिंगापुरजस्ता बलियो टोलीसँग खेल्नुपर्छ। खेल्नुपर्छ भन्दैमा पाइने त होइन, उनीहरूको पनि सेड्युल हुन्छ," प्रशिक्षक शाक्य भन्छन्, "तर हामी बलियो हुने हो भने चाहिँ बलियो नै प्रतिद्वन्द्वी खोज्नुपर्छ।"