लालचन्दको प्रशिक्षणमा जिम्बावेले देखेको विश्वकपको सपना

जिम्बावेको जितमा भारतीय क्रिकेट टोलीका पूर्व प्रशिक्षक लालचन्द राजपूतको ठूलो हात रहेको छ। राजपूतले कुनै बेला असफल टोलीको छवि बनाएको जिम्बावेलाई सफलताको बाटोमा डोर्‍याएका छन्।

काठमाडौँ- छनोट चरण पार गर्दै सुपर–१२ मा प्रवेश गरेको जिम्बावेले अस्ट्रेलियामा जारी टी–२० विश्वकपमा ठूलो हलचल मच्चायो। उसले सन् २००९ को विश्व च्याम्पियन पाकिस्तानलाई हराएन मात्रै आफ्नो सेमिफाइनलमा पुग्ने सम्भावनालाई समेत जीवितै राख्यो।

बिहीबार पर्थ स्टेडियममा भएको उक्त खेलमा जिम्बावेले यसै वर्षको एसिया कप उपविजेतासमेत रहेको पाकिस्तानलाई एक रनले पराजित गरेको थियो। यो खेलको नतिजाले क्रिकेट जगतमा सनसनी मच्चाएको छ।

टस जितेर पहिला ब्याटिङमा उत्रिएको जिम्बावेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएका थियो। जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ८ विकेट गुमाएर १२९ रन मात्रै बनाउन सक्यो। यो हारसँगै पाकिस्तान सेमिफाइनलको दौडबाट बाहिरिएको छ।

जिम्बावेको यो जितमा भारतीय क्रिकेट टोलीका पूर्व प्रशिक्षक लालचन्द राजपूतको सबैभन्दा ठूलो हात रहेको छ। राजपूतले कुनै बेला असफल टोलीको छवि बनाएको जिम्बावेलाई सफलताको बाटोमा डोर्‍याएका छन्। उनी त्यही प्रशिक्षक हुन्, जसले सन् २००७ मा भारतीय टोलीलाई विश्व च्याम्पियन बनाएका थिए।

राजपूत सन् २०१८ मा जिम्बावे टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। त्यतिबेला यो टोलीको प्रदर्शन औसतभन्दा कम थियो। उनको प्रशिक्षणमा जिम्बावेले सन् २०१९ मा एक दिवसीय विश्वकप छनोट पनि खेलेको थियो। तर, कमजोर टोली र निराशाजनक प्रदर्शनका कारण जिम्बावे उक्त वर्ष एक दिवसीय विश्वकपमा छनोट हुन असफल भयो।

मुख्य प्रशिक्षक राजपूत करिब तीन वर्ष अगाडिको तुलनामा अहिले टोलीको प्रदर्शनमा सुधार आएको दाबी गर्छन्। “म जिम्बावेको मुख्य प्रशिक्षकमा नियुक्त हुँदै गर्दा टोली धेरै कमजोर थियो। र, प्रदर्शन निराशाजनक थियो”, उनले भनेका छन्, “हामी (२०१९) विश्वकपमा पनि छनोट हुन सकेनौँ। त्यसपछि कडा परिश्रम गर्‍यौँ।”

जिम्बावेको टोलीमा यतिधेरै परिवर्तन आउनुमा सिनियर र युवा खेलाडीको सम्मिश्रण रहेको समेत उनी बताउँछन्। “टोलीमा युवा खेलाडी आएका छन् भने सिनियर पनि छन्। त्यसैले दुवैको मिश्रण एकदम राम्रो छ। हाम्रो बलिङ राम्रो भएको छ, फिल्डिङमा पनि काम गरेका छौँ। पाकिस्तानविरुद्ध हाम्रो फिल्डिङ र बलिङ कति उत्कृष्ट थियो, देख्नुभयो नै होला। त्यही भएर हामीले खेल जित्यौँ।”

उनले भारतीय क्रिकेट टोलीसँग आफूले आर्जन गरेको अनुभव पनि काम लागेको सुनाए। तर, जिम्बावेका खेलाडीले शतप्रतिशत दिनुपर्ने उनको भनाइ छ। “त्यतिबेला भारतीय टोलीसँग काम गरेको अनुभव अहिले काममा आएको छ। हामीले टोलीका खेलाडीलाई पनि त्यही अनुसार तयार गरेका छौँ। तर, मैदानमा रहेका खेलाडीले शतप्रतिशत दिनुपर्छ। म टोलीलाई मानसिक रूपमा राम्रो र विपक्षी टोलीविरुद्ध योजना बनाउन सक्छु”, उनले भने।

सन् २००३ को आईसीसी विश्वकपअघि जिम्बावे टोलीलाई राम्रो मानिन्थ्यो। जिम्बावेसँग एन्डी फ्लावर र ग्रान्ट फ्लावरजस्ता महान् खेलाडी थिए। उनीहरूको अलवा नील जोन्सन, मरे गुडविन, पल स्ट्राङ, हेनरी ओलोंगा र हिथ स्ट्रीक पनि टोलीमा थिए। टोलीले धेरै महत्त्वपूर्ण जित पनि निकालेको थियो।

जिम्बावे सन् १९९९ र २००३ को एक दिवसीय विश्वकपमा सुपर सिक्समा पुगेको थियो। तर, कम रन रेटका कारण जिम्बावे सन् १९९९ को विश्वकपको सेमिफाइनलमा पुग्न चुकेको थियो।

यसबारे प्रशिक्षक राजपूत भन्छन्, “त्यतिबेला खेलाडी राम्रा थिए। जसका कारण जिम्बावेले ठूला टोलीसँग प्रतिस्पर्धा गर्थ्यो।”

सन् २००४ देखि २००७ सम्म ठूला खेलाडीहरू बाहिरिएपछि टोलीको प्रदर्शनमा व्यापक गिरावट आयो। त्यहाँको क्रिकेटले बिस्तारै अधोगतिको लय समात्न लायो। सन् २०१९ को एक दिवसीय विश्वकपमा छनोट हुन नसकेपछि सरकारले त्यहाँको क्रिकेट बोर्डलाई निलम्बन गरेको थियो। यता, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पनि क्रिकेट बोर्डमा राजनीतिक हस्तक्षेप भएको भन्दै जिम्बावेलाई ६ महिनाको लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गरेको थियो।

यत्रोविध्न र बाधा बेहोरेर जारी विश्वकपमा आइपुग्नु चानचुने कुरा नभएको मुख्य प्रशिक्षक राजपूत बताउँछन्। “मेरो लक्ष्य टोलीलाई सुपर–१२ मा छनोट गर्ने थियो। अहिले मैले जे पाएको छु सोचेभन्दा राम्रो छ। पाकिस्तानविरुद्धको जित जिम्बावे क्रिकेटको लागि गेम चेन्जर साबित हुनेछ”, उनी भन्छन्। 

जिम्बावेले तेस्रो खेल आइतबार बिहान नेपाली समयअनुसार ८:१५ बजेदेखि बंगलादेशविरुद्ध खेलिरहेको छ। मुख्य प्रशिक्षक राजपूत सबैभन्दा नियमित प्रतिद्वन्द्वी बंगलादेशविरुद्ध आफ्नो टोलीको सम्भावनालाई लिएर सतर्क छन्। दुवै टोली पहिलो पटक टी–२० विश्वकपमा एकअर्कासँग भिड्दै छन्।

चाखलाग्दो कुरा यो खेलले जिम्बावेलाई अन्तिम चारमा स्थान बनाउने बलियो दाबेदारको रूपमा लिइएको छ। दक्षिण अफ्रिकासँगको पछिल्लो खेलमा बंगलादेशले १०४ रनको कीर्तिमानी हार बेहोरेको थियो। यो हारअघि बंगलादेशले नेदरल्यान्ड्सविरुद्धको ९ रनको संघर्षपूर्ण जित निकालेको थियो।

“हामीसँग सेमिफाइनल पुग्ने ठूलो मौका छ। त्यसका लागि हामीले बंगलादेश र नेदरल्यान्ड्सलाई हराउनुपर्छ। त्यसपछि हामीले भारतसँग अन्तिम खेल खेल्नुपर्छ। साथै यो केही अन्य परिणामहरूमा पनि निर्भर हुनेछ। हामी बंगलादेशविरुद्धको खेलमा ध्यान केन्द्रित गर्ने र राम्रो गर्ने प्रयास गरिरहेका छौँ। त्यसपछि हामी नेदरल्यान्ड्सको खेल हेर्नेछौँ र त्यहाँबाट अगाडि बढ्ने योजना बनाउँछौँ”, उनले भने।

तस्वीर जिम्बावे क्रिकेटबाट